विद्यार्थी स्वदेशमै अडिने वातावरण बनाऔँ : पूर्वमन्त्री श्रेष्ठ



स्याङ्जा। 

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले प्राविधिक तथा सीपमूलक शिक्षा दिई यहाँका विद्यार्थी स्वदेशमै अडिने वातावरण बनाउन सबैलाई अनुरोध गरेका छन्  । उनले ४ बर्षे स्नातक तह अब्यवहारिक भएको समेत बताए । शिक्षा नीति संशोधन गर्दै स्नातक तहको अध्ययनलाई ३ बर्षे बनाउनुपर्नेमा उनले जोड दिए । चार वर्षे स्नातक तह पाठ्यक्रमले हाम्रा विद्यार्थी विदेश पलायनमध्येको एउटा कारण भएको बताउँदै ३ वर्ष बनाउन अब ढिलाइ गर्न नहुनेमा श्रेष्ठले जोड दिए ।

स्याङ्जाको पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आर्दश बहुमुखी क्याम्पमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्नातक तह ४ वर्षे बनाईरहदा यसलाई विद्यार्थीले लामो समयको बोझ ठान्दै अध्ययनका बहानामा विदेश पलायनको बाटो राजेको उनले बताए । पूर्व शिक्षामन्त्री समेत रहेका  श्रेष्ठले भने, ‘प्लस टु सकेको एक विद्यार्थीलाई ४ वर्षे स्नातकको नतिजा आउँदा ६ वर्ष लाग्छ, त्यसपछि पनि जागिरको ग्यारेन्टी हुँदैन । चार बर्ष अध्ययनमा बिताउनु भनेको अत्यन्तै लामो र खर्चिलो भएकाले भर्ना पछि पनि पढाई छाड्ने क्रम बढ्दो छ ।’

‘विस २०४७ ताका प्रविणता प्रमाणपत्र तह २, स्नातक २ र स्नातकोत्तर २ बर्षका हुन्थे । सक्षम र जेहेन्दार विद्यार्थीले समयमै आफ्नो पढाई सकेर रोजगारमा जोडिन्थे । तर, अहिले पढाई पनि लामो बन्दै गएकाले विद्यार्थीमा बोझ थपिएको छ ।’ उनले भने ‘अबको शिक्षा ब्यवहारिक एवं दक्ष जनशक्ति उत्पादन गर्ने खालको हुनुपर्छ ।’

क्याम्पस व्यवस्थापन समितिमा अध्यक्ष समेत रहेका  श्रेष्ठको पहलमा २०४८ सालमा यो क्याम्पस स्थापना गरिएको थियो । हाल यस क्याम्पसमा ५ सय ३२ बिद्यार्थी अध्ययनरत छन् । प्लस टु सहित वीए, वीबीएस, वीएड, एक बर्षे वीएड, एमवीएस, एएड लगायतका तहहरुमा यहाँ पढाई हुदै आएको छ । क्याम्पसमा २७ जना प्राध्यापक र कर्मचारी कार्यरत छन् ।

पूर्व सांसद एवं क्याम्पस व्यवस्थापन समितिका सदस्य नारायणप्रसाद मरासीनीले क्याम्पसको शैक्षिक गुणस्तर बृद्धिका लागि सहकार्य गर्दे अघि बढ्ने बताए । अबको समय अनुरुप आफूलाई परिवर्तन गर्दे सूचना प्रविधिलाई ध्यान दिदै अघि बढ्नु पर्नेमा उनले जोड दिए । गण्डकी प्रदेशका पूर्व शिक्षा तथा बिज्ञानप्रबिधि मन्त्री मेखलाल श्रेष्ठ, नेपाली काँग्रेसका सहसचिव ध्रुवबन्धु पौडेल, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरे, भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्य, क्याम्पस व्यवस्थापन समितिका सदस्यद्धय तुलसी गिरी, लोकराज शर्मा, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनुप श्रेष्ठ, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, नेपाल बिद्यार्थी संघ जिल्ला अध्यक्ष गौरब प्रधान, क्याम्पस स्ववियू सभापति सविन रेग्मी लगायतले क्याम्पसको शैक्षिक गतिविधि र सयम सापेक्ष शिक्षा उपलब्ध गराउनु पर्नेमा जोड दिए । सोही कार्यक्रममा पूर्वउपप्रधानमन्त्री श्रेष्ठले क्याम्पसर परिसरमा नवनिर्मित प्रवेशद्वारको उद्घाटन र क्याम्पसका चन्दादाताको नामावली सहितको शिलालेखको अनावरण समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्