पाल्पाको रम्भा गाउँपालिकाका अनुशरणयोग्य कामहरु



पाल्पा जिल्लामा पर्ने रम्भा गाउँपालिका नेपालका ७५३ वटा स्थानीय सरकारमध्येको एक हो । यो पालिकाले असल अभ्यासका क्षेत्रमा आम पालिकाहरुका लागि अनुशरणयोग्य थुप्रै काम गरेको पाइएको छ। यस पंक्तिकारले क्षमता विकासको कार्यक्रम सञ्चालन गर्दा जनप्रतिनिधि र कर्मचारीबाट संकलित विवरणअनुसार यस पालिकाका असल अभ्यासहरु उजागर गर्ने ध्येयले यो आलेख तयार गरेको छु।

‘रम्भा गाउँपालिकाको शान, सुखी रम्भावासी, समृद्ध रम्भा हाम्रो अभियान’ भन्ने नाराका साथ रम्भा पालिका विकास निर्माण र आम जनतालाई सेवा प्रवाहमा अघि बढेको छ । शक्तिपीठ रम्भादेवी मन्दिरको नामबाट यो पालिकाको नाम जुराइएको छ। यस पालिकाभित्र रिमिघा लेक पर्छ, जो पर्यटकीय स्थल हो। यस पालिका ९४।१२ वर्गकिमि क्षेत्रफलमा फैलिएको छ। यस पालिकामा २५,९०७ जनसंख्या रहेको छ । मगर, ब्राह्मण, क्षत्री र दलितको बाहुल्यता रहेको यो पालिका प्राकृतिकरुपमा सुन्दर छ।

यस पालिकाको अध्यक्षमा विष्णुप्रसाद भण्डारी हुनुहुन्छ । जो राजनीतिक सुझबुझ भएको अनुभवी, सफल नेतृत्व दिन सक्षम व्यक्तित्व र सबैलाई समेटेर अगाडि बढ्ने कुशल नेता हुनुहुन्छ । यसै गरी, पालिकाको उपाध्यक्षमा राधाकुमारी क्षेष्ठ हुनुहुन्छ र उहाँ पनि अनुभवी तथा शालीन व्यक्तित्वको धनी हुनुहुन्छ । यस पालिकाको प्रमुख प्रशासकीय अधिकृतमा ठाकुरप्रसाद अर्याल हुनुहुन्छ, जो युवापुस्ताका केही नयाँ काम गरौं भन्ने अठोट, उत्साह, लगनशीलता र कर्ममा विश्वास गर्ने इमानदार पात्र हुनुहुन्छ । साथै, यस पालिकाका नेता र कर्मचारी पनि उच्च मनोबलका हुँदा यहाँ निकै उदाहरणीय काम भएको महसुस गरेको छु ।

रम्भा गाउँपालिकाले कृषिमा युवाहरुलाई आकर्षित गर्ने, सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने र बीउ उत्पादन अभियान सञ्चालन गरेको छ । यस पालिकाले आलुको उत्पादन वृद्धि, रैथानै बालीको संरक्षण तथा अदुवा, बेसार, सूर्यमुखी, कुरिलो, कोदोलगायतको उत्पादनमा प्रोत्साहन गरेको छ । यसै गरी, कृषि एम्बुलेन्स सञ्चालन गर्ने, जमिन बाँझो राख्न नदिने, दूध, मासु र अण्डाको उत्पादन बढाउने, मौरीपालन, नर्सरी सञ्चालन र स्मार्ट कृषिमा यस पालिकाले जोड दिइरहेको छ । गाउँगाउँमा सहकारी घरघरमा रोजगारी, बीउ बीजन, मल, कीटनाशक औषधिको सहज उपलब्धता यस पालिकाको उच्च प्राथमिकतामा रहेको छ ।
यस पालिकाले इँटा उद्योग र औद्योगिक ग्रामका क्षेत्रमा विशेष पहल गरिरहेको छ । पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा ¥याफ्टिङ सञ्चालन गरेको छ भने स्वास्थ्य सेवातर्फ स्वच्छ रम्भा ः स्वास्थ्य रम्भावासी नारालाई कार्यान्वयनमा ल्याएको छ । यस पालिकाले सुनौला हजार दिन, स्वास्थ्य शिविर, पोषण कार्यक्रम सञ्चालन गर्नुका साथै आमा समूहलाई प्रभावकारी तुल्याएको छ । यसै गरी, स्वच्छ जीवनका लागि सुरक्षित पिउने पानी, फोहोर मैला व्यवस्थापन, प्राविधिक तथा व्यावसायिक शिक्षा, विद्यार्थी भित्र्याउने, टिकाउने, सिकाउने र बिकाउने नीतिलाई यस पालिकाले बढावा दिएको छ।

