नेपाली फुटबल संकटमा

राम्रा खेलाडीलाई स्वदेशमै टिकाउनेतर्फ राज्यको ध्यान खै ?

लिगहरू समयमै सञ्चालन गर्न आवश्यक



काठमाडौं ।

शुक्रबार नेपाली फुटबल टोलीले विश्वकप २०२६ छनौटअन्तर्गत खेलमा यूएईसँग ४–० को हार बेहोर्‍यो। अब, एक खेल यमनसँग खेल्न बाँकी छ तर, नेपालले ५ खेलमा १८ गोल बेहोर्दा विपक्षीको पोस्टमा एक गोल पनि गर्न सकेको छैन। यस छनोटमा नेपालले पाँचौंपटक लगातार हार बेहोरीसकेको छ।

नेपाली टोलीका अनुभवी खेलाडी विदेशमा भविष्य खोज्न थालेपछि नेपाली फुटबल टोलीको यो दुर्गति भएको हो। यसले नेपाली फुटबल र समर्थकलाई निरास मात्रै तुल्याएको छैन, नेपाली फुटबललाई नै संकटमा पुर्‍याउँदैछ।

नेपालका खेलाडी विदेश पलायन हुनु कुनै नौलो विषय भने होेइन। देशमा रोजगारी नभएर या अवसर नभएर कतिपय युवाहरू विदेसिएका छन्। यस्तो परिवेशमा खेलाडीले पनि विदेशमा भविष्य खोज्नुलाई अनौठो मान्नु पर्दैन । तर, पदक विजेता नेपाली खेलाडीसमेत विदेश पलायन हुने अवस्था आउनु भनेको राज्यको कमजोरीले नै हो । राम्रा खेलाडीलाई स्वदेशमै टिकाउन अहिलेसम्म राज्यले कुनै कदम चालेको देखिँदैन ।

खेलाडीले बताएअनुसार नेपालमा खेलेर जीविका चलाउन सक्ने वातावरण नै छैन। अर्को नेपाली फुटबलले लगातार असफलता पाइरहेको छ। त्यसमाथि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि नेपालमा फुटबल फस्टाउने वातावरण सिर्जना पनि गर्न सकेको छैन। बी डिभिजन लिग हुँदैन, ए डिभिजन लिग गर्न पनि साइत कुर्नुपर्ने र प्रतियोगिताहरू पनि सञ्चालन नहुनुले खेलाडी बेरोजगार बन्ने अवस्था छ। आर्थिक कमजोरीका कारण क्लबहरूले खेलाडीलाई पाल्न पनि सक्दैनन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले भन्नुभएको कुरा पनि सान्दर्भिक छ कि शून्य दिमाग शैतानको घर हुन्छ। उहाँले बताउनुभयो- ‘खेलाडीलाई खेलमा व्यस्त राख्न सकेको भए उनीहरूको दिमागमा अर्को कुरा चल्दैन । खेल भइरहेमा उनीहरू यसैमा व्यस्त हुन्छन् । नेपालमा नियमित खेल हुँदैन, अनि खेलाडी यतिकै बस्नुपर्ने हुन्छ । यो भनेको उनीहरूको दिमागलाई शून्य पार्नु हो । अनि दिमागमा के के चल्छ र अन्तिममा विदेशिनु नै एक मात्र विकल्प ठान्छन् ।’

नेपालमै ५ वर्षअघि भएको १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेको नेपाली फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ अहिले अस्ट्रेलियामा हुनुहुन्छ। उहाँले नेपालमा अवसर नभएको बताउनुभएको थियो। यही विजेता टोलीका मुख्य स्ट्राइकर विमल घर्तीमगर, सेशाङ्ग आङ्देम्बे पनि अस्ट्रेलियामा गएर उतै क्लबबाट खेलिरहनुभएको छ। यही विजेता टोलीका अन्य खेलाडी दिनेश राजवंशी, सुमन अर्याल, मिक्चेन तामाङ, अभिषेक रिजाल, हेमन्त थापामगर, तेज तामाङ र रेजिन सुब्बाले पनि अस्ट्रेलिया गन्तव्य रोज्नुभएको छ। यी उत्कृष्ट खेलाडीको स्थानमा नयाँ खेलाडीले खेल्दा नेपालले राम्रो नतिजा निकाल्ने सोच्न पनि सकिँदैन ।

त्यसैले राम्रा खेलाडीहरूलाई स्वदेशमै टिकाउन खेलप्रति उनीहरूको समर्पणलाई आत्मसात् गर्दै सरोकारवाला निकायका साथै राज्यले बेलैमा ध्यान दिन हतार भइसकेको छ। एन्फाले पनि लिगहरू समयमै सञ्चालन गरेर खेलाडीहरूको मनोबललाई उच्च पार्ने काम गर्नु आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्