नीति तथा कार्यक्रम

लाइसेन्स अब बागमतीमा नै छपाइ



हेटौंडा । 

वागमती प्रदेश सरकारले सवारीचालक अनुमति पत्र (लाइसेन्स) प्रदेशमा नै छपाइको व्यवस्था मिलाउने भएको छ । सोमबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख यादवप्रसाद शर्माले यातायात कार्यालयको सेवालाई प्रविधिमैत्री र अनलाइन सेवाबाट सञ्चालन गरिने जानकारी गराएका हुन् ।

सार्वजनिक यातायात क्षेत्रमा नगदरहित भुक्तानी सेवा सञ्चालन गरिने उनको भनाइ छ । प्रदेशभित्र औपचारिक क्षेत्रमा कार्यरत् व्यक्तिलाई सामाजिक सुरक्षामा आबद्ध गराइने उनले बताए । प्रदेश प्रमुख शर्माले प्रदेश सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश सरकारका भौतिक संरचना निर्माण गर्दा अनिवार्यरुपमा स्वदेशी काठ प्रयोग गरिने बताए । उनले विदेशी काठ आयात निरुत्साहित गर्न स्वदेशी काठको गुणस्तर वृद्धिसहित सार्वजनिक–निजी साझेदारी कार्यक्रम सञ्चालन गरिने बताए ।

मानव र वन्यजन्तुबीच द्वन्द्व न्यूनीकरणका लागि आवश्यक व्यवस्था गरिने बताउँदै उनले बाँदर र बँदेललगायत वन्यजन्तुबाट हुने धनजन तथा खाद्यबालीको क्षति न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन गरिने बताए । प्रदेश प्रमुख शर्माले वनको पत्करबाट प्रंगाारिक मल बनाउने कार्यक्रम सञ्चालन गरिने र डँढेलोमुक्त प्रदेश निर्माणका लागि संयन्त्र निर्माण गरी औजार र उपकरणसहित व्यवस्था गरिने उल्लेख गरे ।

प्रदेश सरकारले बन्द उद्योग पुनर्संञ्चालनमा ल्याउने घोषणा पनि गरेको छ । नीति तथा कार्यक्रममा प्रदेशमा स्वदेशी तथा विदेशी लगानी प्रोत्साहन गर्न नीति निर्माण गरी कार्यान्वयन गरिने बताएको छ । प्रदेशमा लगानी प्रोत्साहन गर्न लगानी बोर्ड स्थापना गरी सञ्चालन गरिने छ । ‘एक स्थानीय तह–एक उद्योगग्राम’ कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाउने व्यवस्थान मिलाइने भएको छ ।

प्रदेश सरकारले हेटौंडामा बहुउद्धेश्यीय पोखरी निर्माण गर्ने घोषणा गरेको छ । प्रदेश प्रमुख शर्माले हेटौंडा उपमहानगरपालिकाको गंगटेमा बहुउद्धेश्यीय पोखरी निर्माण गर्ने घोषणा गरे । प्रदेश प्रमुख शर्माले प्रदेशको दोलखा जिल्लाको जिरीमा बहुउद्धेश्यीय ताल निर्माण गरिने पनि जानकारी गराए ।

प्रदेश सरकारले मदिरा उत्पादनका लागि कानुनी प्रवन्ध गर्न संघीय सरकारसँग समन्वय गर्ने जनाएको छ । नीति तथा कार्यक्रममा प्रदेश प्रमुख शर्माले प्रदेशभित्र उत्पादन हुने फलफूल, अन्न र जडिबुटीबाट मदिरा उत्पादनका लागि कानुनी प्रवन्ध गर्न संघीय सरकारसँग समन्वय गरिने बताए ।

प्रदेश सरकारले बृहत् हेटौंडा शहरका रुपमा रुपान्तरण गरिँदै लैजाने घोषणा गरेको छ । प्रदेश प्रमुख शर्माले प्रदेशको राजधानी हेटौंडालाई व्यवस्थित शहर विकास योजना तयार गरी बृहत् हेटौंडा शहरमा रुपान्तरण गरिँदै लैजाने उद्घोष गरे ।

वागमती प्रदेश सरकारले ‘शून्य प्लाष्टिक’ भन्ने नारासाथ सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ । प्रदेश प्रमुख शर्माले प्लाष्टिकजन्य पदार्थबाट शहरी क्षेत्र, राजमार्ग छेउछाउ ऐतिहासिक, धार्मिकस्थल, सम्पदा तथा पर्यटकीय क्षेत्रमा बढ्दो प्रदुषण नियन्त्रणका लागि उक्त नारासहित सरसफाइ अभियान सञ्चालन गर्न लागिएको बताए । प्रदेश प्रमुख शर्माले उक्त कार्य स्थानीय तह तथा संघीय सरकारको सहकार्यमा गर्ने उल्लेख गरे । सरकारले कृषि, प्रविधि, पर्यटन, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर नीति तयार पारिएको जनाएको छ ।

प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम टेबुल भएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारको आगामी आवको नीति तथा कार्यक्रम टेबुल गरे । प्रस्तुत नीति तथा कार्यक्रम मुख्यमन्त्री जम्कट्टेलले सदनमा टेबुल गरेसँगै प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले प्रदेश प्रमुख शर्मालाई धन्यबाद प्रस्ताव सदनमा पेस गरेका थिए  । ढकालले पेस गरेको धन्यबाद प्रस्तावलाई प्रदेशसभा सदस्य मधुसूदनप्रसाद पौडेलले समर्थन गरे  । उक्त प्रस्ताव सदनको बहुमतले पारित गरेको छ ।

प्रस्ताव पारित भएसँगै सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक बुधवार दिउँसो ३ः३० बजे बस्ने गरी स्थगित गरेक छन् । अबको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

यसअघि प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम पारित गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रम पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्