बाह्र घण्टापछि अवरुद्ध राजमार्गमा यातायात सञ्चालन



धादिङ । 

वर्षाको कारण अवरुद्ध पृथ्वी राजमार्गको गल्छी खण्डको यातायात बाह्र घण्टापछि एकतर्फी संचालनमा आएको छ ।
रातभरको वर्षाका कारण पृथ्वीराजमार्ग अन्तरगत धादिङको गल्छी(महेशदोभान खण्डमा राजमार्गमा यातायात अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेर खानेकुरासमेत अभाव भएको थियो ।

ठेकेदार कम्पनी र सरकारी स्काभेटरको सहायताले लेदो हटाएपछि एकतर्फी संचालनमा आएको हो ।
गल्छी गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा सडक विस्तारको  क्रममा माटो भर्ने र गर्दो खोलामा पुल निर्माणको काम भैरहेको अवस्थामा वर्षापछि सडक क्षति पुगेर अवरुद्ध भएको थियो ।

रातिदेखिको मनसुनी वर्षाले सडकमा क्षति पुर्‍याएको र माटो लेदो बनाएका कारण दुवैतर्फ सडक अवरुद्ध भएको थियो ।
राजमार्गको यात्रा गर्दा सडकको बारेमा पूर्व सूचना लिएर मात्र यात्रा गर्न निमित्त प्रमुख जिल्ला अधिकारी बलराम ढकालले आग्रह गरे ।

सडक विस्तारका क्रममा सडक उत्खनन्, पुल निर्माण गर्दा सडक समेतमा वर्षापछिको गर्दोखोला बाढीले क्षतिपुर्याएको, लेदो जमेर वारपार गर्न नसकिएकोले यात्रुले सास्ती ब्यहोरेका छन् । रातिदेखि राजमार्ग बन्द भएपछि दुबैतर्फ १० किलोमिटर लामो सवारी साधनको जाम लागेको थियो ।

ठेकेदार कम्पनीले सडक सफा गर्ने र लेदो हटाउने कार्य गरिरहेको बताएको छ । तर सवारी चाप र निरन्तर वर्षाले गर्दा सम्भव भएको छैन ।
स्थानीय प्रशासनले  सडक नखुलेसम्म धैर्य गर्न र सडकको अवस्था बुझेर मात्र यात्रा गर्नुहुन सम्वन्धित सबैमा अनुरोध गरेको छ ।
साना सवारी र मोटरसाईकल समेत पार गर्न नसकिने अवस्थामा छ भने अत्यावस्यक सवारीलाइ गल्छीबाट कल्लेरीटार हुँदै आदमघाट निस्कने बाटो प्रयोग गर्न लगाईएको छ ।

ठेकेदारले वर्षाअघि बाटोमा ग्राभेल हालेर अग्लो बनाउने कार्य गर्ने भनेपनि काममा ढिलाइ भएका कारण यात्रुले मार खेपेका हुन् ।

प्रतिक्रिया दिनुहोस्