अबको हिसाब किताब प्रधानमन्त्रीसँग लिन्छौँ- गगन थापा



काठमाडौँ ।

 नेपाली कांग्रेस महामन्त्री गगन थापाले अबको हिसाब किताब प्रधानमन्त्रीसँग नै हुने बताएका छन् ।

यस अघि गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधनका क्रममा बोलेका विषय उठाउँदै महामन्त्री थापाले अब आफूहरुको हिसाब किताब गृहमन्त्रीसँग नभएर प्रधानमन्त्रीसँग हुने बताएका हुन् ।

गृहमन्त्रीले संसदको गरिमा नराखेको बताउँदै सभामुखको समेत ध्यानाकर्षण गराएका छन् । गृहमन्त्रीले संसदमा विदेशी एसेट रहेको भन्ने वाक्य संवेदनशील रहेको बताउँदै यो भनाइलाई कांग्रेसले सामान्य रुपमा नलिने स्पष्ट गरे ।

उनले संसदमा बोलिएका विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्ने बताउँदै भनेका छन्- ‘कि त प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो कि गृहमन्त्रीले बोलेका कुरामा मेरो पनि सहमति छ, हैन भने संसदको रेकर्डबाट हटाउँछु भनेर भन्न सक्नु पर्यो । हिसाब किताब लिन्छौं र यही संसदमा लिन्छौं ।’

उनले सहकारी ठगी प्रकरणमा गठित संसदीय छानबिन समितिलाई स्वतन्त्ररुपमा काम गर्न दिनुपर्ने बताउँदै अब संसदमा आफुहरुले जनसरोकारका विषय उठाउँदै बजेटको छलफलमा ध्यानकेन्द्रित गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्