पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन शुरू



काठमाडौं ।

दक्षिण एसियाली पत्रकारहरूबीच मातृभाषाको पत्रकारिताको विकासको लागि ज्ञान र अनुभव आदानप्रदान गर्ने उद्देश्यले शनिबार राजधानीमा पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गरिएको छ।

नेपालभाषाको पत्रकारिता सय वर्ष पुगेको सन्दर्भमा नेवाः पत्रकार राष्ट्रिय दबूले सार्क जर्नालिष्ट फोरम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सहकार्यमा सो सम्मेलन आयोजना गरिएको हो ।

पाटन निवासी धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले वि.सं १९८२ मा (नेपाल संवत् १०४५ बुद्धजयन्तीको दिन) भारतको कलकत्ताबाट बुद्ध धर्म र पछि बुद्ध धर्म व नेपालभाषा नामकरण गरी पत्रिका प्रकाशन गर्नुभएको थियो। सोही सन्दर्भलाई लिएर वर्षभरि विविध कार्यक्रम आयोजना गरी मातृभाषा पत्रकारिता शताब्दी वर्ष मनाउने निर्णयअनुरूप सो सम्मेलन आयोजना गरिएको थियो। सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभयो।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मातृभाषा पत्रकारिताले दमनमा र सीमान्तकृतमा परेका भाषा र समुदायलाई आवाज प्रदान गर्ने बताउनुभएको छ। ‘मातृभाषाले पत्रकारिताले विभिन्न जातजातिका भाषा र संस्कृतिको संरक्षण एवं संवद्र्धनमा समेत योगदान पुर्‍याउँछ’, पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो। मातृभाषामा समाचार लेख्ने पत्रकारहरूमा स्थानीय परिस्थितिको बारेमा गहिरो जानकारी हुने उल्लेख गर्दै उहाँले यसबाट पाठक र स्रोताको लागि उपयोगी र सान्दर्भिक समाचार बनाउन सघाउने बताउनुभयो ।

दक्षिण एसियाली देशका विशिष्टता, संस्कृति, आर्थिक विकास, साझा समस्या र एजेन्डाका विषयमा परिचित भई त्यसको सम्बोधनको लागि मातृभाषा पत्रकारहरूले पत्रकारिताको माध्यमबाट संयुक्त रूपमा प्रयत्नशील रहने उद्देश्यले सो सम्मेलन आयोजना गरिएको पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले बताउनुभयो। उहाँले मातृभाषाको पत्रकारिताको माध्यमबाट विविध भाषाभाषी, बहुल जातजाति र समुदायलाई सम्बन्धित मातृभाषाको माध्यमबाट सुसूचित हुने र अभिव्यक्ति स्वतन्त्रताको उच्चतम अभ्यास गर्ने बताउँदै त्यसलाई जोगाउन सम्बन्धित राज्यले गर्नुपर्ने विविध प्रयासहरूबारे पत्रकारिताको माध्यमबाट बहस, छलफल सञ्चालन गर्ने सम्मेलनको उद्देश्य रहेको बताउनुभयो ।

उद्घाटन समारोहमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले २०७५ साल जेठ २ गते बुधबार र २०७९ असार २१ मंगलबारमा क्रमशः प्रथम र दोस्रो मातृभाषा पत्रकारिता सम्मेलनपछि भएको सो सम्मेलन नेपालमै पहिलोपटक आयोजना गरिएको दाबी गर्नुभयो। सो अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष गजुरधन राईले मातृभाषाको पत्रकारिता विकासको लागि राज्यले गर्नुपर्ने कार्यहरू सम्बोधनका लागि घचघच्याउन टेवा पुर्‍याउने बताउँदै भन्नुभयो– ‘आदिवासी जनजाति पत्रकारहरूले मातृभाषाको पत्रकारिताको विकासको मुद्दा विशेष एजेन्डाका रूपमा उठाइरहेका छन् । यस सम्मेलनले त्यस मुद्दालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा उठान गरी त्यसको सम्बोधनको लागि बृहत ध्यानाकर्षण गराउने छ ।’

सार्क जर्नालिस्ट फोरमका अध्यक्ष राजु लामाले मातृभाषाको पत्रकारिताको विकासको लागि दक्षिण एसियाली पत्रकारहरूबीच आपसी ज्ञान र सीपको आदानप्रदान र वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। सो अवसरमा विभिन्न देशका पत्रकारहरूले आआफ्नो देशको पत्रकारिताको अनुभवलाई केन्द्रित गर्दै मातृभाषा पत्रकारिताको विशिष्ट महत्व, सम्बन्धित भाषाभाषीहरूले पुस्तौंदेखि अभ्यासद्वारा संग्रह गरिराखेका ज्ञान, सीप र प्रविधिको माध्यमबाट मानव जातिलाई लाभ पु¥याउन पत्रकारितालाई प्रभावकारी र सशक्त माध्यम बनाउनुपर्ने जोड दिँदै आआफ्नो भनाइ राखेका थिए।

सम्मेलनको उद्घाटनपछि नेपालमा मातृभाषाको पत्रकारिताको प्रवृति र अबको बाटो र विश्वमा मातृभाषा पत्रकारिताको स्थितिबारे प्यानल छलफल भएको थियो । प्यानलमा नेपाल, भारत, बंगलादेश र भुटान पत्रकारिता अध्येयता र विज्ञहरू सहभागी भएका थिए। सम्मेलनपछि मातृभाषा पत्रकारिताको विशेषता, त्यसको महत्व तथा एजेन्डाका विषयमा दक्षिण एसियाली पत्रकारहरूबीच ऐक्यबद्धता तथा सहकार्यको लागि आधारभूमीका रूपमा घोषणापत्र तयार गरिने पत्रकार राष्ट्रिय दबूका महासचिव केके मानन्धरले जानकारी दिनुभयो।

नेपाल भाषाको पत्रकारिता क्षेत्र र नेपालभाषाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका चार व्यक्तित्वहरूलाई शनिबार सम्मान गरियो। सम्मानित हुनेहरूमा नेपालभाषा टाइम्सका पूर्व सम्पादक एवं भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धर, वरिष्ठ पत्रकार श्रीकृष्ण महर्जन, काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य र गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्यलाई सम्मान गरिएको हो। सम्मानित हुनेहरूलाई पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले दोसल्ला र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्मानपत्र प्रदान गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्