युवायुवतीलाई प्रलोभनमा पारी दलालद्वारा १ अर्ब १० करोड ठगी



काठमाडौं ।

सुन्दर भविष्य बनाउने सपना बोकेका लाखौं युवायुवती नेपाल छोडेर विदेशिन चाहन्छन्। राम्रो रोजगारी, समुन्नत भविष्यका नाममा १० महिनामा विदेश जाने रहर बोकेका युवायुवतीले दलाललाई १ अर्ब १० करोड १५ लाख ३ हजार बुझाएका छन्।

विभिन्न प्रलोभन देखाएर दलालले अमेरिका, युरोपलगायतका आकर्षक गन्तव्य मुलुक पठाउने भन्दै देशभरका युवायुवतीलाई ठगी गर्ने गरेको वैदेशिक रोजगार विभाग र काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखामा परेको उजुरीको चाङबाट थाहा हुन्छ।

वैदेशिक रोजगार विभागमा स्टोनिया, पोर्चुगल, सर्बिया, क्यानडा, माल्दिभ्स, न्युजिल्यान्ड, अस्ट्रेलिया, जापान, अमेरिका, क्रोसिया, कम्बोडिया, टर्की, अल्बानिया, रसिया, अजरबैजानलगायतका देश पठाइदिने भन्दै दलालले गएको साउनदेखि जेठसम्ममा ६२ करोड ५८ लाख ४ हजार ७ सय ६४ रुपियाँ ठगी गरेको उजुरी परेको थियो।

विभागले विगत १० महिनामा ३ सय ३९ जनालाई ठगीको आरोपमा पक्राउ गरेको छ भने विभागमा मात्रै ठगीका ८ सय २३ उजुरी परेको छ । महिनागत रूपमा हेर्ने हो भने विभागमा साउनमा ८९, भदौमा ४६, असोजमा २२, कार्तिकमा २६, मंसिरमा ६०, पुसमा ९४, माघमा ८४, फागुनमा १२७, चैतमा १२६, वैशाखमा १०६ र जेठमा ४३ वटा ठगीमा मुद्दा परेका थिए।

त्यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखामा ४७ करोड ७३ लाख ४८ हजार ३ सय ६० रुपियाँ ठगी गरेको उजुरी परेको छ । महाशाखामा मलेसिया, कतार, दुबई, साउदी अरब, कुवेतलगायतका मुलुक पठाउने भन्दै ठगी गरेको उजुरी आउने गरेको महाशाखाका डीएसपी गोविन्द पन्थीले जानकारी दिनुभएको छ।

उहाँले अहिलेसम्म विभाग र महाशाखामा परेका उजुरीको आधारमा २ हजार ६ सयभन्दा बढी व्यक्ति पीडित भएको जानकारी दिनुभयो । प्रहरीले अहिलेसम्म ६ करोड १५ लाख ४७ हजार ८ सय ५० रुपियाँ बिगो असुल गर्न सफल भएको छ भने यस्ता अपराधमा संलग्न रहेका ४ सय ३७ जनामाथि अनुसन्धान अघि बढाएको छ ।

महाशाखामा साउनदेखि जेठसम्म ४ सय ७४ वटा उजुरी परेका छन् भने प्रहरीले अहिले ८९ जनालाई पक्राउ गरी उनीहरूबाट पीडित भएकाहरूलाई बिगो फिर्ता गराउन सफल भएको उहाँले जानकारी दिनुभयो। महाशाखामा साउनमा ७२, भदौमा ४६, असोजमा २२, कार्तिकमा ८, मंसिरमा ५५, पुसमा ५७, वैशाखमा ५१, जेठमा २२ वटा उजुरी परेको महाशाखाको तथ्यांकबाट देखिएको छ।

दलाललहरू आकर्षक गन्तव्य मुलुक पठाइदिने भन्दै एकै व्यक्तिसँग ८० लाख रुपियाँसम्म लिएको पाइएको छ। अमेरिका र युरोप जानका लागि नेपालीहरू जति पनि पैसा तिर्न तयार भएपछि दलालहरूले अनेक फन्डा खडा गरेर ठगी गरेको देखिएको महाशाखाको वैदेशिक रोजगार ठगीसम्बन्धी पिलरमा प्रमुखका रूपमा कार्यरत डीएसपी पन्थी बताउनुहुन्छ।

सरकारले वैदेशिक रोजगार ठगीसम्बन्धी अनुसन्धान र कारबाही गर्ने अधिकार वैदेशिक रोजगार विभागलाई दिएको भए पनि दक्ष जनशक्तिको अभावका साथै पक्राउ गर्ने प्रहरी आफ्नो मातहतमा नभएको कारण पीडितहरूले समयमा नै न्यायपाउन सकेको देखिँदैन।

विभागले पनि पक्राउ तथा अनुसन्धानका लागि प्रहरीलाई नै गुहार्नुपर्ने अवस्था आउने र प्रहरीलाई यस्ता घटनामा खटिजाने जनशक्ति परिचालन गर्न छुट्टै बजेट नभएका कारण प्रहरीले पनि तोकिएकै समयमा खट्न सक्ने अवस्था नरहेकाले आरोपितहरू उम्कने गरेको एक प्रहरी अधिकृत बताउँछन्।

सरकारले वैदेशिक ठगीसम्बन्धी अनुसन्धान तथा कारबाहीको जिम्मेवारी विभागलाई दिएको भए पनि विभागको देशभर आफ्नो संरचना नभएका कारण पीडकलाई पक्राउ गर्न अन्य निकायको सहयोग लिनुपर्ने अवस्था रहेकाले दलालहरू सहजै भाग्न वा लुक्न सफल हुने गरेको ती अधिकृतले बताए।

प्रतिक्रिया दिनुहोस्