सत्ता फेरबदलको चर्चा, ‘नियुक्तिमा बार्गेनिङको रणनीति’



काठमाडौं ।

सरकारले नियुक्त गर्न बाँकी विभिन्न ११ देशका लागि राजदूत, संवैधानिक आयोग र संस्थानमा गरिने नियुक्तिको भागबण्डामा सत्ताधारी दलहरूबीच कुरा नमिल्दा सरकार फेरबदलसम्मको चर्चा शुरू भएको छ।

सत्ता सहयात्री दलहरूबीच शक्ति बाँडफाँटमा कसले बढी आर्जन गर्ने भन्ने होडबाजीमा लागेका नेताहरूले सरकार फेरबदलसम्मको चर्चा चलाएका हुन् ।

राजनीतिक विश्लेषकहरूले भने यसलाई सत्ता परिवर्तनको पूर्वतयारीका रूपमा समेत लिन सकिने बताएका छन्। ‘पछिल्लो पटक सत्ता गठबन्धनभित्र देखिएको द्वैध चरित्र र आन्तरिक अविश्वासको खाडल बढ्दै गएको छ’, राजनीतिक विश्लेषक शंकर तिवारीले भन्नुभयो– ‘यसले सरकार परिवर्तनको संकेत चाहिँ गरेको छ। तर, अहिलेकै अवस्थामा हेर्दा सरकारले गठबन्धनमा रहेका दलहरूको सल्लाहअनुसार नै भर्खर राजदूतहरू फिर्ता बोलाएको छ। राजदूतलगायत सरकारबाट नियुक्त हुने विभिन्न पदहरूमा कसले कति पाउने भन्ने मुख्य बार्गेनिङ हो । यो अवस्थामा कुरा नमिल्दा एमाले माओवादीबीच फेरि खटपट हुने सक्ने र त्यसपछि सरकार परिवर्तनको खेल शुरू हुने विषय सामान्य हो ।’

सत्ताको मुख्य सहयात्री दल एमाले नै सरकारका कामप्रति रुष्ट हुँदै आएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका सत्ता गठबन्धनका मुख्य खेलाडी एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई लिएर पटक–पटक कटाक्ष गर्नुभएको थियो । उहाँको कटाक्षपूर्ण अभिव्यक्तिपछि एमालेका अधिकांश सांसदहरूले सदनबाटै बजेटको चर्को विरोध गरेका छन् । यसले एमाले र माओवादीबीचको सम्बन्धमा दरार उत्पन्न भएको पुष्टि गरेको छ।

यद्यपि, एमालेको असन्तुष्टि सत्ता परिवर्तनका लागि भरपर्दो माध्याम नभएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनाएको छ। सत्ता पक्षका पछिल्ला असमझदारीलाई लिएर कांग्रेसका एकाथरि सांसदहरू सरकार भत्काउने खेलमा भने निरन्तर लागिपरेका छन्। वर्तमान गठबन्धन शुरू भएदेखि नै एमाले, नेकपा एस र जसपासँग फरक फरकढंगबाट छलफलहरू चलाउँदै आएका कांग्रेसका नेताहरूले उक्त छलफललाई कायमै राखेका छन्।

कांग्रेस संस्थापन पक्षमा रहेका सांसदहरूले सत्ता फेरबदलका लागि जोड गरिरहँदा पार्टी महामन्त्री गगन थापाले वर्तमान सत्ता पक्षका एमाले माओवादी र नेकपा एसले प्रमुख प्रतिपक्षसँग मिल्न सक्छु भन्दै एकले अर्कोलाई धम्क्याउने र भागबण्डामा बार्गेनिङ गर्दै आएको बताउनुभयो।

‘हामी अहिले सरकारमा जाने पक्षमा छैनौं’, थापाले भन्नुभयो– ‘एमाले, माओवादी र नेकपा एसले समेत कांग्रेसलाई देखाएर शक्तिको बार्गेनिङ गरिरहेका छन्। यसमा कांग्रेसका कोही नेता कार्यकर्ताहरू अलमलमा पर्नु पर्ने अवस्था छैन। उनिहरूबीच कुनै सेटिङमा कुरा मिलेन भने कांग्रेससँग मिलेर सरकार बनाउन लाग्छु भन्दै धम्क्याउने मात्रै हुन्। कसैले सत्ता छाड्दैनन् र कांग्रेसले पनि आगामी निर्वाचनसम्म प्रतिपक्षमै बसेर जनताका आवाज उठाउन र जनताका पक्षमा काम गर्नुपर्छ।’

नेकपा (एकीकृत समाजवादी)ले मुलुकको विकास र जनचाहना सम्बोधनका लागि आफ्नो दलले सरकारसँग सहकार्य गरेको बताउँदै आफ्ना कारणले सत्ता परिवर्तन नहुने बताएको छ। पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निश्चित उद्देश्य प्राप्तिका लागि गरिएको सहकार्यले निरन्तरता पाउने बताउनुभयो।

‘जनताका आवश्यकता पूरा गर्न र समृद्धिको यात्रा अघि बढाउने उद्देश्यका साथ सरकारसँग सहकार्य गरिएको हो । सरकारसँगको सहकार्य हाम्रा कारणले टुट्दैन’, उहाँले भन्नुभयो । यद्यपि, सत्ता गठबन्धनमा सहभागी दलहरूबीच सघन संवाद भने हुन नसकेको उहाँको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्