३६ विद्यालयको पसल कवलमा ताला लगाउँदै महानगर

सात दिनभित्र सामान सार्न निर्देशन



काठमाडौं।

काठमाडौं महानगरपालिकाले महानगरभित्रका ३६ सामुदायिक विद्यालयले भाडामा लगाएका सटरमा ताला लगाउने भएको छ । कामपाले ३६ मध्ये सोमबार २० वटा विद्यालयको भाडामा लगाएको झण्डै २० विद्यालयका डेढ सयभन्दा बढी सटर र कोठामा ताला लगाएको हो । कामपा शिक्षा विभाग र महानगर प्रहरीको टोलीले पहिलो दिन आइतबार पनि ४ वटा सामुदायिक विद्यालयले भाडामा दिएको ६१ वटा सटरमा ताला लगाएको थियो ।

कामपा शिक्षा विभाग अधिकृत नेत्र नारायण पौडेल नेतृत्वको कामपा प्रहरीसहितको टोलीले सोमबार बानेश्वरको रत्नराज्य, ठमेल चाक्सीबारीस्थित जुद्धोदय(जेपी), कन्या माविलगायतका विद्यालयले भाडामा दिएको सटरमा ताला लगाएको थियो । कामपा शिक्षा विभागसँगै मेयर बालेन्द्र साहको सचिवालयका कर्मचारी र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर व्यावसायिक प्रयोजनमा आएका सटर तथा टहराहरूमा ताला लगाएको हो । कामपाले दुई दिनमा करिब २० वटा विद्यालयले भाडामा दिएको संरचनामा ताला लगाइसकेको कामपा शिक्षा विभाग अधिकृत पौडेलले बताउनुभयो । कामपा शिक्षा विभाग प्रमुख गोबिन्दप्रसाद शर्माका अनुसार आज मंगलबारसम्म सबै सटरमा ताला लगाउने तयारी छ ।

सोमबार मध्यक्षेत्रका प्रमुख प्रहरी उपरीक्षक दिनेश अर्याल, मध्यक्षेत्रका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज लामिछाने, उत्तरक्षेत्रमा प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्ट, पश्चिममा प्रहरी निरीक्षक प्रकाश पण्डितको नेतृत्वमा ताला लगाइएको थियो ।

शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आम्दानी गरेको भन्दै टोलीले विद्यालयको सटरमा ताला लगाएर साँचो विद्यालयका प्रअलाई बुझाएको थियो । टोलीले विद्यालयको सटर भाडामा लिएर व्यवसाय गर्ने व्यवसायीलाई ७ दिनभित्र सटर खाली गर्न आग्रह गरेको जानकारी दिँदै कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले भन्नुभयो– ‘सो आग्रह अटेर गरे महानगर प्रहरीले सटर खाली गर्ने गर्नेछ ।’

ताला लगाएकामध्ये १५ विद्यालयले सटर भाडामा लिनेसँग गरेको सम्झौताको अवधि बाँकी नै छ । केहीको सम्झौताको अवधि समाप्त हुने तरखरमा छ भने ५ वटाको सम्झौताको मिति सकिएको छ । सबलद्यौला आधारभूत माविको सटर भने गुठीसंस्थानले भाडामा लगाएको छ । आजाद आधारभूत विद्यालयको पनि त्यस्तै समस्या देखिएको छ ।

विद्यालय भवनमा सटर भए पनि ती सटर विद्यालयको नाममा नभएको कामपाले जनाएको छ । शान्तिनिकुञ्ज माविले निष्ट कलेजलाई लिजमा दिएको सटरको सम्झौता वि.सं. २०८५ असार ३१ गते मात्रै समाप्त हुने भएकोले सटर खाली गर्न समस्या देखिएको छ ।

कामपाका प्रवक्ता नवीन मानन्धरले ३६ वटै विद्यालयका सबै सटर र टहरा शैक्षिक क्रियाकलापका लागि प्रयोगमा ल्याइने बताउनुभयो । कतिपय विद्यालयले स्थान अभाव भएको बताउँदै विभागमा शैक्षिक कार्यक्रम सञ्चालनमा असहज भएको गुनासो गरेका बताउँदै शिक्षा विभागका एक अधिकारीले भने– ‘स्थान अभाव भयो भनी गुनासो गर्ने अनि आफैंले सटर भाडामा दिनु विद्यालयका प्रअको गलत प्रवृत्ति हो ।’

यसैबीच काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सोमबार १३ वटा सामुदायिक विद्यालयले वहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ । यसमध्ये ७ वटामा विभाग पुगेको थियो भने ६ वटाले आफैँ बन्द गराएका थिए । यसरी ताला लगाइएका विद्यालयहरूमा जुद्धोदय माध्यमिक विद्यालय (जेपी स्कुल), ठमेलका ४६ वटा सटर छन् । यी स्थानमा रेस्टुरेन्टसहितका व्यापारिक क्रियाकलाप हुँदै आएका थिए ।

यस्तै, रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वरका ११ वटा, कन्या मन्दिर माध्यमिक विद्यालय, न्होखाका ३६ वटा, मंगलादेवी माध्यमिक विद्यालय, गुह्येश्वरीका १२ वटा, जनकल्याण माध्यमिक विद्यालय, बौद्धका १४ वटा, पशुपति मित्र माध्यमिक विद्यालय, चावहिलका ३६ वटा र महेन्द्र माध्यमिक विद्यालय बौद्धका २० वटा सटरमा ताला लगाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो ।

यी हुन्  ३६ विद्यालय
१.शिवपुरी मावि

२. पद्मकन्या आधारभूत विद्यालय

३. बाँसबारी मावि

४. धुम्रबराह मावि
५. महेन्द्र राष्ट्रिय मावि
६. महेन्द्रबौद्ध मावि
७. जनकल्याण मावि
८. पशुपतिमित्र मावि
९. मंगलादेवी मावि
१०.गुह्ेश्वरी मावि
११. रुद्रमति आधारभूत विद्यालय
१२. रत्नराज्य मावि
१३.जनप्रभात मावि
१४.जनपथ मावि
१५.जनविकास मावि
१६.कुलेश्वर आवासीय मावि
१७. शीतला मावि
१८.जनजागृति ज्ञानरश्मि मावि
१९.जुद्धोदय (जेपी) मावि
२०.बालविकास आधारभूत विद्यालय
२१. नेपाल राष्ट्रिय आधारभूत विद्यालय
२२.शान्तिनिकुञ्ज मावि
२३. परोपकार मावि
२४. आजाद आधारभूत विद्यालय
२५. सबलद्यौला आधारभूत विद्यालय
२६. हिमालयन मावि
२७. विद्योदय आधारभूत विद्यालय
२८.कन्यामन्दिर मावि
२९.शान्ति विद्यागृह मावि
३०. महांकाल मावि
३१. सहिदशुक्र मावि
३२. पद्मोदय मावि
३३. विजय स्मारक मावि
३४.पद्मकन्या विद्याश्रम मावि
३५.ज्ञानविकास आधारभूत विद्यालय
३६. नेपाल युवक मावि

प्रतिक्रिया दिनुहोस्