मुगुका १८ गाउँ पहिरोको उच्च जोखिममा



मुगु। 

जिल्लाका सबै चार स्थानीय तहमा रहेका २ सय २३ मध्ये १८ गाउँ पहिरोको उच्च जोखिममा छन् । छायाँनाथ रारा नगरपालिकाको तल्लो सालिम माथिल्लो सालिम, झयारी, कम्फा दलितबाडा, चराप, ढुम, सोरु गाउँपालिकाको रावलबाडा, बन्जाहाँ, तारापानी, खत्याड गाउँपालिकाको रिघा, नखर्जी, कवा, सेरी, हिगोटी, गाडेखोला र मुगुम कार्मारोङ गाउँपालिकाको माग्री, रिउस र पुलूँ पहिरोको जोखिममा उच्च जोखिममा छन् ।

सोरु गाउँपालिका–४ रावलबाडाका ३५ दलित परिवार पहिरोको उच्च जोखिममा छन् । रावलबाडा बस्तीको तल र माथिबाट पहिरो जान थालेपछि सिंगो गाउँ नै जोखिममा परेको छ । पहिरो खेतीयोग्य जमिन भाँसिदै गएको र गाउँ पनि पहिरोमा पर्न थालेको स्थानीयको भनाई छ । बर्खा सुरु हुन थालेपछि पहिरोको डरले निद्रा हराउने गरेको रावलबाडा गाउँका वीर नेपालीले बताए । ‘माथिबाट बाढी पहिरो आउने र तलबाट जमिन भाँसिदै जाँदा ३५ दलित परिवारलाई संकट उत्पन्न भएको छ,’ उनले भने । खत्याड गाउँपालिका–२ गाडेखोलाका ५५ दलित परिवारको अवस्था पनि उस्तै विकराल छ ।

 गाउँ माथिबाट जमिन भाँसिएर पहिरोले छोप्न थालेपछि दलित परिवारलाई उठीबास हुन थालेको छ । अन्यत्र कतै जाने ठाउँ नपाए पछि दलित परिवार ज्यान जोखिम राखेर घर बस्न बाध्य छन् ।
त्यसैगरी उक्त गाउँपालिकाको बन्जाहाँ र तारापानी गाउँ पहिरोको जोखिम रहेको छ । बन्जाहाँ गाउँको माथिबाट पहिरो खस्न थालेको छ भने रुम खोलाबाट बाढी आउन थालेपछि तारापानी गाउँ जोखिममा परेको छ ।

खत्याड गाउँपालिका–२ रिघा गाउँका ८५ परिवारलाई पनि बर्खा सुरु हुन थालेपछि चिन्तित हुने गरेका छन् । गाउँको माथिबाट पहिरो खस्न थालेपछि रिघा गाउँका ८५ परिवार पनि जोखिममा छन् । ठूलो बर्षा हुन थाले पछि घर छोडेर पिपलको रुखमा आउने गरेको रिघा गाउँका मनकृष्ण उपाध्यायले बताए ।
पहिरोको डर धेरै जना गाउँ छोडेर अन्यत्र बसाइँ सरेको उनको भनाई छ । उक्त गाउँपालिका–४ हिगोटी गाउँका ७५ दलित परिवार पनि पहिरोको जोखिममा छन् ।

२०७९ असोज १९ देखि २३ सम्मको भीषण बर्षाले खत्याडका गाडेखोला, कवा, नखर्जी, हिगोटी, सेरी, रिघालगायत ६ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाकी उपाध्यक्ष सरिता रोकायाको भनाई छ । छायाँनाथ रारा नगरपालिकास्थित झयारीका ४२ र सालिमका ३० परिवार पहिरोको उच्च जोखिममा छन् । २०७९ असोजको बर्षाले दुबै गाउँमा पहिरो जाँदा स्थानीय विस्थापित भएका थिए भने कोही जोखिम मलेर गाउँमै बस्न बाध्य छन् ।
सोही वर्ष माथिबाट पहिरो खस्दा सालिम गाउँमा ८ जनाले ज्यान गुमाएको नगरपालिका–११ की वडाअध्यक्ष कुञ्जुमा कुमाईले बताइन् । उच्च जोखिममा रहेका सालिम, चराप, कम्फा दलितबाडाकम पूर्वतयारीको निम्ति वडाले विपद् व्यवस्थापन समिति गठन गरेको उनले बताइन् ।

नगरपालिकाको धनाबस्ती ढुम गाउँ पनि पहिरोको जोखिम पर्न थालेपछि स्थानीय चिन्तित छन् । नगरपालिका अन्तरगत झयारी गाउँका ४२ परिवार गत वर्षकै बाढीपहिरोले घर भत्किन थालेपछि गाउँ छोडेर रारा राष्ट्रिय निकुञ्ज क्षेत्रको मध्यवर्ती बस्तीमा त्रिपाल राखेर बस्दै आएका छन्।

यता मुगुम कार्मारोङ गाउँपालिकाको माग्री, पूलु र रिउस पहिरो उच्च जोखिम छन् । माग्री गाउँको मुनितिर बाटो पहिरो जाँदा गाउँ जोखिम पर्न थालेको छ भने रिउस बगरले रिउस गाउँ जोखिममा पारेको छ । पूलुको माथिबाट पहिरो खस्दा जोखिम देखिएको छ । गत बुधबार विपद् व्यवस्थापन समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ पारित गरी जोखिम न्यूनीकरणका लागि चार वटै सथानीय तहसहित रेडक्रस, सुरक्षाकर्मीलगायत विषयगत कार्यालयहरुलाई पूर्वतयारी गर्न भनिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रेडक्रसले विपद् पूर्वतयारीका लागि रेडक्रस मुग शाखाले स्वयंसेवक तयारी अवस्था राख्ने र केन्द्रबाट राहत सामग्री माग्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्