काठमाडौंका मेयर र वडाध्यक्षबीच टकराव

यसरी भाँडियो कामपाको नगरसभा



–मेयरको एकलौटीविरुद्ध वडा कार्यपालिका सदस्य एकजुट
–डेढ दर्जन बुँदा संशोधन गर्न कार्यपालिका सदस्यको जोड
–कांग्रेस, एमाले र समाजवादीका वडाअध्यक्षप्रति मेयर आक्रोशित
–१० गतेसम्मका लागि नगरसभा स्थगित

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले वडाध्यक्षले मागेको समय उपलब्ध नगराई एकलौटी गर्न थालेपछि आइतबारको नगरसभा बैठक भाँडिएको छ। मेयर साहले कार्यपालिकाका सदस्यलाई पेलेर जान थालेपछि बैठक स्थगित भएको हो।

बैठकअघि एमालेको तर्फबाट उपनेता एवं वडा नं ३२ का अध्यक्ष नवराज पराजुली, नेपाली कांगे्रसको तर्फबाट प्रवक्ता एवं १७ का वडा अध्यक्ष नवीन मानन्धर र एकीकृत समाजवादीको तर्फबाट वडा नं १५ का अध्यक्ष ईश्वरमान सिं डंगोलले प्रस्तावित नीति तथा कार्यक्रम संशोधन गर्न समय माग गर्नुभएको थियो।

कार्यपालिकाका तीन सदस्यहरू समय माग गर्दै बैठकअघि छलफल गर्न थालेपछि मेयर साहले बैठक शुरू भएको जनाउ दिँदै ५ मिनेट समय दिएर संशोधन प्रस्तावमाथि छलफल गर्न सबैलाई आह्वान गर्नुभएको थियो। त्यसअघि समय अभाव भएको बारेमा कार्यपालिकाका सदस्य एवं तीनजना वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई जानकारी गराएका थिए।

समय माग गरेर छलफल गर्दैगर्दा एकाएक ५ मिनेट समय दिएपछि कार्यपालिका सदस्यहरू बाहिरिएका थिए । समय माग गर्दागर्दै जबरजस्ती गर्ने मेयर साह आफैंले कार्यपालिकाको बैठक बहिष्कार गरेको सदस्यहरूको आरोप छ। कार्यपालिकाका सदस्य एवं वडा १७ का अध्यक्ष नवीन मानन्धरले आफूहरूले बैठक बहिष्कार गरेको नभई मेयर साबले समय सार्नुभएको बताउनुभयो।

बैठकमा कार्यपालिकाका सदस्यले छलफल गर्न समय मागिरहँदा मेयर साहले कार्यपालिकाका सदस्यलाई पेलेर अघि बढ्न खोजेको आरोप लागेको छ । बैठक स्थगित भएको जानकारी गराएर बाहिरिएका मेयरले यही असार १० गते बैठक बोलाउनुभएको छ। देशैभरका स्थानीय तहले १० गतेसम्म बजेट सार्वजनिक गर्नुपर्ने अवस्थामा मेयर साहले नीति तथा कार्यक्रममा छलफलका लागि बोलाउनुभएको छ।

बैठक स्थगित भएपछि उहाँले एक्समा नेपाली कांग्रेस र नेकपा एमालेका वडाध्यक्षहरूलाई पार्टीको धङधङी बोकेर नगरसभामा नआउन चेतावनी दिनुभएको थियो । उहाँले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको आरोप लगाउनुभएको छ।

तीन नेता भन्नाले आन्तरिक छलफलमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र समाजवादी पार्टीतर्फका वडाध्यक्षहरू हुन्। ‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रूपमा रहँदैन। १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ। बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चाहिँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगरपालिकाले गर्दैन’ –मेयर साहले लेख्नुभएको थियो ।

काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने उल्लेख गर्दै नगर प्रमुख साहले हरेक नागरिकको चासो हुने हुँदा नगरसभा प्रत्यक्ष प्रसारण हुने गरेको बताउनुभएको थियो। उहाँले शुक्रवार सार्वजनिक गर्नुभएको प्रस्तावित नीति तथा कार्यक्रमको विषयमा छलफल गर्न आइतबार नगरसभाको दोस्रो बैठक थियो। बैठक बहिष्कार गरेको विषयमा वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनसँग सोध्दा उहाँले भन्नुभयो– ‘बैठक हामीले होइन, मेयर साहले बहिष्कार गर्नुभएको हो।’ बैठकमा कार्यपालिकाका सदस्यहरूका करिब डेढ दर्जन बुँदामा संशोधन गर्नुपर्ने उल्लेख गरेका थिए ।

कार्यपालिकाका सदस्यले आर्थिक विकासतर्फको बुँदा नं २ मा उल्लेख भएको ३० प्रतिशत जनशक्ति महानगरको श्रम बैंकमार्फत् आपूर्ति गरिने, सामाजिक क्षेत्रतर्फको बुँदा नं ७ को छात्रवृत्तिको व्यवस्था वडाबाटै हुनुपर्ने, बुँदा ९ मा रहेको पढ्दै कमाउँदै विषय, गोल्ड मेडलिस्टलाई रिक्त शिक्षक पदमा नियुक्ति गर्ने, न्युरोडलाई नो भेइकल जोन बनाउने विषयमा संशोधन गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै, टुकुचा खोला खोजेर दुर्गन्धित बनाउने भन्दा पनि स्वच्छ पार्नेलगायत बुँदा संशोधन गर्नुपर्ने उल्लेख छ । कामपा १५ का अध्यक्ष मानन्धरले संशोधन गर्ने थुप्रै बुँदा हुँदाहँुदै कम समय दिएर पारित गर्ने नीति ल्याएपछि १० गते छलफल गर्ने गरी स्थगित भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘संशोधन गर्न छाडेर यतिकै पारित गर्ने कुरा आउँदैन, असहमति भएका सबै विषयमा एकैसाथ संशोधन गर्न छलफल आवश्यक छ ।’

मेयर बालेन्द्र साहले शुक्रबार ६२ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। नीति तथा कार्यक्रममा बेरोजगारलाई पार्टटाइम रोजगारदेखि २० जनाभन्दा बढी रोजगारी दिने कम्पनीको ३ वर्षसम्म राजस्व छुटसम्मको व्यवस्था गरेको छ।

सार्वजनिक सेवा, सम्पदा संरक्षणलाई विशेष जोड दिएको नीति तथा कार्यक्रममा विश्वसम्पदा सूचीका सम्पदा मातहत ल्याउनेदेखि ‘नो भेहिकल जोन’सम्मको विषयलाई मुख्य प्राथमिकता दिएको छ। नीति तथा कार्यक्रममा न्युरोड, हाँडीगाउँसहित प्राचीन तथा पुरातात्विक क्षेत्रलाई ‘नो भेहिकल जोन’ बनाउने योजना नीति तथा कार्यक्रममा समावेश छ।

प्रतिक्रिया दिनुहोस्