नेपालमय बनेको डल्लासको रंगशाला



काठमाडौं

टी २० विश्वकपअन्तर्गत नेपालले पहिलो खेलमा हार बेहोरेको छ । टेक्सासको डल्लासमा भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले ६ विकेटले हराएको थियो । डल्लासको ग्रान्ड प्राइरि रंंगशाला झण्डै नेपाली समर्थककै बाक्लो उपस्थित थियो । नेपाली समर्थकले त्रिवि मैदानमा जस्तै त्यहाँ पनि उल्लासमय वातावरण बनाए । झण्डै नेपालमै खेलिरहेको भान दिएको थियो । तर, पनि नेपालले जित भने निकाल्न सकेन ।

डल्लासमा करिब १५ हजार नेपालीको बसोबास रहेको त्यहाँबाट जनाएको छ । झण्डै आधा जतिको संख्या डल्लास रंगशालामा पुगेको देखिन्छ । रंगशालामा नीलो र रातो रंगको जर्सीले पुरै रंगशाला ढाकिएको थियो । नेपाली जर्सी नलगाएको शायदै कोही समर्थक होलान् । नेपाली समर्थकको यस्तो लहर देखेर भारतीय संचार माध्यम समेत छक्क परेको थियो ।

खेल शुरु भएदेखि नै रंगशालामा नेपाली समर्थकको आवाज गुंजिएको थियो । ब्याटिङमा नेपाली खेलाडीले बाउन्ड्री हान्दा आवाजको गति बढ्दै गएको थियो । तर, विकेट पतन हुँदा भने रंगशालामा कोही नभए जस्तो शून्य हुन्थ्यो । कमेन्टेटरहरूले पनि यो खेल काठमाडौंमा खेलिरहेको हो कि अमेरिकामा खेलिरहेको बुझ्नै नसकेको बताएका थिए ।

यस्तै, खेलपछि डच टोलीका खेलाडी लोगान भान बीकले बताए—हामीले ठम्याउनै सकेनौं कि हामी डल्लासमा छौ कि नेपालमा छौं ।

खेल पानी परेर पनि त्यति मजा भएन । मैदान भिजेको अवस्थामा पहिले ब्याटिङ गरेको नेपालले केवल १ सय ६ रन बनायो । यो त्यही पिच हो, जहाँ अमेरिका र क्यानडाबीचको खेलमा रन बर्सेको थियो । जुन खेलमा अमेरिकाले क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य केवल २ विकेटको नोक्सानीमा भेटाएको थियो ।
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा भने यस्तो देख्न सकिएन । पानीले पहिल्यै मैदान गिलो बनाइसकेको थियो । टस हारेर नेपालले ब्याटिङ रोज्नु प¥यो र नेपाली ब्याटरहरु शुरुदेखि नै रनको लागि संघर्षरतमा रहे ।

नेपालविरुद्ध डच टोलीका स्पिनर टिम प्रिन्गलले मुख्यरूपमा घातक बलिङ गरे । उनले पहिले आसिफ शेखलाई आउट गरे । त्यसपछि उनले अनिल साहको विकेट लिए । कप्तान रोहित पौडेलको विकेट पनि उनले नै लिए । रोहितको विकेट पतनपछि नेपाल ७ विकेटको क्षतिमा ८४ रनमा पुगेको थियो । करण केसीले २ छक्का हानेर नेपालको स्कोर बढाए नत्र भने नेपालको १ सय रन पनि पार गर्ने संभावना नै थिएन ।

आउट गर्न अवसर गुमाएको

नेपालले खेलमा तीन पटक विपक्षी खेलाडीलाई आउट गर्न चुकेका थिए । यो एउटा कारण पनि नेपालको हार तय भएको थियो । ओदाउद १६ रनमा आउट हुने थिए । अविनाश बोहराले बल राम्ररी लिन नसक्दा रनआउट गर्न सकेनन् । यो एउटा जीवनदान पाएका ओदाउदले ५४ रन बनाएका थिए ।
सोमपाल कामीले विक्रमजीत सिंहलाई १९ रनमा क्याच ड्रप गरेका थिए । यस्तै कप्तान रोहित पौडेलले ओदाउडको क्याच लिन सकेनन् । उनी त्यतिबेला ४० रनमा थिए । रोहितले बताए—यो क्याच लिएको भए खेल केही भिन्न हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्