लागूऔषधको समस्या बढ्दो

न्यूनीकरणमा प्रदेश सांसद्हरुको चासो



हेटौंडा ।

वागमती प्रदेशका जिल्लाहरुमा लागूऔषधको समस्या बढ्दै छ । यसको एकैपटक समाधान भन्दा पनि न्यूनीकरण गर्दै लैजानुपर्नेमा वागमती प्रदेशसभाका सदस्यहरुले हेटौंडामा आयोजित कार्यक्रममा चासो देखाए ।

जनपत्र मिडिया प्रालि हेटौंडाको आयोजना तथा संसद् सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा लागूऔषधका कारण समाजमा बढ्दै गएको समस्या, यसको समाधानमा सांसद् र सरोकारवालाहरुको भूमिकाका विषयमा आयोजित सार्वजनिक सुनुवाइमा सांसद्हरु तथा सरोकारवालाहरुले चासो व्यक्त गरेका हुन् ।

लागूऔषधको विकराल समस्या बढ्दै गएकाले यसमा तीन तहका सरकारहरु लाग्नुपर्ने कार्यक्रममा सहभागी प्रदेशको प्रदेश मामिला समितिका सांसद्हरु र विभिन्न समितिका सांसद्हरुले बताएका छन् ।

कार्यक्रममा प्रदेश मामिला समिति सभापति छिरिङ दार्जेलामा, प्रदेशसभा सदस्यहरु भारतीकुमारी पाठक, गिरबहादुर तामाङ, कृष्णप्रसाद सिल्वाल, उर्मिला सुनुवार, विन्दु श्रेष्ठ, शिवराज अधिकारी, हरिप्रभा खड्गी, हरि सापकोटा, प्रेमभक्त महर्जन, बालकुमारी बिश्वकर्मालगायतले यस विषयलाई प्रदेशसभामा आफूहरुले जोडतोडसाथ उठाउने बताए ।

हरेक क्षेत्रमा सरकारले बजेट विनियोजन गर्ने तर लागूऔषध प्रयोगकर्ताहरुलाई न्यूनीकरण गर्न, यसको ओसारपसार न्यूनीकरण गर्नका लागि चासो प्रदेश सरकारले कम चासो राखेको उनीहरुले बताए । तीन तहका सरकार र प्रदेश सरकारले उद्योगी व्यवसायीहरुका भवन निर्माणमा लाखौं बजेट विनियोजन गर्ने तर, लागूऔषध रोकथामका लागि बजेट नछुट्याइको प्रदेश मामिला समिति सभापति दोर्जेलामाले बताए ।

उनले भने–लागुऔषध नियन्त्रणका लागि सहकार्य गर्न सरकार तयार छ । सरकारसँगै स्थानीय जनसमुदाय र गैससहरुको पनि सहकार्य जरुरी छ । विद्यालय नर्सहरुलाई लागूऔषधविरुद्ध सचेतना कक्षामार्फत् सेवा लिन सकिन्छ । विद्यालय नर्सहरुले नसक्दाको अवस्थामा पूर्वलागूऔषध प्रयोगकर्ताहरुको अनुभव, अनुभूतिलाई ग्रहण गर्न सकिने उनले बताए ।

उनले भने–सरकारको नीति र विधिलाई मध्यनजर गर्दै गैससहरुले पनि लागूऔषधविरुद्ध कामलाई वर्षमा कुनै दिन, उत्सव वा समारोहमा हैन, सामान्य अवस्थामा समेत सेवालाई प्रभावकारी बनाउन सोच्नु पर्नेछ । सुधारकेन्द्रबाट निस्केकाहरुबाट समाजले लाभ लिन सक्नुपर्छ ।

प्रदेशसभाका सदस्य पाठकले लागूऔषधविरुद्ध अभियामा सबभन्दा महत्वपूर्ण कुरा जनचेतना रहेको बताइन् । एउटा व्यक्ति लागूऔषध दुव्र्यसनमा फसेपछि ऊ त रोगी भइ नै हाल्यो, परिवारका अन्य सदस्यलाई पनि रोगी बनाउने उनले बताइन् । उनले भनिन्–पीडित परिवार र नातेदारसम्म हुन्छन् । जनचेतनाको काम नै सबभन्दा महत्वपूर्ण भएकाले यस्तो पुण्य काममा आफू पनि सहभागी हुन चाहने उनले बताइन् । व्यक्तिगत्रुपमा र संस्थागत्रुपमा अभियानमा लाग्नु जरुरी छ । लागूऔषध दुव्र्यसनमा फसेकाहरुलाई उपचार सँगै परिवार समुदायको माया पनि उत्तिकै आवश्यक छ ।

