रक्षामन्त्री उप्रेतीद्वारा सैनिक हवाई सेवाको निरीक्षण



काठमाडौँ।

रक्षामन्त्री हरि प्रसाद उप्रेतीले गौचरस्थित सैनिक हवाई सेवाअन्तर्गत मध्य एयर वेश, विशिष्ट उडान सेवा तथा हवाई प्राविधिक सेवाको निरीक्षण भ्रमण गरेका छन् । उनलाई मध्य एयर वेशमा प्रधान सेनापति प्रभुराम शर्माले स्वागत गाएका थिए।

रक्षा मन्त्रीलाई सैनिक हवाई सेवा प्रमुख, पाइलट उपरथी आशिष नरसिंह राणाले सैनिक हवाई सेवाको वस्तुस्थिति लगायत सैनिक हवाई सेवाका विविध गतिविधिबारे जानकारी गराएको नेपाली सेनाले जनाएको छ।

सोही अवसरमा रक्षा मन्त्रीले मध्य एयर वेशमा रहेका सैनिक हवाई साधन तथा उपकरणहरूको अवलोकन गरेका थिए । त्यस अवसरमा रक्षा मन्त्री उप्रेतीले सकलदर्जालाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले सैनिक हवाई सेवा लगायत अन्तरगतका युनिटहरूबाट विपद् उद्धार, विकास निर्माण लगायतका क्षेत्रहरूमा सम्पादन भएका कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा उच्च मनोबलका साथ कार्य गर्न निर्देशन दिए ।

कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारीहरू लगायत सैनिक हवाई सेवाका सकलदर्जाको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्