नाचघरमा घन्कियो लोकभाका



काठमाडौं ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, लोक संगीत विभागको आयोजनामा राजधानीमा राष्ट्रिय लोकगीत प्रस्तुति–२०८१ सम्पन्न भएको छ।

प्रतिष्ठानका उपकुलपति शम्भु राईको अध्यक्षता तथा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा नेपालका सातवटै प्रदेशका लोक गीतको प्रतिनिधित्व हुने गरी कलाकारले दश लोकगीत प्रस्तुत गरेका थिए।

कोशी प्रदेशबाट मुना ठटालले लिम्बू समुदायको केलाङ भाका प्रस्तुत गरिन् भने निरता नेवाङले पालम भाकाको लोक गीत प्रस्तुत गरिन्। त्यस्तै मधेश प्रदेशबाट हरिशंकर चौधरीले मैथिली भाषामा लोकगीत प्रस्तुत गरे भने बागमती प्रदेशको प्रतिनिधित्व गर्दै रामकुमार नेपाली र समूले दर्जी गीत प्रस्तुत गरे।

गायक खड्ग गबुर्जा र प्रतिमा विश्वकर्माले गण्डकी प्रदेशमा प्रचलित कौरा भाका प्रस्तुत गरे भने लुम्बिनी प्रदेशबाट कलाकारहरूले रुकुम रोल्पामा प्रचलित साहिँली भाकाको लोकगीत प्रस्तुत गरे।

कलाकार कृष्ण रेउलेले मयालाई भाकामा कर्णाली प्रदेशको लोकगीत प्रस्तुत गरे भने कर्णाली प्रदेशमा बढी प्रचलित यानिमाया भाका कलाकार धनराज चुनाराले प्रस्तुत गरे। त्यसैगरी सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै कलाकार राजाराम भाटले ठाडी भाका तथा दिपा रोकाया र रुपक परियारले देउडा भाका प्रस्तुत गरे। कार्यक्रमको अन्तिम प्रस्ततिस्वरुप गायक कृष्ण रेउले, गायिका राधिका हमाल र गायिका शीला आलेले लोक दोहोरी प्रस्तुत गरी दर्शकलाई मनोरन्जन दिलाएका थिए।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले नेपाली लोकगीतमा हरेक समुदायाका कथा व्यथालाई समेटिएको चर्चा गरिन्।

प्रतिष्ठानका उपकुलपति शम्भु राईले लोक संगीतमा मान्छेको रहनसहन र जीवनपद्धति हुने चर्चा गर्दै नेपाली कला संस्कृतिको जर्गेनाका लागि र एक अर्काको अस्तित्व स्वीकार्न पूर्वका पालम गाउने कलाकारले पश्चिमको देउडा, पश्चिमका ठाडी भाका गाउने कलाकारले पूर्वको धाननाच नाच्नुपर्ने र मधेशले हिमालका गीत र हिमालले मधेशको गीत गाउनुपर्नेमा जोड दिए।

प्राज्ञ परिषद् तथा कार्यक्रम संयोजक टीका पुनले प्रतिष्ठानले स्थानीय तह र प्रदेशसँग समन्वय र सहकार्य गर्दै अगाडि बढिरहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्