डा. महतको प्रश्न- विदेशबाट आउने आलु-प्याजको भ्याट हटाएर स्वदेशी उत्पादन कसरी संरक्षण हुन्छ ?



काठमाडौँ । 

पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले बजेट समयसापेक्ष नभएकाले कार्यान्वयनमा आशंका रहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै डा.महतले ऋणको भार बढिरहेका बेला ९९ अर्ब  आन्तरिक ऋण लिने निर्णय लिएको भन्दै आलोचना गरेका हुन् ।

उनले भने- ‘१८ खर्ब ६० अर्ब बजेट पुर्‍याउन अर्थमन्त्री वर्षमान पुनजीले ९९ अर्ब आन्तरिक ऋण लिने निर्णय लिनु भयो । यो रकम सानो रकम होइन । उत्पादनशील क्षेत्रमा खर्च नगर्ने गलत स्थानमा लगानी गर्दा राजश्व वृद्धि हुँदैन ।’

बजेटमाथि टिप्पणी गर्दै उनले उत्पादन र रोजगारी बढे मात्रै राजश्व वृद्धि हुने भन्दै ऋण तिर्न नसक्ने अवस्था सृजना हुनेमा आशंका व्यक्त गरे।

उनले भौतिक मन्त्रालयलाई  १ खर्ब ३४ अर्बबाट १ खर्ब ५० अर्ब पुर्‍याएको बताउँदै  सहरी विकास योजनामा केवल ६६ अर्ब ९२ करोड बनाएको उल्लेख गर्दै मन्त्रालयगत रुपमा बजेटको विभाजन असमान रहेको बताए ।

साथै उनले अर्थमन्त्रीले आलु, प्याज र स्याउसहितका फलफूलमाथि भन्सारमा लगाएको भ्याट हटाएर कसरी स्वदेशी उत्पादनको संरक्षण हुन्छ भन्ने प्रश्न गरेका थिए । उनले अर्थमन्त्रीले सिधै झुटो बोलेको बताउँदै यसले विदेशी उत्पादन नेपाली बजारमा सस्तो हुने र नेपाली उत्पादनले बजार नपाउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्