सम्झनामा नारायणहिटी दरबार हत्याकाण्ड



काठमाडौं ।

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको दिन हो।

यो अपत्यारिलो त्रासदीपूर्ण घटनाको प्रक्रियागत पुष्टि ढिलो भए पनि छाउनीस्थित आर्मी अस्पतालको छेवैको निवासमा बसोबास गर्दै आउनुभएका कामना न्यूज पब्लिकेसन्स्का संस्थापक तथा प्रधान सम्पादक स्व. पुष्करलाल श्रेष्ठ सरले नेपाल समाचारपत्रमा यो समाचार पुष्टि गरेर लेख्नका लागि सबै पत्रकारहरूलाई राती नै फोन गरेर अफिसको काममा खटाउनुभयो । उहाँले मलाई पनि फोन गरेर राजा वीरेन्द्र र उहाँको सन्तान सबैको दरबारभित्र हत्या भयो । घटना रहस्यमय छ, सडकमा सेनाको परेड शुरू भइसक्यो । हामीले जसरी पनि भोलिको पत्रिकामा समाचार छाप्नुपर्छ । तपाईं तयारी अवस्थामा रहनुस् आवश्यक परे गाडी पठाउँछु भन्दै मेरो मोबाइलमा ब्याट्री कम छ भन्नुभयो ।

यो अपत्यारिलो घटनाका बारेमा पुष्कर सरले नै फोन गर्नुभएको त हो भन्ने शंका गरेर मैले हतारहतार सोधेँ, तपार्इं पुष्कर सर नै बोल्नुभएको त हो नि ? उहाँले म पुष्कर नै बोलेको हो घटना सत्य हो । यति बेला हामी काममा जुटौं भन्नुभयो । उहाँ आफैं पत्रकार भएका कारण अधिकांश घटनाको विवरणसहित समाचार कसरी दिनेसम्मको तयारी आफैंले गर्नुहुन्थ्यो । यो घटनामा पनि उहाँले नै समाचार जनमानसमा भड्कावट नआउने गरी सबै परिवारको फोटो राखी मध्यरातिको अवस्थालाई सरल ढंगबाट पस्किनुभयो । त्यति बेरसम्म सडकमा सेनाले परेड गरिसकेका थिए । तर पनि समाचार रोकिएन बिहान सबेरैदेखि रेडियो नेपालले शोकधुन मात्र बजायो । नेपाल समाचारपत्रले राजपरिवारको फोटो राखेर समाचार बाहिर ल्यायो ।

उता, विदेशी समाचार सीएनएनले भने राजपरिवारको हत्याको समाचार विदेशमा फैलाइसकेको थियो । नेपालमा घटनाको यथार्थता पुष्टि हुन निकै समय लाग्यो । नेपाल समाचारपत्रको समाचारले देशव्यापी रूपमा छाइरहँदा देशका ठूला मिडिया मालिकहरू बैठक बस्दै थिए । विदेशी समाचार एजेन्सीहरू पुष्कर सरलाई फोन गर्दै समाचारको थप स्रोत र आधार खोजिरहेका थिए । पत्रकार नै मालिक भएको नेपाल समाचारपत्रले दरबार हत्याको समाचार पहिला छपाएर आम पाठकको मन जित्न सफल भएको थियो ।

जेठ १९ को दरवार हत्याकाण्डको समाचार सत्यतथ्य प्रकाशन गरी पाठकसामु बजारमा नेपाल समाचारपत्र पहिला पुगेकै कारण पाठकले पत्रिकाको फोटोकपी गर्दै हातहातमा बोकेर हिँडे । आम पाठकका हात नेपाल समाचारपत्रले छायो । पत्रिकाको अफिसअगाडि पत्रिका लिन आउने पाठकहरूको लाइन र फोटोकपी गर्नेको लाइन बढ्दै थियो । सरकारले नागरिकको जिज्ञासा प्रस्ट्याउन नसक्ने भएकै कारण कफ्र्यु नै लगायो ।

कर्फ्युका बाबजुद पनि नेपाल समाचारपत्र अनवरत रूपमा गाडीको पास लिएर सडकमा उत्रियो र घटनालाई जस्ताको तस्तै तस्वीर, समाचार पस्किरह्यो। सबैको मुखमा दरबार हत्याकाण्डको समाचार नेपाल समाचारपत्रले पहिला दियो । थप केही सत्यतथ्य बाहिर आयो भने पनि यही पत्रिकामा आउँछ भन्ने छाप प¥यो । हुन त नेपाल समाचारपत्र, महानगर सन्ध्याकालीन दैनिक, साधना स्वास्थ्य पत्रिका, कामना फिल्मी पत्रिकाले पाठकहरूका माझ सत्य, तथ्य समाचार पस्केरै मन जित्न सफल भएको थियो ।

कुनै पनि विषयमा एक्लैले केही गर्न सकिन्न समूहगत प्रयासले मात्र सफलता मिल्छ भन्ने कुराका दरबार हत्याकाण्ड, मनमोहन अधिकारी चढेको हेलिकोप्टर दुर्घटनाबाट जोगाएर उहाँलाई पाइलटले सकुशल उद्धार गरेको, भूकम्पमा पनि खुला मञ्चमा बसेरसमेत पाठकसामु समाचार पस्केको, कोभिड–१९ मा सबै मानिस घरभित्र बसेका बेला नेपाल समाचारपत्रको समूहले सुरक्षा कसरी अपनाउने र कहाँ के भइरहेको छ भन्ने देश विदेशका समाचार पाठकसामु पस्केर ख्याति कमाएकै कारण आज पनि विश्वसनीय समाचारका लागि नेपाल समाचारपत्रको खोजी गर्ने पाठकहरू उत्तिकै हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्