सरकारी सेवामा युवायुवतीको लोभलाग्दो आकर्षण

३ हजार पदका लागि ४ लाख ८३ हजारको आवेदन



–शिक्षा, व्यवस्थापन र विज्ञान पढेकाहरूको बढी रुचि
–नाम निकाल्ने टप फाइभ जिल्लामा गुल्मी, स्याङ्जा, सर्लाही, जुम्ला र धनुषा
–दरखास्त दिने ४२.४९ प्रतिशत अविवाहित

 काठमाडौं ।

लोकसेवा आयोगले लिने परीक्षामा गत वर्ष आवेदन दिनेहरूको संख्या ह्वात्तै बढ्यो । यसले सरकारी सेवामा युवायुवतीको लोभलाग्दो आकर्षण देखिएको पुष्टि गरेको छ।

सरकारी सेवामा कर्मचारी छनोटको जिम्मेवारीमा रहेको लोकसेवा आयोगले आर्थिक वर्ष २०७९\८० मा सरकारी सेवाका विभिन्न ३ हजार ३ सय ५७ पदका लागि गरेको विज्ञापनका लागि ४ लाख ८३ हजार २ सय ३ जनाले आवेदन दिएका छन्। यसरी आवेदन दिनेमा महिला २ लाख २७ हजार ६ सय २२ जना र पुरुष २ लाख ५५ हजार ५८१ जना रहेका छन्।

लोकसेवा आयोगको परीक्षामा आवेदन दिएकाहरूको यो संख्या अघिल्लो वर्षभन्दा ३२.२३ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा विभिन्न पदका लागि ३ लाख ६५ हजार ४ सय ३४ जनाले आवेदन दिएका थिए।

योग्यता, निष्पक्षता र स्वच्छताको नारा बोकेको लोकसेवा आयोगबाट लिइने परीक्षा पूर्ण रूपमा निष्पक्ष हुने र योग्यता, दक्षताको आधारमा नै छनोट हुने तथा कुनै प्रकारको सोर्सफोर्स नचल्ने भएकाले यसप्रति आम युवायुवतीको आशा, भरोसा र विश्वसनीयता बढ्दो छ। यस प्रकारको निष्पक्ष परीक्षामा मिहिनेत गर्दा सफल भई सरकारी सेवामा सहजै प्रवेश गर्न पाइने भएकाले युवायुवतीहरूको लोकसेवा आयोगको परीक्षाप्रतिको आकर्षण बढेको हो।

लोकसेवा आयोगबाट सञ्चालन हुने परीक्षाहरूमा उच्चतम अंक प्राप्त गरी अग्रस्थानमा रहेका उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरिन्छ । सम्बन्धित पदको कार्यसम्पादन गर्न आवश्यक पर्ने ज्ञान, सीप, मनोभाव आदिको परीक्षण गर्ने गरी पाठ्यक्रम निर्माण हुने र सोही पाठ्यक्रमबमोजिम परीक्षा सञ्चालन हुने हुँदा नियुक्तिका लागि सिफारिस हुने उम्मेदवार सो पदको कार्यसम्पादनका लागि क्षमतावान् हुने विश्वास लोकसेवा आयोगको छ।

लामो समयदेखि सरकारी सेवामा प्रवेश गर्दै आएका सचिव, सहसचिवलगायत अधिकांशले अहिले पनि लोकसेवाकै निष्पक्षताका कारण गाउँमा जन्मेहुर्केको आफूजस्तो मान्छेले सहजै सरकारी सेवामा प्रवेश गर्न पाएको भन्दै लोकसेवाप्रति गर्व गर्ने गरेका छन्। निष्पक्ष भूमिकाका कारण लोकसेवालाई जनविश्वासको धरोहर र नेपालमा पूर्ण प्रणालीमा सञ्चालन भएको एउटामात्रै स्वच्छ निकायको रूपमा हेर्ने गरिन्छ ।

लोकसेवाका अनुसार आव २०७९\८० मा सबैभन्दा बढी खरिदार पदका लागि आवेदन परेको छ। खरिदारमा ५ सय ५३ पदका लागि मागिएको विज्ञापनमा १ लाख ९६ हजार ७ सय २४ जनाले आवेदन दिएका छन्। यसै गरी नायब सुब्बातर्फ मागिएको ३ सय ३८ पदका लागि १ लाख १६ हजार १ सय ८४ जनाले आवेदन दिएका छन् । लोकसेवा आयोगका अनुसार सो वर्ष गेम स्काउटतर्फ २ सय ४७ पदका लागि ६० हजार १ सय १३ जनाले आवेदन दिएका छन् ।

