सन्दर्भ २५६८ औं बुद्ध संवत्

सदाचार-दुराचार नै आफूलाई प्यार गरेको वा नगरेको मापदण्ड



व्यक्तिहरुको कुशल कार्य अथवा सदाचार वा दुराचार नै जीवनको परिचय बन्छ । यसै अनुरुप व्यक्तिगत कार्यहरुको समग्र परिचय नै समाजको सुव्यवस्था वा दुरावस्थाको पहिचान हुने कुरा शाश्वत सत्य हो । आजको समाज, विश्वको भिन्न–भिन्न देशको सुव्यवस्था वा दुरावस्था भन्नु नै तत् देश–समाजका व्यक्तिहरुको सदाचार वा दुराचारको समग्र चित्रबाहेक अरु के नै हो र ? सदाचारी वा दुराचारी हुनु नै व्यक्तिले आफूले आफूलाई प्यार गरेको वा नगरेको रुपमा लिन सकिन्छ भने यही प्यार गरेको वा नगरेको प्रतिस्वरुप नै समाज हो ।

संसारका विभिन्न देशहरुको आ–आफूनै समस्या र मौलिक संस्कृति, परम्परा भएझैँ हामीकहाँ पनि समस्याहरुको विकराल अवस्थाका साथै मौलिक संस्कृति पनि छन्। सदाचार वा दुराचार भनौँ अथवा कुशल कार्य र अकुशल कार्यको परिणाम एवं दुष्परिणामबारे ‘एसियाको प्रकाश’, ‘नेपालको विभूति’ गौतम बुद्धले दिनुभएको शिक्षा अतुलनीय छ । त्यसो त उहाँका शिक्षा नै उहाँको परिचय दिन काफी हो । ‘एसियाको प्रकाश’ वा ‘नेपालको विभूति’ भन्ने पनि प्रचलित परम्पराबाहेक अरु केही होइन । वास्तवमा उहाँलाई एसियाकाको प्रकाश भनौँ वा नेपालको विभूति भन्ने कुनै आलंकारिकताको जरुरी त छैन । अझ भन्ने हो भने व्यक्तिहरुको तृष्णा निर्मूल गरी निर्वाणको बाटो देखाउनुहुने उहाँ भगवान्लाई यस्तो वा त्यस्तो आलंकारिकताको साटो उहाँले देखाउनुभएका शिक्षा अवलम्बन गरेर दुराचारबाट वञ्चित भई सदाचारमा लाग्नु नै सच्चा श्रद्धा व्यक्त गरेको मान्न सकिन्छ ।

भगवान् बुद्धले बताउनुभएका हजारौँ सूत्रहरुमध्ये धम्मपदको केही श्लोकहरु उतार्न यहाँ सान्दर्भिक हुन्छ ।

तुम्हेहि किच्चं आतप्पं अक्खातारो तथागता ।
पटिपन्ना पमोक्खन्ति झायिनो मारबन्धना ।
अर्थ– तिमीहरू आफैँले आ–आफ्नो काम गर्नुपर्दछ, तथागतले केवल मार्गमात्र देखाउनुहुन्छ, ध्यान गर्ने मार्गमा हिँड्ने ध्यानी भारबन्धनबाट मुक्त हुन्छ ।
कोनु हासो किमानन्दो निच्चं पज्जलिते सति ।
अन्धकारेन ओनद्धा पदीपं न गवेस्सथ ।

अर्थ– सर्वदा रागादि अग्निले जलिरहेको लोकमा के हाँस्नु ? के आनन्द लिनु ? अन्धकारले छोपिराखिसक्यो तब पनि तिमीले प्रकाशको उज्यालो खोज्न जानुपर्दैन ? यी दुईवटा श्लोकहरुको आधारमा पनि भन्न सक्छौं, भगवान् बुद्धले कसैलाई जीवनको दुःखबाट पार लगाउने होइन तर उहाँको शिक्षा र मार्गमा हिँड्नु नै व्यक्तिको मुक्त हुने मार्ग हो । व्यक्तिको दुःखको जञ्जालबाट पार लगाउन व्यक्ति स्वयं आफैंले प्रकाश खोज्नुपर्ने नै उहाँको शिक्षाको मूल मर्म हो ।

