लुम्बिनीमा जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन



बुटवल ।

जनता समाजवादी पार्टी (जसपा)नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आइतबार विज्ञप्ति जारी गर्दै आजकै मितिदेखि प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी गराएकी हुन् ।

जसपा नेपालले गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार संविधानको धारा १८८ को उपधारा २ बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको विज्ञप्तिमा उल्लेख छ ।

जसपाले समर्थन फिर्ता लिएपनि सरकार अल्पमतमा पर्दैन । माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महरालाई एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ४ जसपाका २, एकीकृत समाजवादीका एक र एक जना स्वतन्त्र सांसद गरी ४७ जनाको समर्थन कायम छ । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद भए पुग्छ ।

प्रतिक्रिया दिनुहोस्