नगर प्रमुख  थापासमक्ष कांग्रेसको १४ बुँदे ध्यानाकर्षण पत्र



भक्तपुर ।

नेपाली कांग्रेस सुर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापासमक्ष १४ बुँदे ध्यानाकर्षण पत्र पेस गरेको छ । ज्ञापनपत्रमा नगरपालिकाले दीर्घकालीन महत्वको हिसाबले र प्राथमिकताका आधारमा विकासका योजना तथा कार्यक्रम अघि बढाउनुपर्ने माग गरिएको नेपाली कांग्रेस सूर्यविनायक नगर समितिका सभापति निशान ढुंगेलले बताए ।

सभापति ढुंगेलले करोडौं लगानी गरेर गरिएको कालोपत्रे ढल बिछ्याउने नाममा केही महिनामै भत्काउने कार्य नीतिगत भ्रष्टाचार भएको र त्यो कांग्रेसलाई मान्य नभएको बताए ।ध्यानाकर्षण पत्रबारे पत्रकारसंग कुरा गर्दै नगर सभापति ढुंगेलले नेपाली काँग्रेस बिकास बिरोधी नभएको तर आवश्यक ठाउँमा विकासका संरचना बनाउनुपर्नेमा जोड दिए ।

साँगामा बनेको झोलुङ्गे पुललाई नगरपालिका मातहत ल्याउन त्यसैगरी सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न र प्रत्येक वडामा विशेषज्ञ सेवा सहितको कम्तीमा ५ शय्याको अस्पताल सञ्चालन गर्न नगरप्रमुखको ध्यानाकर्षण गराएको नगर सभापति ढुंगेलले बताए ।

सूर्यविनायक नगरपालिकाको आफ्नै सडक संजाल र त्यसमा चल्ने नगर यातायात हुनुपर्ने विषयमा पनि कांग्रेसले ध्यानाकर्षण गराएको छ । सूर्यविनायकमा करको दर बढी भएको र त्यसलाई पुनर्विचार गर्नुपर्ने विषयमा गम्भीर ध्यानाकर्षण गराइएको सभापति ढुंगेलले बताए ।

सहकारी संस्थाले निक्षेपकर्तालाई डुबाएका घटनाबाट पाठ सिक्दै स्थानीयको बचत सुरक्षित गर्ने उपाय अपनाउनुपर्ने र सहकारीलाई मर्यादित र व्यवस्थित बनाइनुपर्ने कांग्रेसको माग छ ।

स्थानीय सरकारलाई आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नगरपालिकाले गरेका राम्रा कामको प्रशंसा पनि गरेका छन् ।भूमिको वर्गीकरण, नगरवासीलाई निःशुल्क रगतको व्यवस्था, निःशुल्क शववाहन सेवा, हनुमन्ते करिडोर आसपास नक्शा पास खुला, नगरक्षेत्रको विद्यालयहरुमा प्रतिस्पर्धाद्धारा प्रधानाध्यापकको छनौट, शिव सर्किट निर्माण, पर्यटन मार्ग, मेलम्चीको पानी वितरणमा पहल लगायतको काममा कांग्रसले नगरपालिकाको प्रशंसा गरेको छ ।

नगरपालिकाका प्रमुख वासुदेव थापाले ध्यानाकर्षण पत्र बुझ्दै राजनीतिमा प्रतिस्पर्धा र विकासमा एकता हुनुपर्नेमा जोड दिएका छन् ।नगर प्रमुख थापाले आफू भ्रष्टाचार नगर्ने र अरु जनप्रतिनिधि तथा कर्मचारीलाई पनि भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता व्यक्त गरेको कांग्रेसका नगर प्रवक्ता रमेश खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्