एमाले उदयपुरको आठै पालिकामा एक साथ अधिवेशन सम्पन्न 



उदयपुर। 

नेकपा एमाले उदयपुरले आफ्ना आठै पालिकाको एकसाथ अधिवेशन सम्पन्न गरेको छ । एमाले उदयपुरको नवौं अधिवेशन मार्फत नयाँ नेतृत्व आएसँगै पार्टीलाई नयाँ उचाइ दिने सोचका साथ एमाले उदयपुरले आफ्नो गतिविधि सुरु गरेको भन्दै एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जिल्लाका आठै पालिकामा एक साथ अधिवेशन सफल रुपमा सम्पन्न गरेको बताए ।

 

जेष्ठ २५ गते जिल्लाका आठै पालिकामा एकसाथ उद्घाटन भएको दोश्रो अधिवेशनले केही पालिकामा बाहेक सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको एमाले उदयपुरले जनाएको छ । पालिका अधिवेशन अन्तर्गत जिल्लाको चार नगरपालिका मध्ये बेलका नगरपालिकामा अध्यक्षमा हिराजंग राई सर्वसम्मत चयन भए भने उपाध्यक्ष, सचिव र उपसचिवमा भने निर्वाचन भएको थियो । बेलकामा सदस्यहरु समेत सर्वसम्मत हुँदा ७५ सदस्य नगर कमिटी गठन भएको छ । चौदण्डीगढी नगरपालिकामा भने पदाधिकारीमा मात्र निर्वाचन हुँदा सदस्यहरु सर्वसम्मत चयन भएका थिए । चौदण्डीगढीको अध्यक्षमा विकास बन्जारा निर्वाचित हुँदा ७५ सदस्य नगर कमिटी निर्माण भएको छ ।

जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकामा भने लामो छलफल र संवाद पश्चात नेतृत्वले पदाधिकारी र सदस्य सर्वसम्मत चयन गर्न सफल भएको थियो । त्रियुगामा विश्वराज भट्टराई अध्यक्ष ७५ सदस्य कमिटी चयन भयो । कटारी नगरपालिकामा पनि नेत्र श्रेष्ठको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी सर्वसम्मत चयन भएको छ ।

 

जिल्लाका चार गाउँपालिका मध्ये ताप्ली गाउँपालिकामा अध्यक्ष बाहेक पदमा सर्वसम्मत कमिटी चयन हुँदा अध्यक्षमा तोप बहादुर ज्यू ठकुरी निर्वाचित भए उनको नेतृत्वमा ३५ सदस्य पालिका कमिटी गठन भएको छ । लिम्चुङबुङ गाउँपालिकामा ज्ञानबहादुर राईको अध्यक्षतामा सर्वसम्मत रुपमा ३५ सदस्य पालिका कमिटी चयन भएको छ । रौतामाई गाउँपालिकामा ललित मगरको अध्यक्षतामा ७५ सदस्य सर्वसम्मत कमिटी चयन हुँदा उदयपुरगढी गाउँपालिका यम्बर बहादुर खत्रीको अध्यक्षतामा ५७ सदस्य पालिका कमिटी चयन भएको एमाले उदयपुरका उपसचिव हेम खड्काले जानकारी दिए ।

नेकपा एमाले उदयपुरका सचिव टेक बहादुर राउतका अनुसार जिल्लाका ७५ ओटै वडामा एक साथ यही जेष्ठ ३१ र असार १ गते वडा अधिवेशन समेत सम्पन्न हुने छ ।

प्रतिक्रिया दिनुहोस्