यस पालिकाको असल अभ्यासलाई नियाल्दा यसले विद्यालयका शिक्षक र कर्मचारी तथा विद्यार्थीको दुर्घटना बिमा गरिदिएको छ। यसअन्तर्गत विद्यालयका शिक्षक र कर्मचारीको लागि रु। ३ लाखको र विद्यार्थीको लागि रु। १ लाखको बिमा भएको छ । यस पालिकाले कक्षा ९ सम्मका विद्यार्थीलाई दिवाखाजा उपलब्ध गराई आएको छ । संघीय सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई दैनिक रु। १५ का दरले प्रतिविद्यार्थी खाजा उपलब्ध गराएकोमा यस पालिकाले ९ कक्षासम्मका विद्यार्थीलाई दैनिक प्रतिविद्यार्थी रु. २० को दरले दिवाखाजा उपलब्ध गराउने गरेको छ। यस पालिकाले विद्यार्थीसँग करेसाबारी कार्यक्रम सञ्चालन गरिआएको छ। यसअन्तर्गत विद्यार्थीलाई श्रम र कृषि पेसाको सम्मान गर्ने वातावरण निर्माण गर्ने उद्देश्यले प्रत्येक विद्यार्थीलाई विभिन्न ७ किसिमका मौसमी तरकारीका बीउ वितरण गर्ने गरिएको छ। यसबाट विद्यालयमा एउटा नमुना नर्सरीको व्यवस्था गरी विद्यार्थीलाई खेती प्रणालीको सम्बन्धमा जानकारी दिने र प्रत्येक विद्यार्थीले आफ्नो घरमा सोही अनुसार करेसाबारी निर्माण गर्ने एवं सो कार्यलाई विद्यार्थीको प्रयोगात्मक परीक्षासँग आबद्ध गर्ने अनुशरणयोग्य काम यस पालिकाबाट भइरहेको छ।

यस पालिकाले नेपाल प्रहरीसँग २४ बुँदे सम्झौता गरी पालिकामा शान्ति सुरक्षाको मजबुत प्रणाली निर्माण गरेको छ। यस पालिकाले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक पनि तयार गरेको छ । यसमा विभिन्न समसामयिक विषयका साथै विद्यार्थी र किशोरकिशोरीलाई सचेतना जगाउने उद्देश्यले नेपाल प्रहरीसँग गरिएका समझदारीहरु पनि पाठ्यपुस्तकमा समेटिएका छन्। यस पालिकाले पालिकाभित्रका सबै प्रअहरुसँग ३९ वटा सूचकसहित १०० अंक प्राप्त हुने गरी कार्यसम्पादन करार सम्झौता पनि गरेको छ । यस पालिकाले आत्मरक्षाको तालिम पनि सञ्चालन गरेको छ । किशोरकिशोरी तथा बालबालिकाहरुमाथि हुन सक्ने दुव्र्यवहार न्यूनीकरण गर्न तथा रोकथामका लागि नेपाल प्रहरी, नेपाली सेना तथा विभिन्न निकायहरुसँगको साझेदारीमा यस्तो आत्मरक्षाको तालिम सञ्चालन गरिएको हो । यस पालिकाले सर्वप्रथम तालिमप्राप्त व्यक्तिहरुलाई मात्रै उपभोक्ता समूहमा रहन पाउने व्यवस्था गरी वडास्तरमै आयोजनाहरुको सम्झौता गर्ने गरेको छ ।

रम्भा गाउँपालिकाले ग र घ वर्गको अपांगता भएका व्यक्तिलाई क्रमशः रु। ५ सय र ४ सय तथा एकल पुरुषलाई मासिक रु। १ हजार जीवन निर्वाह भत्ता प्रदान गर्ने गरेको छ । यस पालिकाले विद्यालयहरुमा प्रार्थनामा ब्रेन जिम सञ्चालन गरेको छ । जसमा सबै विद्यालयमा एकै किसिमको बिहानी प्रार्थना सञ्चालन गर्ने गरिएको छ । यस्तो ब्रेन जिम प्रार्थना १५ मिनेटको हुने गरेको छ । यस पालिकाले अभिभावकविहीन बालबालिकालाई अभिभावकत्व ग्रहण गर्ने अभियान सञ्चालन गरेको छ । जसअनुसार सम्बन्धित विद्यालयका प्रअमार्फत अभिभावकत्व ग्रहण गरी बालबालिकाको उचित शिक्षादीक्षा प्रदान गरिएको छ । यस पालिकाले ई चौतारी सञ्चालनमा ल्याएको छ । यस पालिकाभित्रका सबै विद्यालयमा इन्टरनेट सेवा जडान गरिएको छ । यसबाट यस पालिका डिजिटल शिक्षातर्फ उन्मुख देखिन्छ ।

