गुणस्तरिय स्वास्थ्य सेवाका माध्यमबाट नेपाललाई स्वास्थ्य पर्यटन हब बनाउँ : डा.दीपेन्द्ररमण सिंह 



काठमाडौं  ।
स्वास्थ्य सेवालाई चुस्त र दुरुस्त बनाउँनका लागि नीतिगत रुपमै ध्यान दिनुपर्छ । देशको सासन व्यवस्था परिवर्तनभएसँगै नीतिमा भन्दा नेताको इच्छा अनुसार स्वास्थ्य सेवा संचालन गर्नुपर्ने बाध्यात्मक अवस्थाले नेपालको स्वास्थ्य सेवा समस्याग्रस्त बन्दै गएकोछ ।
स्वास्थ्य पत्रकार मञ्च नेपाल र सोलिड नेपालको आयोजनामा नेपालको तत्कालिन स्वास्थ्य नीति र कार्यान्वयनको अवस्थाको बारेमा दुईदिने कार्यशाला गोष्ठीमा चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा.डा.खेम कार्कीले उक्त भनाई राख्नुभएको हो । उहाँले न्यूनतम स्वास्थ्य सेवा मापदण्डमा सुसासन तथा व्यवस्थापन २० प्रतिशत हुन्छ । यसमा संगठन व्यवस्थापन, जनशक्ति, बित्त, सूचना व्यवस्थापन हुन्छ । त्यसैगरी चिकित्सकीय व्यवस्थापन ६० प्रतिशत र सहयोगी सेवा २० प्रतिशत हुन्छ ।
तर यस बिषयमा राजनैतिक दलहरुले चुनावी घोषणा पत्रमा केही हदसम्म उल्लेख गरेपनि सत्तामा गएपछि कार्यान्वयनमा ध्यान दिदैनन् । नेताहरुले नीति नियम बनाउँने र त्यसलाई कार्यान्वयन भए नभएको अनुगमन गर्ने हो । तर विडम्बना नेपालमा कानून बनाउँने, कार्यान्वयन गर्ने, गराउँने तहमा पुगेका नेताहरु आफैले कानून विपरित काम गर्ने गराउँने भएका कारण स्वास्थ्य सेवा धरासायी बन्दै गएकोछ ।
स्वास्थ्य सेवाको मुख्य बिषय भनेको गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्नु सबैको नैसर्गिक अधिकार हो । तर प्रति १ लाख आमा बन्दा १ सय ५१ जनाको मृत्यु हुने गरेकोछ । स्वास्थ्य सेवामा नागरिकको पहुँच सहज नभएकै कारण लुम्बिनी प्रदेशमा सबै भन्दा बढी सुत्केरीको मृत्यु हुने गरेको सन् २०२१ को स्वास्थ्य सर्वेमा उल्लेख गरिएकोछ । सर्वेमा उल्लेख भए अनुसार पहाडमा भन्दा तराईमा बढी सुत्केरी आमाहरुको मृत्यु हुने गरेको तथ्यांकमा उल्लेख भएको पनि उहाँले बताउँनुभयो  ।
डा.कार्कीका अनुसार बच्चा जन्माएर ४२ दिन सम्मको सुत्केरीलाई विशेष स्याहार गर्नुपर्छ । यो अवधिमा जनचेतनाको अभाव र स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको आवश्यकता अनुसार परामर्श नपाउँदा धेरै सुत्केरी आमाहरुको ज्यान जाने गरेकोछ । यसैगरि यो अवधिमा नवजात शिशुहरुको पनि जन्मेदेखि २८ दिन भित्र हुने समस्याका कारण धेरैको मृत्यु हुने गरेकोले यस तर्फ सरकारको ध्यान पुग्नुपर्ने कुरा औल्याउनुभयो । उहाँले सुत्केरी अवस्थामा ६१ प्रतिशत आमाहरु ४२ दिन भित्र मृत्यु हुने गरेको र १५ प्रतिशत सुत्केरी आमाको मृत्यु कोभिड १९ ले पनि बढाएको तथ्यांक रहेको उहाँले जानकारी गराउँनभयो ।
समस्या र मृत्युको प्रमुख कारणहरुमा स्वास्थ्य संस्थामा जाने निर्णय गर्न ढिलाई ५७ प्रतिशत र यातायतको समस्या १७ प्रतिशत रहेको छ भने अन्यमा स्वास्थ्य संस्था टाढा हुनु, स्वास्थ्य संस्थामा दक्ष जनशक्ति, उपकरण लगायतको समस्या अर्को ठूलो समस्या रहेको सन् २०२२ को स्वास्थ्य सर्वेक्षण तथ्यांकले औल्याएका मुख्य बिषय छन् । यसका साथै उमेर नपुग्दै बच्चाले बच्चा जन्माउँने समस्या अर्को जटिल समस्या भएको पनि डा.कार्कीले बताउँनुभयो ।
