बाँदर आतङ्क विरुद्ध किसानको नारा- जुलुस



दोलखा ।

बाँदर आतङ्कबाट प्रताडित दोलखा मेलुुङ गाँउपालिका वडा नम्बर– ७ मेलुङका किसानहरु बुधवार मकैको बोट सहितको जुलुस लिएर सदरमुकाम चरिकोट आएका छन् । बाँदरले मकै, तरकारी, फलफुल लगायतका बाली नष्ट गर्ने र घर– घरमा पसेर मानिसलाई समेत आक्रमण गर्न थालेपछि आफुहरु बाँदर नियन्त्रण र सुरक्षाको माग गर्दै सदरमुकाम आएको स्थानीय बलराम श्रेष्ठले बताए ।

जेष्ठ नागरिक र महिला समेत सहभागि जुलुसले सदरमुकामको बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुुगेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयलाई सात बुँदे ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा बाँदर आतङ्कको दिगो समाधान र नियन्त्रणको लागि सरकारले आवश्यक नीति बनाएर कार्यान्वयन गर्नुपर्ने, बाँदरबाट नष्ट भएको बालिनालिको उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने, बालि उत्पादन सिजन अनुसार बाँदर हेरालुको व्यवस्था गर्नु पर्ने, बाँदर धपाउदा भएको धनजनको उचित क्षतिपूर्ति दिनुपर्ने, बाली विमाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, कृषि क्षेत्रमा आवश्यक ज्ञान, सिप, क्षमताको अभिवृद्धि गर्दै उचित प्रविधि र लगानीको व्यवस्था गर्नुपर्ने र कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गर्नुपर्ने उल्लेख गरिएको छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मेलुुङका किसानहरुको ज्ञापनपत्र प्राप्त गरेको र त्यसलाई प्रधानमन्त्री कार्यालयमा पठाउने बताउन् । किसानको समस्या प्रति स्थानीय प्रशासन गम्भीर रहेको तर बाँदर नियन्त्रणको लागि साँझा प्रयत्न र नीतिमै परिर्वतन आवश्यक देखिएकोले सरोकारवाला निकायमा समस्या बारे जानकारी गराउने प्रमुख जिल्ला अधिकारी पोखरेल बताउन् ।

झण्डै तीन घण्टाको यात्रा तय गर्दै ज्ञापनपत्र बुुझाउन सदरमुकाम चरिकोट आएको संगिता भण्डारी बाँदरले मकै, तरकारी र फलफुल नष्ट गर्नेमात्र नभै घरमा पसेर भाँडावर्तन फालिदिने, मानिसलाई आक्रमण गर्ने लगायतका गतिविधि गर्न थालेको बताईन । बाँदर आतङकले बालि भित्राउने बेला विहान देखी साँझसम्मै खेत बारीमै समय खर्चिनुु पर्ने बाध्यता रहेको र सयौको संख्यामा बाँदर आउने भएकोले महिला र जेष्ठ नागरिकलाई सुरक्षा चुनौति समेत रहेको स्थानीय बलराम श्रेष्ठ बताउछन् ।

बाँदर आतङ्ककै कारण सयौ विघा खेतियोग्य जमिन बाँझो राखेर स्थानीय किसानहरु वसाई जान बाध्य भएको र विद्यालय जाने विद्यार्थीहरु समेत असुरक्षित बनेको बलराम श्रेष्ठको भनाई छ । मेलङु गाँउपालिकाका अध्यक्ष हिरा थोकर पालिकाले प्रत्येक बर्ष बाँदर नियन्त्रणको लागि बजेट छुुट्टाउने गरेको भएपनि के गर्ने भन्ने अन्यौलले काम भने हुन नसकेको बताउछन् । हेरालु राख्ने वा क्षतिपूर्ति दिने कुरा सम्भव नदेखिएकोले यो बर्ष बाँदरको बन्ध्याकरा गर्न सकिन्छ की भनेर छलफल भै रहेको पालिका प्रमुख थोकरको भनाई छ ।

गत बर्ष बाँदर धपाउदा भिरबाट लडेर वडा नम्बर– ७ को लक्ष्मी श्रेष्ठको मृत्युभएको र भवानी भण्डारी, कमला कार्की लगायत दर्जनौ किसान बाँदरको टोकाईबाट घाईते भएको स्थानीय बताउछन् । मेलुङ गाँउपालिकाका उपप्रमुख गायत्री आचार्य बाँदर नियन्त्रणको लागि सरकारले नीतिमै परिर्वतन नगरेसम्म पालिकालेमात्र केही गर्ने अवस्था नदेखिएको बताउछिन् । भुुगोलका कारण हेरालु राख्न पनि सम्भव नदेखिएको उनको भनाई छ ।

बाँदर धपाउने प्रविधिको बारेमा छलफल भै रहेको र त्यस्तो प्रभावकारी प्रविधि भए पालिकाले त्यो किसानहरुलाई उपलब्ध गराउने उनले बताईन ।

तस्विरः मेलुङका किसानको सदरमुकाम चरिकोटमा विरोध जुलुस

प्रतिक्रिया दिनुहोस्