रम्भा गाउँपालिकाले बर्सेनि उत्कृष्ट विद्यार्थीको प्रोत्साहनका लागि पुरस्कार वितरण गरिरहेको छ । यस पालिकाले ४४ वटा जडीबुटीको प्रयोग गरी रम्भा नागरिक आरोग्य सेवा केन्द्रमार्फत च्यवनप्रास उत्पादन गरेको छ । ज्येष्ठ नागरिक र क तथा ख वर्गका अपांगता भएका व्यक्तिहरुलाई घरघरमा गई स्वास्थ्य परीक्षण गरेर च्यवनप्रास वितरण गर्ने गरेको छ । यस पालिकाले विपन्नका लागि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । यसबाट आर्थिकरुपमा विपन्न नागरिकहरु लाभान्वित भएका छन् । यसै गरी, एचपीभी डीएनए प्रविधिद्वारा ३० वर्षमाथिका महिलाको पाठेघरको क्यान्सर परीक्षण गरी पोजेटिभ देखिएका महिलाको उपचार गर्न पालिका प्रतिबद्ध रहेको छ । यस पालिकाले गर्भवती महिलालाई अण्डा वितरण गर्छ । यस पालिकाको सबै वडामा बर्थिङ सेन्टर छ । यस पालिकाले स्वास्थ्य इकाई र गाउँघर क्लिनिक सञ्चालनमा ल्याएको छ, सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । यी काम मुलुकका अन्य पालिकाहरुका लागि अनुशरणयोग्य रहेका छन् ।

रम्भा पालिकाले उत्पादनमा आधारित अनुदान दिई आएको छ । यसअनुसार कृषक तथा पशुपालकहरुले व्यवसाय प्रवद्र्धन गर्न उत्पादनमा आधारित अनुदान वितरण भरहेको छ। यसमा पहिलो चरणमा दूध, मासु र अण्डा उत्पादन गर्ने किसानहरुलाई सहकारीमार्फत अनुदान वितरण भएको छ। यस पालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। जसअनुसार किसानका उत्पादन वस्तु बजारसम्म ढुवानी गर्न पालिकाले दुईवटा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। यसबाट आम किसानले ठूलो सुविधा र सहुलियत पाएको महसुस गरेका छन् । यस पालिकाले लिची, सुन्तला पकेट कार्यक्रम सञ्चालन गर्नुका साथै शीत भण्डार पनि सञ्चालनमा ल्याएको छ। यस शीत भण्डारको क्षमता २५ टन रहेको छ । आम किसान र उपभोक्ताको हितलाई ख्याल गरी यस पालिकाले हाटबजार पनि सञ्चालनमा ल्याएको छ ।

रम्भामा पशु बिमा कार्यक्रम सञ्चालनमा छ, जसमा पालिकाले सघाएको छ । यसै गरी, यस पालिकाले स्थानीय पाठ्यपुस्तक निर्माण गरी पठनपाठनमा ल्याएको छ। यो पालिका बालमैत्री गाउँपालिका पनि हो। यस पालिकाले सबै स्वास्थ्य संस्थामा निःशुल्क प्रयोगशाला सञ्चालनमा ल्याएको छ। यो पालिका रैथानै बाली प्रवद्र्धनमा पनि अग्रस्थानमा छ। यसले विभिन्न ६ प्रकारका रैथानी बालीको खेती गर्न किसानलाई वार्षिकरुपमा अनुदान दिने व्यवस्था मिलाएको छ। यहाँ संस्कारसहितको प्रविधिमैत्री शिक्षा प्रदान गर्ने अवधारणा अनुरुप संस्कृत र अंग्रेजी भाषामा पढाइ हुने गरी कालीगण्डकी गुरुकुलको स्थापना गरी सञ्चालनमा ल्याइएको छ । लोकल एडप्सन प्लान अफ एक्सन रम्भा गाउँपालिकाले तयार गरी कार्यान्वयनमा ल्याएको छ।

रम्भा गाउँपालिकाले पालिकाभित्रका सबै घरपरिवार र त्यसका सदस्यहरुको विस्तृत विवरण संकलन गरी डिजिटल भिलेज प्रोफाइल तयार गरेको छ। साथै घर बिमा कार्यक्रमको आरम्भ गरेको छ । यस पालिकाले आफूलाई आलु र मासुमा आत्मनिर्भर पालिका घोषणा गरेको छ। त्यसै गरी एकीकृत घुम्ती शिविर सञ्चालन गरी गाउँपालिकाबाट प्रदान गर्ने सेवाहरु वडातहबाट प्रदान गरिआएको छ। यी र यस्तै अन्य थुप्रै रम्भा गाउँपालिकाका असल अभ्यासहरु मुलुकका अन्य ७५२ वटा पालिकाहरुका लागि अनुशरणयोग्य छन् । भविष्यका दिनमा यस पालिकाले अरु बढी नमुनालायक काम गर्न सकोस्, यस पालिकाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्