यस्तै, शाखा अधिकृत वा सोसरहका लागि मागिएको २ सय ८८ पदका लागि ३६ हजार ७ सय जनाले आवेदन दिएका छन्। सोही वर्ष विभिन्न सेवा समूहका उपसचिवतर्फ मागिएको ९९ पदका लागि ९ हजार ४ सय १५ जनाले आवेदन दिएका छन्। सो वर्ष सिफारिस भएका उम्मेदवारमध्ये सबैभन्दा धेरै उम्मेदवार गुल्मी जिल्लाबाट १ सय ४५ जना छनोट भएका छन्। यसै गरी दोस्रोमा स्याङ्जाबाट १ सय १६ जना, तेस्रोमा सर्लाहीबाट १ सय ८ जना, चौथोमा जुम्लाबाट १ सय २ जना र पाँचौंमा धनुषाबाट ९९ जना छनोट भएका छन् । शीर्ष दशमा पर्ने अन्य जिल्लाहरूमा क्रमशः सप्तरी, बारा, सुर्खेत, महोत्तरी र कैलाली रहेका छन् ।

लोकसेवा आयोगले विभिन्न ३ हजार ३ सय ५७ पदमा आवेदन माग्दा देशका ७७ वटै जिल्लाबाट आवेदन परेको थियो। संकलन भएका दरखास्तमध्ये सबैभन्दा बढी दरखास्त पर्ने ५ जिल्लामा क्रमशः सर्लाही, बारा, रौतहट, महोत्तरी र धनुषा रहेका छन्। उक्त पाँच जिल्लाबाट मात्रै कुल ८१ हजार ४ सय ३ जना अर्थात् १६ प्रतिशतको दरखास्त परेको लोकसेवा आयोगले जनाएको छ। यस्तै, सबैभन्दा कम दरखास्त पर्ने जिल्लाहरूमा मनाङ, मुस्ताङ, रसुवा, म्याग्दी र डोल्पा रहेका छन्। लोकसेवाको परीक्षामा ७७ वटै जिल्लाबाट आवेदन पर्नु निकै सकारात्मक र सुखद् रहेको आयोगले जनाएको छ।

दरखास्त दिनेमा २१ देखि २५ उमेर समूहका युवायुवती सबैभन्दा बढी ३३.५४ प्रतिशत छन् भने १८–२० वर्षका १६.६२ र २६–३० वर्षका २७.६९ प्रतिशत रहेका छन् । यस्तै, दरखास्त दिनेमा सबैभन्दा बढी शिक्षाशास्त्र अध्ययन गरेका ३०.९७ प्रतिशत, दोस्रोमा व्यवस्थापनका २७.३१ प्रतिशत र तेस्रोमा विज्ञानका १५.५४ प्रतिशत रहेका छन् । दरखास्त दिनेमा ४२.४९ प्रतिशत अविवाहित छन् । यसले युवायुवतीहरू सरकारी जागिर प्रवेश गरेपछि मात्रै विवाह गर्ने योजनामा रहेको देखाउँछ ।

आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको मूल मन्त्रका रूपमा रहेको योग्यता, निष्पक्षता र स्वच्छतालाई पूर्ण रूपमा व्यवहारमा लागू गरिएकाले आयोगको परीक्षाप्रति युवायुवतीमा आकर्षण बढेको बताउनुभयो।

‘आम युवायुवती र परीक्षार्थीमा लोकसेवा आयोगबाट लिइने परीक्षामा कुनै सोर्स चल्दैन, यो पूर्ण रूपमा निष्पक्ष हुन्छ र मुख्य रूपमा क्षमता र योग्यतालाई हेरिन्छ भन्ने मान्यता र विश्वासले मूर्त रूप पाइरहेकाले पनि आयोगको परीक्षाप्रतिको आकर्षण र सहभागिता बढेको हो’ –आयोगका अध्यक्ष रेग्मीले नेपाल समाचारपत्रसँग भन्नुभयो।

अध्यक्ष रेग्मीले सार्वजनिक सेवामा कर्मचारी भर्ना र छनोटको कार्यलाई थप वस्तुनिष्ठ, समसामयिक र विश्वसनीय बनाउन तथा आयोगको संस्थागत क्षमता सुदृढीकरण गर्न दोस्रो रणनीतिक योजना (२०७९/८०–२०८३\८४ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको र उक्त योजनाका आधारमा वार्षिक कार्यक्रमहरू तय गरी व्यवस्थित रूपमा लक्ष्यहरू प्राप्त गर्ने वातावरण बनाइएको बताउनुभयो।

माधवप्रसाद रेग्मी
अध्यक्ष, लोकसेवा आयोग

आयोगको मूल मन्त्रका रूपमा रहेको योग्यता, निष्पक्षता र स्वच्छतालाई पूर्ण रूपमा व्यवहारमा लागु गरिएकाले आयोगको परीक्षाप्रति युवायुवतीमा आकर्षण बढेको हो । आम युवायुवती र परीक्षार्थीमा लोकसेवा आयोगबाट लिइने परीक्षामा कुनै सोर्स चल्दैन, यो पूर्ण रूपमा निष्पक्ष हुन्छ र मुख्य रूपमा क्षमता र योग्यतालाई हेरिन्छ भन्ने मान्यता र विश्वासले मूर्त रूप पाइरहेकाले पनि आयोगको परीक्षाप्रतिको आकर्षण र सहभागिता बढेको हो ।

प्रतिक्रिया दिनुहोस्