२५६८ औं बुद्ध संवत् यो वर्ष पनि सरकारी वा निजी क्षेत्रबाट लुम्बिनीलगायत देशका सबै क्षेत्रमा विविध कायक्रमहरु गरी मनाउने नै छ । यो बुद्ध पूर्णिमा/बुद्ध संवत्मा त्रिसंयोगको रुपमा विभिन्न स्मरण, ग्ुणगानसहित विचारहरुको आदानप्रदान हुन्छ । त्रिसंयोगको रुपमा सिद्धार्थ गौतमको जन्म लुम्बिनी वनमा भएको, बुद्धत्व लाभ बौद्धगयामा भएको र महापरिनिर्वाण कुशीनगरमा भएकोले पनि बुद्ध पूर्णिमाको महत्व दिने प्रयास र प्रचार भइरहेको वर्षौं बितिसकेको यथार्थता हो ।

यो त्रिसंयोगको महत्व, गुणगान गाउनु, श्रद्धाभाव व्यक्त गर्नु एउटा पक्ष हो । यो त्रिसंयोगमा जन्म र महापरिनिर्वाणको स्मरणभन्दा बढी श्रद्धा गर्ने त बुद्धत्व प्राप्ति दिनलाई नै मान्नु हुन्छ । जन्म र मरण सबैको नियमित प्रक्रिया नै हो भने मनुष्य जन्मको सार्थकता के–कस्तो कार्यबाट सम्झनयोग्य हुन्छ। निश्चितरुपमा सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपश्चात् नै समाजसेवा, मनुष्यहरुको दुःखको कारण र सोको निवारणको लागि जुन मार्गको उपदेश दिएर हिँड्नुभयो, यसको महत्व सबैभन्दा बढी भएकोमा दुईमत नहोला । बुद्धत्व प्राप्ति (ज्ञान प्राप्त) भएपश्चात् अध्यात्मिक जागरणमार्फत समाज सेवाको उपलब्धिको कारणले नै जन्म र महापरिनिर्वाणको दिवसको रुपमा समेत स्मरणीय भएकोमा शायद विमति होला ।

यस तथ्यलाई विचार गर्दा निश्चितरुपमा पनि भन्न सक्छौं, त्रिसंयोगमा सबैभन्दा बढी बुद्धत्व प्राप्तिको महत्व सर्वदा रहिरहनेछ । यसको महत्व र गरिमा कायम गर्न सकेनौँ वा यसको महत्व अभिवृद्धिको लागि कार्यक्रमहरु सञ्चालन, विशेष त शिक्षामा बुद्धशिक्षा समावेश, ध्यान भावनाको अभिवृद्धिविना यसको प्रतिफलको आश गर्न सकिँदैन । यतातर्पm क्रियाशील नभई खालि कार्यक्रमको लागि कार्यक्रम, सभामात्र हुने हुन् भने यसको औचित्य सिद्ध हुन सक्दैन । अझ यसको नाममा कतै समय, स्रोत र साधनको दुरुपयोगको माध्यममात्र पो भइरहेको हो कि भन्ने प्रश्न गर्ने सम्भावना हुन्छ । यसतर्पm पनि सबै सचेत नागरिकहरु तथा विभिन्न निकायहरुबाट गहन विश्लेषणको आवश्यकता महसुस हुन्छ ।

आज देशको यावत् क्षेत्रको सेवाको स्तर वा सेवाग्राहीले पाइरहेको सुविधा अथवा असुविधा, तनावको कुरादेखि सर्वत्र देखा परेको, सुन्न, पढ्न पाइरहेको विभिन्न विकृतिहरुका अवस्थाहरु छन् । यो अवस्थालाई विचार गर्दा व्यक्तिहरुको कार्य कुशलता नभएको, कार्यप्रति सचेतता नभएको, कार्यको जिम्मेवारी (सेवाप्रदायक र सेवाग्राही दुवै) तर्पm थप सजगता नभएको आदिको कारण देखा पर्न सक्छ । तर सबैभन्दा ठूलो कारणमा व्यक्तिहरुको भौतिक लाभ प्राप्तिका लागि लालायित भई दुराचार कार्यतर्फ अग्रसर भइरहेकोलाई नै मान्न सकिन्छ ।