डा.कार्कीले पहिला बाबु आमाले सानै उमेरमा विवाह गरिदिने चलनले बालबिवाह र बच्चाले बच्चा जन्माउँदा आमा र बच्चा दुबैको स्वास्थ्य समस्या तथा मृत्युको मुखमा पुग्नुपर्ने अवस्था थियो  । अहिलेको आधुनिक प्रविधिले फेसबुकबाट लभ गर्ने र भागी विवाह गरि बच्चाले बच्चा जन्माउँने प्रबृत्ति बढेकाले युवा पुस्तालाई जनस्वास्थ्य सम्बन्धी जनचेतनाको अभाव भएकै कारण बाल विवाह र बालिका आमा बन्ने प्रबृत्ति बढ्दो रहेको छ । यो समस्याको समाधानका लागि विगतमा भएको स्वास्थ्य शिक्षा विद्यालयको पाठ्यक्रममा हुनुपर्छ । विगतमा भएको शिक्षालाई पाठ्यक्रमबाटै हटाउँनु गलत भएको पनि उहाँले औल्याउँनुभयो ।
सोही अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.दीपेन्द्ररमण सिंहले नेपालको स्वास्थ्य प्रणालीमा ८३ प्रतिशत गुणस्तरमा सुधारको खाँचो रहेको कुरा औल्याउँनुभयो । उहाँले नेपालको जनसंख्यालाई राम्रोसँग अध्ययन गरेकै छैनौ । युवाशक्ति हरेक दिन विदेशीदैछन् यस्तो अवस्थामा हाम्रो देशको स्वास्थ्य अवस्था के हुन्छ ? हाम्रो जिम्मेवारी के हुन्छ भन्ने बिषयमा कसैले ध्यान दिएको छैनन् । साधारण कुरा अस्पताल जनताको पहुँचमा छकि छैन ? त्यो अस्पतालमा पानी छ कि छैन ? छ भने किटाणुरहित छकि छैन ? आवश्यक जनशक्ति, उपकरण, खाने, पिने, अस्पताल सम्म पुग्ने बाटो, सवारी साधन बिरामी मैत्री छ छैन ध्यान दिनुपर्छ । काठमाडौको हावा धेरै प्रदुषित भएको अवस्था छ । सरसफाईमा स्वास्थ्यकर्मी चिकित्सकले नै ध्यान दिएको अवस्था छैन । हावा, पानी, खानपान, आहार, व्यवहार र सरसफाईमा ध्यान दिन सक्यो भने स्वास्थ्य राम्रो हुन्छ भन्नुभयो ।
उहाँले नेपाल जस्तै मुलुक कोस्टारिका, रुवाण्डा, थाईल्याण्ड, श्रीलंकाले जनस्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेका छन् । कोस्टारिकाले आफ्नो देशलाई स्वास्थ्य पर्यटन हवका रुपमा बिकास गरेकै कारण ७० हजार सर्जरी एकबर्षमा गर्छ । नेपालले पनि गुणस्तरिय स्वास्थ्य सेवामा ध्यान दिने हो भने पर्यटन हव बनाउँन सकिन्छ र नेपालको आर्थिक बिकासमा ठूलो टेवा पुग्नुका साथै चिकित्सा विज्ञानका क्षेत्रमा फड्को मार्ने मात्र नभै युवा पुस्ता विदेशीने क्रम समेत रोकिने बताउँनुहुन्छ ।
स्वास्थ्य पत्रकारहरुले राखेका जिज्ञासाको उत्तर दिँदै डा.कार्कीले स्वस्थ नेपाली युवा विदेशीन्छन र कतिपय नेपाली युवा विदेशबाट एचआईभी एड्स लगायतका विभिन्न रोगको सिकार भएर फर्कन्छन् भन्नुभयो । सोही अवसरमा स्वास्थ्य पत्रकार प्रविण ढकालले स्वास्थ्य क्षेत्रको सुधारका लागि जनचेतना जगाउँन स्वास्थ्य पत्रकारिता नितान्त एक्लै दौडिन बाध्य भएको अवस्था छ यतातर्फ सरकारको ध्यान पुग्नुपर्छ भन्नुभयो । सोही अवसरमा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य पत्रकारिताको माध्यमबाट धेरै नागरिकलाई स्वास्थ्यका सन्देश सूचना दिँदै आएका संचार माध्यमको सरकारले मूल्यांकन गरोस भन्नुभयो  ।

प्रतिक्रिया दिनुहोस्