मकवानपुरका स्थानीय तहलाई ४ अर्ब ४० करोड



हेटौंडा।

संघीय सरकारबाट मकवानपुरका स्थानीय तहहरुले आर्थिक वर्ष २०८१÷०८२ मा ४ अर्ब ४० करोड ७२ लाख बजेट पाउने भएका छन् ।

मकवानपुरका स्थानीय तहलाई अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत संघीय सरकारले चालुतर्फ ३ अर्ब ९७ करोड ९१ लाख र पुँजीगत ४२ करोड ८१ लाख बजेट पठाउने भएको हो । हेटौंडा उपमहानगरपालिकाले सबभन्दा बढी १ अर्ब १६ करोड ५३ लाख बजेट पाउने भएको छ । हेटौंडाले संघबाट समानीकरण अनुदान २९ करोड ९८ लाख, सशर्त अनुदान ८१ करोड ७५ लाख, १ करोड ३० लाख विशेष अनुदान र ३ करोड ५० लाख समपुरक अनुदान पाउने भएको हो ।

सबभन्दा कम इन्द्रसरोवर गाउँपालिकाले २२ करोड ८० लाख पाउने भएको छ । इन्द्रसरोवरले वित्तीय समानीकरणतर्फ ७ करोड २६ लाख, सशर्त अनुदान १२ करोड ८४ लाख, विशेष अनुदान १ करोड २० लाख र समपुरक अनुदान १ करोड ५० लाख बजेट पाउने भएको हो । थाहा नगरपालिकाले ४४ करोड ९० लाख बजेट पाएको छ । थाहाले समानीकरण अनुदान १२ करोड २८ लाख, सशर्त अनुदान ३० करोड ६२ लाख, विशेष अनुदान र समपुरक अनुदान १/१ करोड पाउने भएको हो ।

बकैया गाउँपालिकाले ४९ करोड ३१ लाख बजेट पाएको छ । बकैयाले वित्तीय समानीकरण अनुदान ११ करोड ९१ लाख, सशर्त अनुदान ३४ करोड ५५ लाख, समपुरक अनुदान २ करोड ८५ लाख रुपियाँ पाएको छ । कैलाश गाउँपालिकाले २७ करोड ३७ लाख बजेट पाएको छ । कैलाशले वित्तीय समानीकरण अनुदान ९ करोड ४ लाख, सशर्त अनुदान १७ करोड ६८ लाख र समपुरक अनुदान ६५ लाख पाएको छ ।

वागमती गाउँपालिकाले ४२ करोड ५ लाख पाएको छ । वागमतीले वित्तीय समानीकरण अनुदान १० करोड ४९ लाख, सशर्त अनुदान ३१ करोड १६ लाख, विशेष अनुदान ५० लाख पाएको छ भने समपुरक अनुदानबाट वागमती गाउँपालिका वञ्चित भएको छ । भीमफेदी गाउँपालिकाले ३९ करोड ५ लाख बजेट पाएको छ । समानीकरणतर्फ भीमफेदीले ९ करोड ९२ लाख, सशर्त अनुदान २६ करोड ७३ लाख, विशेष अनुदान १ करोड र समपुरक अनुदान १ करोड ४० लाख पाएको छ ।

मकवानपुरगढी गाउँपालिकाले ३४ करोड ५ लाख बजेट पाएको छ । मकवानपुरगढीले वित्तीय समानीकरण अनुदान ९ करोड ८२ लाख, सशर्त अनुदान २३ करोड ७३ लाख, विशेष अनुदान ५० लाख पाएको छ । मनहरी गाउँपालिकाले ३५ करोड २८ लाख पाएको छ ।

मनहरीले समानीकरण अनुदान १२ करोड ३७ लाख, सशर्त अनुदान २१ करोड ९१ लाख र समपुरक अनुदान १ करोड पाएको छ । राक्सिराङ गाउँपालिकाले २९ करोड ३८ लाख पाएको छ । राक्सिराङले समानीकरण अनुदान ९ करोड ४४ लाख पाएको छ भने सशर्त अनुदान १९ करोड ४४ लाख पाएको छ । विशेष अनुदान ५० लाख पाएको राक्सिराङले समपुरक अनुदान पाएको छैन ।

वागमतीमा ‘विपद् सुरक्षा सँस्कृति’

वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले विपद् न्यूनीकरणका लागि प्रदेश सरकारले विपद् सुरक्षा सँस्कृति निर्माण गर्न लागेको जानकारी दिनुभएको छ । उहाँले आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेटमा विशेष कार्यक्रम निर्माण गरेर प्रदेशका १३ जिल्लाका १३ विद्यालयमा ‘सुरक्षा सँस्कृति’ अध्ययन गराउने तयारी भइरहेको बताउनुभएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ स्थित बन्द कपडा उद्योगपरिसरको क्षेत्रमा विपद् प्रतिकार्यका लागि गरिएको हातेमालो–६ नामक कृत्रिम अभ्यासमा मन्त्री श्रेष्ठले विपद् व्यवस्थापन तथा विपद् जोखिम न्यूनीकरणजस्ता कार्यमा जनस्तरबाट अभियान सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशका ११ पालिकामा सञ्चालनमा रहेको विपद् स्वयम्सेवक निर्माण र परिचालन कार्यक्रमलाई अब अभियानका रुपमा बढाएर टोलटोलसम्म लैजानुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । मन्त्री श्रेष्ठले तीन करोड बराबरको विपद् व्यवस्थापन सामग्री खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै ती सामग्री प्रदेशका तीन स्थानमा रहेका गोदामघरमा भण्डारण गरिने र विपद्को समयमा आवश्यकताअनुसार सुरक्षा निकायमार्फत प्रभावकारीढंगले परिचालन गरिने बताउनुभयो ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले विपद् जोखिम न्यूनीकरणका लागि सबै निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।कृत्रिम अभ्यास प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्काउट, रेडक्रस, हेटौंडा उपमहानगरपालिकाको वारुणयन्त्र टिमले संयुक्तरुपमा भुकम्प र आगलागीसम्बन्धि कृत्रिम अभ्यास गरेका थिए ।

सो क्रममा सम्भावित दुर्घटना, खोज, सुरक्षित उद्धार प्रक्रिया, प्राथमिक उपचार, जनप्रतिनिधि तथा सरोकारवाला निकायको भूमिका र विपद्पछिको अवस्था, एकद्वार प्रणालीबाट राहत वितरण र पुनस्र्थापना प्रक्रियाबारे डेमोमार्फत नाटकीयरुपमा प्रस्तुत गरिएको थियो । कार्यक्रममा वागमती प्रदेशका तीन वटै सुरक्षा निकायका प्रमुखलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्