विश्व रेटिनोब्लाष्टोमा तथा मायोपिया सचेतना सप्ताह सम्पन्न



काठमाडौँ। 

तिलगंगा आँखा प्रतिष्ठानले विश्व मायोपिया सचेतना सप्ताह  (मे १३–१९सम्म) निःशुल्क उपचार लगायत जनचेतनामूलक कार्यक्रम गरी  मनायो ।
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले विश्व रेटिनोब्लाष्टोमा सचेतना सप्ताह  (मे १२–१८), र विश्व मायोपिया सचेतना सप्ताह (मे १३–१९) का अवसरमा काठमाडौँ लगायत देशैभरका सामुदायिक आँखा केन्द्र तथा सर्किजल आँखा केन्द्रहरुमा सचेतनात्मक कार्यक्रमको आयोजना गर्‍यो ।

रेटिनोब्लाष्टोमा अर्थात् बालबालिकाको आँखामा हुनसक्ने क्यान्सरबारे सही समयमा पहिचानको आवश्यकता रहेको विषयलाई प्रतिष्ठानले मुख्य जोड दिएको अकुलोप्लाष्टि तथा अकुलर अंकोलोजी विभागकी प्रमुख डा.पूर्णिमा राजकर्णिकार स्थापितले बताइन्  । उनका अनुसार अँध्यारो कोठामा बालबालिकाको तस्बिर खिच्दा आँखाको नानीको कालो भागमा सेतो टिका देखिनु, आँखा असामान्य रुपमा रातो हुनु र दुख्नु, आँखाको आकार ठुलो हुँदै जानु र बाहिर तिर आउनु, आँखाको डेढोपन हुनु र आँखा सुक्दै जानु रेटिनोब्लाष्टोमाको लक्षण हुनसक्छ ।

यी लक्षणहरुलाई सतर्क रुपमा पहिचान गर्दै सही समयका चिकित्सकसम्म आइपुग्न प्रेरित गर्दै प्रतिष्ठानले ओपन आइज नेपालसँगको सहकार्यमा यो समस्या भएका बालबालिकाका लागि निःशुल्क ओ.पि.डी सेवा, उपचार सेवा तथा प्रोस्थेसीस् सफाईको व्यवस्था गरेको थियो । यो सुविधा सचेतना सप्ताह अर्थात् वैशाख ३० देखी ज्येष्ठ ५ सञ्चालन गरिएको उनले  जानकारी गराइन् ।  निःशुल्क सेवा लिने रेटिनोब्लाष्टोमाका बिरामीहरु १० जना अस्पतालमा आएका छन् ।

त्यस्तै २ बर्षदेखि तिलगंगा आँखा प्रतिष्ठानमा उपचार सुरु गरिएको मायोपिया अर्थात् टाढा भएका वष्तुहरु हेर्न कठिनाइ हुने आँखाको समस्याको सचेतना सप्ताह वैशाख ३१ देखी ज्येष्ठ ६ गतेसम्म मनाइएकोमा समेत बालबालिकाहरुलाई मुख्य प्राथमिकतामा राखिएको थियो । बालबालिकाहरुको समय–समयमा आँखा जाँच गर्ने, प्रत्येक दिन बाहिरी वातावरणमा २ घण्टा खेल्न प्रेरित गर्ने, मोबाइल र टि.भी. स्क्रिनबाट टाढा राख्ने र कम प्रयोग गराउने तथा हरेक २० मिनेटमा २० फिट टाढा २० सेकेन्ड हेर्ने बानी बसाल्न आवश्यक रहेको बाल आँखा रोग विशेषज्ञ तथा डेप्युटि डाइरेक्टर डा. सिर्जना अधिकारीले बताइन् । पहिलो पटक प्रतिष्ठानले मायोपिया सचेतना सप्ताह मनाएकोमा डा. अधिकारीले हरेक बालबालिकाले विद्यालय अध्ययन गर्न जानुअधि अनिवार्य आँखा जाँच गर्न सुझाव दिइन्  ।

कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानमा नियमित रुपमा ४४ जना विज्ञ चिकित्सकहरुले १ हजार ३ सय भन्दा बढी आँखाका बिरामीलाई विभिन्न सिफ्ट तथा विभागमा दैनिक सेवा दिदै आएको छ । यति हुँदापनि कतिपय बिरामीले समय नपाएर बिहानै देखि लाईनमा बसी फर्किने गरेको समस्याको समाधानका लागि अनलाईन तथा टेलिफोनबाट एक साताका लागि बिरामीको नाम दर्ता गरि तोकिएको समयमा उपचारका लागि तिलगंगामा आउँन सकिने तिलगंगा आँखा प्रतिष्ठानका जनसम्पर्क अधिकृत दिनेश पोखरेलले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्