टी-२० विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुवात



काठमाडौं ।

अस्ट्रेलियाले जारी टी-२० विश्वकपमा विजयी सुरुवात गरेको छ। बिहीबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो। अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउदै १२५ रन मात्र बनाएको थियो।

ओमानका लागि आयान खानले ३६ रन बनाएका थिए भने मेहरान खानले २७ रन बनाएका थिए। अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ३ विकेट लिएका थिए भने नाथन इलिस, मिचेल स्टार्क र एडम जाम्पाले २-२ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ६७ रन बनाएका थिए भने डेभिड वार्नरले ५६ रन बनाएका थिए । त्यसै गरी ओमानका बलर मेहरान खानले २ विकेट लिएका थिए । समूह बि अन्तर्गत अस्ट्रेलियाले यो जितपछि महत्त्वपूर्ण २ अङ्क हासिल गरेको छ।

त्यस्तै ओमानले भने लगातार दोस्रो हार बेहोरेको छ। अब अस्ट्रेलियाले अर्को खेल जुन ८ मा इङल्याण्डविरुद्ध खेल्ने छ भने ओमानले अर्को खेल जुन ९ मा स्कटल्याण्डविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्