आज देशको सरकारी, गैरसरकारी निजी क्षेत्रमा देखा परेका विविध समस्याको कारक तत्व यही सदाचार र दुराचारको भेदमा अनभिज्ञ हुनु, सोबारे आवश्यक जानकारी दिने संयन्त्र नहुने नै हो । अथवा संयन्त्र भए पनि कार्य गर्ने वातावरण नहुनु, आफ्नो काम, कर्तव्यभन्दा व्यक्ति–समूहको स्वार्थमा अल्झिनुपर्ने बाध्यता र विवशता पनि हुन सक्छ । आखिर यो हुनुको तात्विक कारण पनि त कतै न कतै व्यक्ति वा समूहकै दुराचार कार्यमा उत्पेरित भएर नै हो । सदाचार र दुराचारको हकमा निकै वादविवाद हुन सक्छ । आखिरमा व्यक्तिको सोचमा भर पर्ने कुरा भयो । तर यो विभाजन गर्न नसक्नुमा शिक्षाको अभाव नै हो । आफ्नो भौतिक लाभ, मान आदिका लागि गरिने लोभ, द्वेष पे्ररित कार्य त दुराचार हुनेमा त शंका नहोला । आज राष्ट्रमा भएका नीति निर्माण, आयोजना, कार्यक्रमहरुको पनि वास्तविक लक्ष्य, प्राप्तिको प्रयासमा र अझ आवश्यकताको पहिचानमै पनि यही सदाचार वा दुराचारकै खेलमा अल्झिरहेको यथार्थतालाई समेत मनन गर्न सकिन्छ ।

समाजको हरेक क्षेत्रको आजको अव्यवस्थालाई सुव्यवस्था बनाउनु सर्वप्रथम व्यक्तिहरुले नै सदाचार र दुराचारको पहिचान गरी सदाचारी हुन प्रयत्नशील हुन पहिलो अनिवार्य भएको छ । व्यक्ति सदाचार र दुराचारी हो वा होइन भन्ने पनि कसैले कसैलाई प्रमाणपत्र दिने होइन । व्यक्ति स्वयंले आफैँले आफैँलाई परीक्षा गर्ने, अरुलाई ढाँटे पनि आफूले आफूलाई ढाँट्न त कदापि सकिँदैन । यस अर्थमा पनि सदाचार वा दुराचार नै व्यक्तिहरुले आफूले आफूलाई प्यार गरेको वा नगरेको मापदण्ड हो ।

यसरी आज समाजको यावत् क्षेत्रमा देखा परेका समस्याको जड अज्ञानतावश वा नियतवश गरिने, भइरहेका दुराचारहरु नै हुन् । यसो त सबै व्यक्ति पारंगत त हुन सक्दैनन् । विभिन्न उमेर समूह, समय परिस्थितिअनुसार पनि विभिन्न गलत कार्यहरु भएको वा भइरहेको हुन्छ । तर आफूले आफूलाई परीक्षण र विश्लेषण गरी सच्याउने उपाय, मार्गको अवसर प्राप्त हुन वा नहुनलाई व्यक्तिको भाग्य वा अभाग्यको रुपमा चित्रित गर्न सकिन्छ । यदि सही र सत्य शिक्षा प्राप्त गर्ने अवसर मिलेमा मनुष्य जीवनको अनमोल क्षणको रुपमा परिणत हुनेछ । सिद्धार्थ गौतम जन्मभूमि नेपाल भनेर राग अलापेर मात्र यसको औचित्य सिद्ध हुन सक्दैन, त्यो शिक्षा ग्रहण गरी व्यवहारमा उतार्नु नै सच्चा उपलब्धि हुनेछ ।

