चीनको रोङ्स्यामा नेपाली बजार



दोलखा। 

चीनको तिब्बत अन्तर्गतको स्थानीय सरकारले टिङ्रिङ जिल्लाको रोङ्स्यामा दोलखाको सिमाना गाँउ लामाबगर र लप्ची वासिका लागि बजार खुलाउने तयारी गरेको छ ।

भर्खरै चीन सरकारले नेपालसंगको १४ नाका खुला गरेको छ । त्यसमा दोलखाको लामाबगर नजिकको फलाक नाका पनि रहेको छ । नाका खुलेपछि टिङ्रिङ जिल्लाको निमन्त्रणामा दोलखाको विगु गाँउपालिका वडा नम्बर– १ का वडा अध्यक्ष मेम बहादुर तमाङ नेतृत्वमा पालिकाका प्रवक्ता लोक बहादुर नेपाली, वडा नम्बर– ६ का वडा अध्यक्ष टहल थामी र नेपाली कांग्रेसका प्रतिनिधि हेम बहादुर तमाङ सहितको टोलि रोङ्स्या पुगेको थियो ।

तिब्बतको रोङ्स्या गाविसले विशेषगरी दोलाखको लामाबगर र लप्चीका स्थानीयलाई आवश्यक सामान किनमेल तथा आफ्नो उत्पादन बिक्री– वितरण गर्न सहज होस भनेर रोङ्स्यामा बजार खुलाउन लागेको विगु गाँउपालिका वडा नम्बर– १ का वडा अध्यक्ष मेम बहादुर तमाङले बताए। रोङ्स्या तिब्बतको एउटा गाविस हो, वडा अध्यक्ष मेम बहादुरले भने– तर त्यो गाँउमा धेरै सुविधा छ । उनीहरुले अहिले रोङ्स्यामा बजार लगाउने र यताबाट किनमेल तथा आफ्नो उत्पादन बिक्रीको लागि पुग्ने व्यवसायीलाई बस्न एक सय जना क्षमताको घर समेत बनाएको वडा अध्यक्ष मेम बहादुरले बताए । उक्त घरमा यताबाट जाने व्यवसायीहरुलाई निःशुल्क बस्ने र खाने सुविधा हुने वडा अध्यक्ष तमाङले बताए ।

लामाबगरबाट झण्डै एक किलोमिटरको सुरुङ सहितको सडकमार्ग हुँदै अहिले खरानिखोलासम्म गाडिमा जान सकिने र त्यहाँबाट झण्डै चार घण्टामा चीनसंगको फलाक नाका (६१ नम्बरको पिलर) पुग्न सकिने विगु गाँउपालिकाका प्रवक्ता लोक बहादुर नेपालीले बताए । फलाकनाकाबाट आधाघण्टा हिडेपछि उतापट्टी गाडि भेटिने र त्यहाँबाट एक घण्टाको यात्रामा रोङ्स्या पुग्न सकिने प्रवक्ता नेपालीले बताए ।

लामाबगरबाट विहान हिड्दा चीनको रोङ्स्या पुगेर किनमेल गरी साँझ घर फर्कन सकिने प्रवक्ता नेपालीको भनाई छ । लामाबगर र लप्चीका स्थानीयले रोङ्स्याबाट चामल, चिउरा, चाउचाउ, चक्लेट लगायतका सामान ल्याउने र यताबाट चौरी, उन, चौरीको घिउ, छुर्पी, कोदो, मकै लगायतका स्थानीय उत्पादन बिक्रीको लागि लानसक्ने नेपालीले बताए ।

लप्चीबाट चीनसंग ङ्यालम जिल्लाको राम्दिङ (५५– ५६ नम्बरको पिलर) नाका नजिक भएपनि त्यहाँबाट उनीहरुको बजार रहेको टाँसिघाङ पुग्न बिभिन्न समस्या हुने र व्यापार पनि कम हुने भएकोले लप्चीका धेरै स्थानीय व्यापारको लागि फलाक नाकाहुदै रोङ्स्यानै पुग्ने गरेको कर्मा शेर्पाले बताए । यातायातको सुविधा नभएकोले लप्चीबाट फलाक नाका पुग्न भने एक दिननै लाग्ने कर्माले बताए । लप्चीबाट राम्दिङ नाका हुँदै टाँसिघाङ पुग्न भने एक घण्टा पैदल र तीन घण्टा गाडीमा जानुपर्ने कर्माको भनाई छ ।

चीन सरकारले नाका खुला गरेपछि जिल्ला प्रशासन कार्यालय दोलखाले लप्ची र लामाबगरका स्थानीयको लागि किनमेल तथा आफ्नो उत्पादन उता लगेर बिक्री गर्न सहज होस भनेर आवश्यकताको आधारमा पास वितरण गरेको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताए । अहिलेसम्म लप्चीका ३९ जना र लामाबगरका ५ जनाले सिमापास लिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

चीनले लामोसमय पछि फलाक नाका खुला गरेकोले अहिले उतातिर सहज पहुँच भने नभएको वडा अध्यक्ष मेम बहादुरको भनाई छ । लप्ची वा लामाबगरका स्थानीय कोहि किनभेल र व्यापारको लागि रोङ्स्या जान चाहे जिल्ला प्रशासन कार्यालय दोलखाले जारी गरेको पासको आधारमा वडाले उताको स्थानीय सरकारसंग समन्वय गरीदिने वडा अध्यक्ष मेम बहादुरले बताए ।

प्रतिक्रिया दिनुहोस्