प्रसिद्ध धार्मिक स्थल लड्केश्वरको यात्रा संस्मरण



राजधानीबाट नजिकै रहेको भए पनि लड्केश्वर महादेवका बारेमा म अनभिज्ञ नै थिएँ। ॐकार ध्वनि गठन भएपछि ॐकार टेलिभिजन गठन गरेर त्यहाँको अध्यक्ष्यता गर्ने मुकुन्द शर्मा जागरुक, जुझारु व्यक्ति भएकोे पाइयो । मुकुन्दजीले टीभी चलाउने सिलसिलामा प्रचारमा नआएका धार्मिक ठाउँहरुलाई प्रचारमा ल्याई त्यहाँको धार्मिक पर्यटन बढाउने कार्यमा सरिक हुँदै आएको देख्दै आएको पनि हो । काभ्रे पलान्चोकको पूर्वी भागमा खोपासी नगरपालिका वडा नं. ११ मा अवस्थित बल्थलीमा लड्केश्वर महादेवतर्फ ॐकार टीभीको नजर पर्न गयो ।

समुद्र सतहबाट १७३० मिटरको उचाइमा रहेको बल्थलीमा दुई खोलाको दोभानमा स्थित लड्केश्वर महादेव परिसरमा ॐकारकै अगुवाइमा धार्मिक आस्था हुनेहरुको उदार मनले १०८ फिट अग्लो झन्डै सानो कोठाजत्रै अन्दाजी ७० फिट गोलो तामाको त्रिशूल गाडिएको छ । यो त्रिशूल बनाउँदा फलाम र तामा गरेर २ हजार ८ सय किलोग्राम लागेको बुझियो । सो त्रिशूलको मोटाइभित्र बसेर पूजा गर्न सकिने गरी शिवलिंग स्थापना भएको पाइयो । सो मन्दिर परिसरसम्म पुग्ने काठमाडौंबाट ६० किलोमिटर जति छ भन्ने हामीलाई लिएर जाने ड्राइभर सन्तोषले बताए ।

मोटरलाई सिँगारी मोटरभित्र शिवलिंग राखेर स्वयं मुकुन्दजीले ॐकार टीभीको प्रत्यक्ष प्रसारणसमेत गर्दै विगतका समयमा नेपालका सतहत्तर जिल्ला घुम्ने काम गरे । र, कोटिहोम गर्न नगद र वस्तुगत सहायता बटुल्दै वर्षांै मिहिनेत पनि गरे । फलस्वरुप २०८० फागुन २ गतेदेखि पूर्व रोशीखोला, पारि नमोबुद्ध नगरपालिका, उत्तरतिरबाट आएको लड्कु खोलाको दोभानमा लड्केश्वर भगवान्का सामीप्यमा कोटिहोमको थालनी भयो । सो अवसरमा विद्वान् पण्डितहरु पूर्व–नायब बडा गुरुज्यू माधव भट्टराईसहितले कार्य शुरु गरे । जसमा कोटिहोम एक महिना गरिरहँदा विष्णु भगवान्का अवतार मानिने पहिलाका राजा श्री ५ ग्यानेन्द्रका परिवार एवं वर्तमान महामहिम राष्ट्रपति रामचन्द्र पौडेलसहित १ करोड मानव लहरले कोटिहोमको प्रदक्षिणा गरेको जानकारीमा आयो । सो अवसरमा प्रत्यक्ष्य प्रसारणसमेत गरिँदै आएको देखिइरहेकै थियो ।

देवी भागवतका प्रवचन गर्ने डा. कान्ता शर्माको प्रवचनले मन्त्रमुग्ध गराइरहेको थियो भने ललिताजीले कार्यक्रमको झलकका बारेमा जानकारी दिई आर्थिक संकलन पनि निरन्तरता भइरहेकै थियो । ॐकार टीभीको संस्थापक अध्यक्ष मुकुन्द शर्माको यो व्यवस्थापनले कोटिहोममा रौनकता छाएको भान हुन्थ्यो । जति यात्रु गए पनि नियमित तरिकाले यात्रुका उदर भरिदिने व्यवस्था पनि भइरहेको थियो । लड्केश्वर शिव डाँडाभित्र अवस्थित देखिनु, त्यही शिवलिंग स्थापना हुनु । त्यहाँ जाने सिँढी राम्रो बनाइनु । यी सब कुरामा मुकुन्दजीको व्यवस्थापनको सराहना गर्न सकिन्छ ।

डाँडामा शिवको बास । माथिबाट पानी तपतप चुहिरहने शिवको दर्शन गरुन्जेल भिजिइने यो ठाउँ वास्तवमा नै महत्वपूर्ण मान्न सकिन्छ । शिवको जटाबाट गंगा बहेको किंवदन्ती यो ठाउँले सत्य साबित भएको भान हुन्छ । भनिन्छ, समुद्र मथन गरेर निस्किएको विष देवताहरुको हितका लागि शिवले पान गरेर उहाँको नाम नीलकण्ठ रहन गयो । उहाँले विष खाएपछि उहाँलाई डाहा भई निहुँरिएर सुस्ताएको ठाउँ नै लड्केश्वर महादेव भएको जनविश्वास पनि पाइयो । शिव निहुँरिएको हुँदा उहाँलाई महाकालेश्वर अर्थात् कालरुद्र अर्थात् लड्केश्वर पनि भनिएको हो भन्ने मुकुन्दजीले आख्यान बताउनुभयो ।

त्यहाँ सुस्ताएर शिजजी हिँड्दै गर्दा रसुवामा पुगी आफ्नो त्रिशूल जमिनमा गाडे । त्यहाँ पानी निस्कियो । त्यो पानीको कुण्ड नै गोसाइँ कुण्ड हो भन्ने तर्क पनि सुनियो । त्यताबाट बहेको नदी त्रिशूली नदी भन्ने कुरा पनि किंवदन्ती सुनिदै आएको छ । जे होस्, लागेको काममा तल्लीन भई कोटिहोमजस्ता महान् कार्य सिद्धि गर्ने ॐकार टीभीका संस्थापक मुकुन्दजी धन्यवादका पात्र त भए नै । त्यो होमकुण्डको नाम पनि श्रुतिधर मण्डप भनि राखिएकोमा त्यो बल्थली एरियाका बासिन्दाहरुको लागि गर्वको विषय हुन पुगेको कुरामा दुईमत नहोला।

प्रतिक्रिया दिनुहोस्