बैंकर पक्राउ प्रतिशोध कि कैफियत !



काठमाडौं

‘पहिला सुन अनि थुन’ भन्दै बैंकरहरूले सरकारको ध्यानाकर्षण गराउँदै आए पनि बैंकरहरू पक्राउ पर्ने क्रम भने रोकिएको छैन । पछिल्लोपटक तत्कालीन सेन्चुरी कमर्सियल बैंकका अध्यक्षसहित ९ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ऋण प्रवाहमा कैफियत गरेको आरोपमा पक्राउ गरेको छ । सीआईबीले सेन्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित सञ्चालक समितिका सदस्यहरूलाई पक्राउ गरेको हो ।

यसअघि गत फागुनमा तत्कालीन सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने, पूर्वसीईओ तुलसी गौतमसहितका १० जना कर्मचारीलाई पनि सीआईबीले पक्राउ गरेको थियो । कर्मचारी पक्राउ परेपछि बैंक तथा वित्तीय संस्थाका छाता संगठनले बैंकरको मानसिक तथा सामाजिक अवस्थामा गम्भीर असर पुग्ने काम भएको भन्दै विरोध जनाएका थिए । बैंकर्सले बैंकिङ कसुरसँग सम्बन्धित अनुसन्धान प्रक्रियामा ‘पहिला सुन अनि थुन’ हुनुपर्नेमा ‘पहिले थुन अनि सुनको’ प्रक्रियाले बढावा पाएको बताएका थिए । साथै त्यसमा नेपाल राष्ट्र बैंकले समेत असन्तुष्टि जनाएको थियो । गत चैतमा उनीहरू हाजिर जमानीमा छुटेका थिए ।

अहिले सोही प्रकरणमा सीआईबीले तत्कालीन अध्यक्ष श्रेष्ठसहित सञ्चालक समितिका सदस्यहरू सुनिलकुमार न्यौपाने, प्राडा गीताभक्त प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ र सीडीए सेक्सन प्रमुख शिवगोपाल रिसाललाई सोमबार पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो । सीआईबीले नेपाल राष्ट्र बैंकसँगको समन्वय बैंक सञ्चालकहरू पक्राउ गरेको दाबी गरे पनि राष्ट्र बैंक अधिकारीहरू यसमा खुल्न चाहँदैनन् । नेपाल समाचारपत्रसँगको अनौपचारिक कुराकानीमा भन्छन्– ‘नियमक निकायले वित्तीय अपराधका विषयमा अनुसन्धान नगर भन्न मिलेन । अनुसन्धान गर्न सहमति दिँदा वित्तीय क्षेत्रमा आतंक नै मच्चिएको छ ।’

एसपी बोगटीका अनुसार देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंसँगको मिलेमतोमा कम्पनीमा कमसल धितो राखेर २ अर्ब ११ करोडभन्दा बढी रकम प्रवाह गरेको अभियोग सीआईबीले पक्राउ गरेको हो ।
चौलागाईंले पूजा मार्केटिङ, पूजा ट्रेडिङ एन्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिस्टिलरी प्रालिलगायतका कम्पनीका नाममा १ अर्ब १४ करोड २३ लाख ८४ हजार २ सय ५८ रुपियाँ धितोको मूल्यांकन गरेर २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७ सय ३१ रुपियाँ अर्थात् धितोको मूल्यांकनभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपियाँ अधिक कर्जा प्रवाह भएको प्रहरीको दाबी छ । अहिले सो ऋणको साँवा ब्याज गरी ४ अर्ब रुपियाँभन्दा माथि पुगेको छ ।

हाल देउराली बचत तथा ऋण सहकारी संस्थामा करोडौं रुपियाँ अपचलन गरेको आरोपमा चौलागार्इं करागारमा छन् । ३ सय ७० जनाभन्दा बढी बचतकर्ताको उजुरीमा प्रहरीले अध्यक्ष चौलागाईंसहित संस्थाका म्यानेजर दीपक केसी र ऋण समितिका सदस्य राजेन्द्र खत्रीलाई पक्राउ परेका थिए । उहाँले सहकारीका बचतकर्ताको रकमले जग्गा खरिद गर्ने र सोही जग्गा बैंकमा धितो राखेर आफ्ना कम्पनीको नाममा ऋण लिने गर्नुभएको थियो । चौलागाईंले सहकारीको रकम हिनामिना गरी ६५ स्थानमा १ सय ३ रोपनी जग्गा खरिद गरेको प्रहरीको दाबी छ ।

यस विषयमा पक्राउ परेका सीईओद्वय मनोज न्यौपाने, तुलसी गौतम कर्मचारीहरू राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेस प्रधान र सुनिल बस्नेत हाजिर जमानीमा छुटेपछि सञ्चालकहरूलाई पक्राउ गरिएको छ । ‘ऋण प्रवाह सीधै सञ्चालक समितिले गर्दैन ।

कर्मचारीहरूले फिल्ड हेर्ने, मूल्यांकन गर्नेलगायतका प्रक्रिया पूरा गरेपछि मात्रै ठूलो रकमको ऋण मात्रै सञ्चालक समितिमा पेस गरिन्छ, कर्मचारीहरू पनि प्रत्यक्ष सहभागी हुन्छन् । यसमा कर्मचारीहरू छुटेपछि सञ्चालकहरू समातिनुको पछाडिको रहस्य फरक हुन सक्छ ।’– स्रोतले नेपाल समाचारपत्रसँग भन्यो ।
सेन्चुरी बैंकका अध्यक्ष श्रेष्ठ गृहमन्त्री रवि लामिछाने चितवन–२ बाट पहिलोपटक चुनाव लड्दाका प्रतिस्पर्धी उमेश श्रेष्ठका भाइ हुनुहुन्छ । शिक्षा, कृषि, जलविद्युत्, पर्यटन क्षेत्रमा सक्रिय रहेका श्रेष्ठको सामाजिक छवि धमिल्याउन प्रतिशोध साँधेको पनि हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्