निश्चितरुपमा आजको समाजमा देखा परेको भौतिक विकास, धनी हुने आकांक्षा, कुण्ठा आदि समाजमा देखा परेका बाह्य अवस्थाहरुबाट सदाचार र दुराचारमा भेद गर्न सामान्यतया अलमल हुने सम्भावना पनि नभएको होइन। आज समाजमा चलनचल्तीमा आउने तथाकथित व्यावहारिकता, लोकलाज, सामाजिक परम्परा, मिलनसार आदिको हवाला तथा उपमाहरु पनि दुराचार कार्य बढाउने तत्व मान्न सकिन्छ । यस अर्थ प्रचलित व्यावहारिकता र लोकलाजभन्दा बुद्धशिक्षा नितान्त फरक देखिन्छ। यही अलमल हटाउन, वास्तविक सदाचार र दुराचारमा भेद अनि त्यसको परिणाम, दुष्परिणामबारे जानकारी लिन पनि बुद्धशिक्षा अपरिहार्य हुँदै गएको मान्न सकिन्छ ।

बुद्धशिक्षाको प्रचारप्रसार र समाजमा यसको प्रभावकारिताविना खाली देखावटी प्रचारप्रसारबाट समाजको भलाइ कदापि हुन सक्दैन । त्रिसंयोग भनी बुद्धको श्रद्धाको नाममा खालि भेटघाट, जमघट, सभा आदिले व्यक्ति स्वयंको भलाइ कदापि हुन सक्दैन। बरु यो दिनको महत्वको स्मरण गरी बुद्धशिक्षालाई अध्ययन, मनन गर्ने अवसरको रुपमा लिई निरन्तर अध्ययन, ध्यान अभ्यासको माध्यम बनाउन सकेमा मात्र प्रफिफल प्राप्त हुन्छ । खालि सभा, कार्यक्रममात्र गरेको आधारमा भगवान् बुद्धले आशिर्वाद दिने त कदापि होइन, यदि यसो सम्झेमा यो झनै खतरनाक र ठूलो दुभाग्र्य मान्न सकिन्छ र कतै आज नेपालको नियति पनि यही त होइन । तथागतको शिक्षालाई पुनः स्मरण गर्नु उपयुक्त हुन्छ ।

‘सब्ब पापस्स अकरणं कुसलस्स उपसम्पदा । सचित्तपरियोदपनं एतं बुद्धानुशासन ।’ अर्थ– सबै प्रकारको पाप कर्म नगर्नु, पुण्य कर्म सञ्चय गर्नु, आफ्नो चित्त शुद्ध गर्नु, यही बुद्धहरूको शिक्षा हो । अतः आफूलाई प्यार छ भने दुराचार कार्यबाट टाढा रही सदाचार कार्यमा अग्रसर हुनु नै आफूलाई प्यार गरेको मापदण्ड मान्न सकिन्छ । यसको विपरित आर्थिक, भौतिक लाभका लागि दुराचारी हुनुलाई सामान्य जनको आँखामा आफूले आफूलाई प्यार गरेको लागे पनि वस्तुतः ठूलो अन्याय गरेको, पीडामय, कष्टमय जीवन बिताउने मार्गमा धकेलेको नै हुनेछ।

अतः व्यक्तिले आफूले आफूलाई प्यार गर्न पनि सदाचारी जीवनको विकल्प छैन । यस अर्थमा बुद्धशिक्षा लागू गर्न सामाजिक सोच, संस्कृति र व्यवहारमा व्यापक परिवर्तनको आवश्यकता देखिन्छ । यस वर्षको २५६८ औं बुद्ध संवत्मा नेपाल, नेपालीहरु तथा विश्वमा समेत बुद्धशिक्षाको प्रभावकारी कार्यान्वयन हुने अवसर प्राप्त होस् । साथै समाजमा सुव्यवस्था, अमनचैनका लागि सेतु बन्न सकोस् भनी कामना गर्दछु ।

(लेखक नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्