नेकपा एकीकृत समाजवादी क्षयीकरणको बाटोमा



काठमाडौं ।

गत आम निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी क्षयीकरण हुँदै जाँदा थप कमजोर बनेको छ। करिब ३ वर्षअघि नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट फुटेर दर्ता भएको नेकपा एसका नेताहरू धमाधम पुरानै दल फर्किएसँगै उक्त दल ओरालो यात्रामा लागेको हो।

हालसम्म ४१ केन्द्रीय सदस्य र १९ जिल्लाका अध्यक्ष एमालेमा फर्किएको तथ्यांक सम्बन्धित पार्टीले राखेका छन्। पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य र जिल्ला नेतृत्व नै एमालेमा गएपछि पार्टीभित्र उक्त विषयमा गम्भीर बहस शुरू भएको छ। पार्टी केन्द्रीय समितिको बैठकमा अधिकांश नेताहरूले आफ्नो पार्टीका केन्द्रीय र जिल्ला तहका नेताहरू को–को कहाँ छन् र को कहाँ गए भनेर तथ्यांकसमेत राखिएको छैन।

पछिल्लो समय नेकपा एसका कतिपय नेताहरू निस्क्रिय बसेका छन् भने केहीले राजीनामा दिएर पार्टीबाट अलग्गिएका छन् । एमालेमा फर्कनेहरूको संख्या एमालेसँग सुरक्षित छ । नेकपा एस निर्माणदेखि पछिल्लो महिनासम्म केन्द्रीय नेता र जिल्ला कमिटी अध्यक्षहरू गरी पाँच दर्जन नेताहरू पुरानै दल एमालेमा समाहित भएको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।

‘हालसम्म वरिष्ठ नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने, सचिव भागवत विश्वासीसहित ४० भन्दा बढी केन्द्रीय नेताहरू र २० जति जिल्ला अध्यक्ष एमालेमा आइसक्नुभएको छ’ –ज्ञवालीले भन्नुभयो । तर, एमालेमा फर्किएका नेताहरूको तथ्यांक नेकपा एसको रेकर्डमा समेत देखिन्छ । कतिपय नेता कार्यकर्ता एमालेमा फर्किएर पछि दोस्रो दर्जाको व्यवहार हुने डरले निस्क्रिय बसेका छन् । केन्द्रीय सदस्य रिक्त रहेको ठाउँमा केही पूर्ति गरिएको छ भने जिल्ला अध्यक्षले छाडेका ठाउँमा अरूलाई जिम्मा दिइएको छ।

साढे ३ सय सदस्यीय केन्द्रीय कमिटीको बैठकमा दुई सयजति पनि सहभागी हुन नसकेपछि नेकपा एसको बैठकमा नेताहरूले बाँकी केन्द्रीय सदस्य कहाँ गए ? छाडेर जानेहरूको विवरण अद्यावधिक किन गरिएन भनेर प्रश्न उठाएका छन्। यद्यपि, महाधिवेशनपछि पार्टीमा नयाँ ऊर्जा आउने र अहिलेको कतिपयमा देखिएको निराशा अन्त्य हुने नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिडाले दाबी गर्नुभयो ।

‘केही साथीहरू बरालिनुभएको सत्य हो’, उहाँले भन्नुभयो– ‘तर, नेकपा एसका साथीहरू बरालिनुपर्ने अवस्था छैन । आगामी महाधिवेशनमा पार्टीलाई नयाँ ऊर्जाका साथ उचाई दिने गरी लाग्छौं । धेरै नेताहरू एमालेमै फर्किए भन्ने कुरा हल्ला मात्रै हो । उहाँहरू झनै बिचल्ली अवस्थामा पुग्नुभएको छ । अहिले पश्चात्ताप गर्दै के गरौं कसो गरौंको अवस्थामा पुग्नुभएको छ । केही साथीहरू बलालिएरको सत्य हो ।’

एमाले पर्टी विभाजन र एकीकृत समाजवादी गठनलगत्तै माधव नेपालका पक्षमा लागेका कतिपय नेताहरू एमाले फर्किएर सांसद जितेका छन् भने एमालेमा फर्किएका केही नेताहरू गुमनाम छन् । सत्ताको मुख्य साझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीको डिजाइनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) सँगै नेकपा एस पनि विभाजन गर्न खोजिएको थियो । तर, राजनीतिक दलसम्बन्धी ऐनको ‘विभाजनबाट बनेको दल ५ वर्षभित्र विभाजित हुन नसक्ने’ दफाका कारण उक्त दल फुटबाट जोगिएको थियो ।

यद्यपि, पार्टीका शीर्ष नेताहरू माधव नेपाल र झलनाख खनाल पक्षबीच राजनीतिक रणनीतिहरूसमेत फरक देखिएका छन्। पार्टी सत्तामा बसे पनि अध्यक्ष माधव नेपालसहित एका थरी नेताहरू प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग निकट देखिएका छन् भने झलनाथ खनाल पक्ष सत्ताधारी दल निकट उभिएका छन् ।

नेकपा एसले असार अन्तिम साता महाधिवेशनको मिति तोकिसकेर तयारी अघि बढाएको छ। २०७९ को निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेको एसको जनमत यो अवधिमा थप कमजोर बनेको इलाम र बझाङको उपनिर्वाचनले पनि पुष्टि गरिसकेको छ। यो अवस्थामा थप निराशा चिर्न महाधिवेशनले केही नयाँ नीति र कार्यदिशा लिने नेताहरूको दाबी छ।

नेकपा एसका महासचिव घनश्याम भुसालले असारको महाधिवेशनबाट आफ्नो पार्टीले नेपालको कम्युनिस्ट आन्दोलन र समाजवादी कार्यदिशामा नयाँ अध्याय थाल्ने दाबी गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्