वागमती प्रदेशसभाका सदस्य गिरीबहादुर तामाङले व्यक्तिमा नैतिक शिक्षा, सामाजिक शिक्षा कमीले लागूऔषध प्रयोग बढेको बताए । दिनदिनै लागूऔषध प्रयोगकर्ता बढे भनिन्छ, तर रोकथामका लागि सरकारले के गरिरहेको छ पत्तो नभएको उनले बताए । उनले भने–यसरी बढ्योमात्र भनेर हुन्छ र ? बढ्दो संख्यालाई रोक्दै र बढ्न नदिनका लागि जनचेतना बढाउनुप¥यो । बेरोजगारीका कारण लागूऔषध प्रयोगकर्ता बढेका हुन्, रोजगारी सिर्जना गरिनुपर्छ । मासिक र त्रैमासिकारुपमा लागूऔषधविरुद्ध विभिन्न कार्यक्रम गर्नु जरुरी रहेको उनले बताए । रोगीलाई उपचारमा सरकारले ध्यान दिनुपर्ने उनले बताए ।

प्रदेशसभा सदस्य खड्कीले प्रेमविवाह, पारिवारिक विचलनका कारण लागूऔषध प्रयोग गर्ने आदत बस्ने गरेको बताइन् । यसको नियन्त्रणका लागि कडा भन्दा कडा कानुन बनाइनुपर्ने उनको माग छ । उनले भनिन्–शिक्षा र रोजगारीका अवसर बढाइनुपर्छ । स्थानीय सरकार, जनसमुदाय लाग्नुपर्छ । वडाका जनप्रतिनिधिदेखि संघीय सरकारसम्मको एकैलयमा काम गरिनु जरुरी छ । शिक्षा हासिल गरेपछि कुन व्यवसाय गर्ने, कुन पेशा अवलम्बन गर्ने भन्ने सिप पनि सँगै पास हुनु जरुरी छ । लागूऔषध अवैध कारोबार रोक्नुपर्छ । सरकारी तथा गैरसरकारी निकायको सहकार्य जरुरी छ । हामी सरकारका तर्फबाट सहकार्यका लागि तयार छांै ।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले युुवा जमातमा लागूऔषध दुव्र्यसनको सवाल भयावह बन्दै आएको बताए । युवाहरु किन दुव्र्यसनमा फस्ने गरेका छन्, त्यस कारण खोजेर समाधानमा सरकार लाग्नुपर्छ, युवा परिषद् सहकार्यका लागि तयार रहेको उनले बताए । उनले भने–हाल बजेट विनियोजनको समय भएकाले यतातर्फ पनि ध्यान दिन कार्यक्रमले झक्झकाएको छ । लागूऔषधविरुद्ध लाग्नेलाई प्रोत्साहन र उपचारमा सहजता ग्यारेन्टी हुनु जरुरी छ ।

नेपाल चिकित्सक संघ मकवानपुर अध्यक्ष डा. हरि खड्काले पछिल्लो समय डाक्टरले उपचारमा चासो दिन थालेको बताए । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा पनि पछिल्लो समय लागूऔषध प्रयोगपछि मानसिक अवस्थामा समस्या भएकालाई छुट्टै उपचारकक्ष व्यवस्था गरिएको बताएका उनले भने–परामर्श सेवालाई प्रभावकारी बनाउनु बढी जरुरी छ । सहीढंगले परामर्श गर्न सकियो भने लागूको नशामा फसेको व्यक्तिलाई सजिलै छुटाउन सकिन्छ । स्कुल-कलेजहरुमा ज्ञानको अभाव छ । लागूऔषध प्रयोग गर्दा हुने बेफाइदाबारे प्रचारप्रचार व्यापक हुनुपर्छ । विद्यालय पाठ्यक्रममा समावेश गर्न सकिए त झन् प्रभावकारी हुने थियो । कार्यक्रममा पूर्वलागूऔषध दुव्र्यसनीहरुले आफूहरु समाजमा पुनस्र्थापित भए पनि कुनै क्षेत्रबाट सहयोग नगरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्