क्रिकेटर लामिछाने भिसाविहीन, पदाधिकारीको अमेरिका जाने होड



काठमाडौं ।

आईसीसी ट्वान्टी–२० विश्वकप खेल्न क्रिकेटर सन्दीप लामिछानेले भिसा नपाएका कारण बुधबार उहाँका समर्थकहरूले अमेरिकी दूतावास अगाडि प्रदर्शन गरिरहँदा नेपाल क्रिकेट संघ (क्यान) का केही उच्च पदाधिकारीहरू भने परिवारसहित विश्वकप हेर्न अमेरिका पुगेका छन्।

अमेरिका र वेस्ट इन्डिजमा आगामी जुनदेखि शुरू हुने आईसीसी विश्वकप क्रिकेट हेर्ने भन्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का पत्नीसहित अमेरिका पुगेका हुन्। आईसीसीले क्यानलाई १५ जना खेलाडी, प्रशिक्षक र अधिकारी गरी २५ जनाको कोटा उपलब्ध गराएको थियो। क्यान अध्यक्ष चन्द नेपालबाट विश्वकपमा सहभागी भएको २५ जनाको खेलाडी र अधिकारीको कोटामै अमेरिका पुगेका हुन्। विश्वकप खेल्ने टिमका लागि आईसीसीले २५ जनाको खर्च र भत्ता व्यवस्था गरेको छ।

कोटामा परेका २५ जनाको बिजनेस क्लासको हवाई टिकट र बसाइ खर्चको व्यवस्था पनि आईसीसीले नै गर्छ। २५ सदस्यीय नेपाली टिमको नेतृत्व क्यानकै केन्द्रीय सदस्य दिवाकर घलेले गर्नुभएको छ। नेपाली टिम केही साताअघि नै अमेरिका पुगे पनि घले भने गत सातामात्रै अमेरिका प्रस्थान गर्नुभएको हो । क्यानका केन्द्रीय सदस्य प्रदीप मजगैंया भने टिम म्यानेजरको भूमिकामा हुनुहुन्छ।

क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठकले अध्यक्षजस्तो पदीय व्यक्ति टिम अधिकारीको रूपमा जानुले नकारात्मक सन्देश प्रवाह हुने टिप्पणी गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘खेलाडीले भिसा नपाइरहेको अवस्थामा अध्यक्ष यसरी जानुले राम्रो सन्देश जाँदैन।’

यता, क्रिकेटर लामिछाने भिसा नपाएर नेपालमै रोकिँदा विश्वकपमा उहाँको सहभागिता अनिश्चित बनेको छ। यसअघि लामिछानेको भिसा २०२५ सम्म रहेको थियो । तर, उच्च अदालत पाटनबाट सफाइ पाएपछि भने उहाँको भिसा रद्द भएको जानकारी गराइएको थियो । त्यसपछि नयाँ प्रक्रिया शुरू गर्दा अमेरिकी दूतावासले लामिछानेलाई भिसा नदिएको हो।

भिसा नदिइएको विषयमा अमेरिकी दूतावासले अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकाले सार्वजनिक गर्न नमिल्ने भनेर बताउँदै आएको छ। लामिछानेको भिसा आवेदनलाई स्वीकृत गर्न क्यानले प्रक्रिया थालेको बताए पनि हालसम्म कुनै उपलब्धि हुन सकेको छैन । नेपाली क्रिकेट टिमलाई विश्वकपमा पुर्‍याएका लामिछानेले भिसा नपाइरहेको अवस्थामा क्यानका सचिव पारस खड्काले भने नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई विश्वकप हेर्नका लागि क्यानबाट निम्तो पत्र पठाउनुभएको छ।

सचिव खड्कासँगै क्यानका अन्य केन्द्रीय सदस्यहरू र युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बाट पनि केही व्यक्ति आगामी केही दिनमै अमेरिका प्रस्थान गर्ने तयारीमा रहेका छन्।

संस्थाको अध्यक्ष तथा अन्य पदको पगरी गुथेर बिना काम सीमित रहने कोटा प्रयोग गरेर नेपाली खेल अधिकारीको हुल विदेश जाने गरेको यसअघि पनि पटकपटक देखिएकै हो। देशले सफलता पाऊन वा नपाऊन तर, यस्तो संस्कारले भने कहिले संस्थाको, कहिले सरकारको त कहिले सहयोगी दाताको ढुकुटीमात्र दोहन भएको छ।

प्रतिक्रिया दिनुहोस्