परराष्ट्र नीति राष्ट्रको नीति हो, राजनीतिक दलहरुबीच एकरुपता हुनु जरुरी छ : अपेक्षा शाह



काठमाडौँ ।

 नेपालको हित र प्राथमिकता केन्द्रमा राखेर परराष्ट्र नीतिमा राष्ट्रिय सहमति हुनु पर्नेमा अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाता अपेक्षा शाहले जोड दिएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, अन्तर्राष्ट्रिय सम्बन्ध विभागद्वारा आयोजित ‘नेपालको कूटनीति र परराष्ट्र नीति’ विषयक बहस कार्यक्रमलाई आइतबार  सम्बोधन गर्दै शाहले स्वतन्त्र विश्लेषकको रुपमा यस्तो विचार प्रस्तुत गरेकी हुन् ।

‘परराष्ट्र नीति राष्ट्रको नीति हो, यसकारण राजनीतिक दलहरुबीच यस विषयमा एकरुपता हुनु जरुरी छ । परराष्ट्र नीतिमा राष्ट्रिय सहमति आवश्यक छ,’ अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयका उपप्राध्यापक शाहले भनिन् ।

परराष्ट्र नीति राष्ट्रिय प्राथमिकताको सवाल हुनु पर्नेमा राजनीतिक दलहरुबीच फरक–फरक धारणा रहेको पाइन्छ । फरक, फरक दल सरकारबाट जाँदा फरक, फरक नीति बन्नु देशको लागि हितकर हुँदैन, उनले भनिन् । ‘यसैले राजनीतिक दलहरु सहकार्य गर्दै एकै बिन्दुमा उभिनु जरुरी भएको छ ।’

विश्वको हालको बद्लिदो भूराजनीतिमा नेपालको स्थान एकदमै महत्त्वपूर्ण रहेको र यस परिस्थितिमा नेपालले यथेष्ट लाभ लिन सक्नु पर्ने शाहको भनाइ थियो ।

कार्यक्रमको उद्देश्य प्रकाश पार्दै राप्रपाका प्रवक्ता एवं अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख सगुन सुन्दर लावतीले भने, ‘सफल कुटनीतिको विरासत र विगत मनन् गर्दै, आजको बहुध्रुवीय विश्वमा नेपालले आफ्नो प्राथमिकता तय गर्नु पर्दछ, परराष्ट्र नीति र कूटनीतिक सम्बन्ध सुदृढ गर्नु पर्दछ । रणनीतिक साझेदारी र लाभको सवाल अगाडि बढाउनु पर्दछ ।’

कार्यपत्र प्रस्तुत गर्ने क्रममा उपप्राध्यापक शाहले, नेपालको परराष्ट्र नीतिको इतिहासदेखि वर्तमान सम्मको विकासक्रमको मिहिन विश्लेषण गर्दै, विद्यमान विश्व र क्षेत्रीय भूराजनीतिको सन्दर्भमा नेपाल कसरी सन्तुलित र रणनीतिक रुपमा अघि बढ्न सक्दछ भनेर सिफारीसहरु पेश गरिन् ।

प्रतिक्रिया दिनुहोस्