रातो मच्छिन्द्रनाथको रथयात्रामा उच्च सुरक्षा प्रबन्ध

रथयात्रा अवधिभर २५ सयभन्दा बढी प्रहरी परिचालन



ललितपुर ।

गत शनिबारदेखि शुरू भएको वर्षा र सहकालका देवताका रूपमा पुजिने बुं∙द्यः अर्थात् ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रामा प्रहरी प्रशासनले उच्च सुरक्षा सतर्कता अपनाउँदै सयौं प्रहरी परिचालन गरी सुरक्षा प्रबन्ध मिलाउँदै आएको छ।

रातो मच्छिन्द्रनाथको रथ यात्राका पछिल्ला केही वर्षदेखि सुरक्षा व्यवस्थापनको हिसाबले गृह मन्त्रालय र प्रहरी मुख्यालयको समेत मुख्य चासो रहने गरेको छ । यसले गर्दा रातो मच्छिन्द्रनाथ रथयात्रा केन्द्रित सुरक्षा योजना तयारी गरी त्यसको कार्यान्वयन गर्दै आएको हो।

सम्भाव्य जोखिम, सडकको संरचना, मानिसको घनत्वलगायत विविध पक्षले सुरक्षा व्यवस्थामा पार्नसक्ने असरको आधारमा सुरक्षा चुनौतीलाई विश्लेषण गरी सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

प्रहरी वरिष्ठ उपरीक्षक खनालका अनुसार मच्छिन्द्रनाथको रथमा श्री मच्छिन्द्रनाथको मूर्तिसहित विभिन्न बहुमूल्य मूर्ति, बहुमूल्य धातु, गरगहनाको सुरक्षा, रथयात्रामा हुने भीडभाडमा मानिसको जीउधनको सुरक्षा र मानिस आस्था र विश्वासअनुसार जात्रा पर्व मनाउने दिने गरी तीन वटा पक्षलाई हेरेर सुरक्षा योजना तयार गरिएकोे थियो।

३२ हात लामो रथ तान्ने क्रममा हुनसक्ने सम्भावित दुर्घटनाबाट मानिसलाई बचाउनेतर्फ सुरक्षा केन्द्रित गर्दै रथ तान्ने बेला रथको दाँयाबाँया प्रहरीहरू खटिएका छन्। रथयात्रामा सुरक्षा व्यवस्थाको लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्डमा २ सय ५० देखि ३ सय ५० जना प्रहरी परिचालन हुने गरेको छ। रथयात्राका क्रममा प्रहरी परिसरसँगै प्रहरी वृत्त सातदोबाटो, मंगलबजार प्रभाग, बालकुमारी प्रभाग, इमाडोलबाट मात्र नभई काठमाडौंका विभिन्न कार्यालयबाट प्रहरी झिकाएर परिचालन गर्दै आएको छ।

रथको पहिलो सुरक्षा घेरामा नेपाल प्रहरी रहने गर्दछ । रथ तान्ने बेला रथ पछाडिको भागमा ४५ जना सशस्त्र प्रहरीले घेरा हालेर सुरक्षा प्रदान गर्दै आएको सशस्त्र प्रहरी २१ नम्बर गणले जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक खनालले मानिसको धार्मिक आस्था, परम्पराप्रतिको अपनत्वलाई सम्मान गर्दै सोहीअनुरूपको गतिविधि सहज बनाउन प्रहरी खटाइएको बताउनुभयो।

रथयात्राका क्रममा हुनसक्ने पाकेटमारी, झैझगडालाई ध्यानमा राखेर सिभिल ड्रेसमा प्रहरी परिचालन गर्दै आएको छ भने जिल्लास्थित अनुसन्धान विभागका प्रहरी परिचालन गर्ने गरेको छ। रथयात्रा नहुने बेला रथको मूर्तिको सुरक्षाका लागि ४ जना र रथअगाडि सुरक्षाका लागि १५ जना प्रहरी तैनाथ हुने गरेका छन्।

रथयात्राको पहिलो र दोस्रो दिन प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको नेतृत्वमा रहेको नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना, जिल्लास्थित अनुसन्धान विभाग गरी चारवटै सुरक्षा निकाय प्रमुखहरू खटिएका थिए। वैशाख २९ गते शनिबार रथयात्राको पहिलो दिन रथ तानेर गाबहाल पुर्‍याइएको थियो। उक्त दिन ३ सय १३ जना प्रहरी परिचालन गरिएको थियो।

दोस्रो दिन वैशाख गाबहालबाट मंगलबजार पुर्‍याउने बेला २ सय ६९ जना प्रहरी परिचालन गरिएको थियो । तेस्रो दिन सोमबार मंगलबजारबाट तानेर सुन्धारा पु¥याउने क्रममा पनि २ सय ६९ प्रहरी परिचालन गरिएको थियो । रथयात्रा अवधिभर कुल २५ सय हाराहारीमा प्रहरी परिचालन हुने पनि परिसरले जनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक खनालको नेतृत्वको ‘कमान्ड फोर्स’ले रथ यात्राको दूरी, तानेर पुर्‍याउनुपर्ने ठाउँ आदि हेरेर सुरक्षा योजना कार्यान्वयन गर्दै आएको छ। यसबारे प्रशासनले सोझै गृह मन्त्रालय र प्रहरीले प्रहरी मुख्यालयमा अलगअलग रूपमा नियमित ब्रिफिङ गर्दै आएको बुझिएको छ।

२०७७ साल भदौ १८ गते बिहीबार स्थानीयले स्वस्र्फूत रूपमा रथ तानेपछि स्थानीय र प्रहरीबीच झडप निम्तिएको थियो । २०७८ सालमा भने प्रशासनले निषेधाज्ञाका बीचमा पनि रथवरपर निषेधाज्ञा जारी गरी सांकेतिक रूपमा रथ तान्न लगाउने बन्दोबस्त गरेको थियो । ती घटनाबाट पाठ सिकेर प्रहरीले रथयात्राको लागि सुरक्षा योजना तयार गरी सुरक्षा सतर्कता अपनाउँदै आएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले सुरक्षा प्रबन्ध मिलाउने मात्र नभई रथ बनाउने बेलादेखि नै रथ बनाउने यँग्वाल, पानेजु र बाराहीहरूसँग छलफलका साथै रथयात्राको रुटको अवस्थाबारे बुझ्ने काम भएको बताउनुभयो।

उहाँले समुदायसँग अन्तरघुलन भई प्रशासनले काम गर्दै आएको पनि बताउनुभयो । ज्यापू समाज यलअन्तर्गत क्षेत्रअनुसार जात्रा व्यवस्थापन टोली खटिँदैै आएकोले जात्रा शान्तिपूर्ण बनाउन टेवा पुगेको गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले बताउनुभयो।

तुलसीबहादुर श्रेष्ठ
प्रमुख जिल्ला अधिकारी, ललितपुर

रथयात्रा व्यवस्थित, शान्तिपूर्ण र मर्यादित तरिकाले गर्नका लागि जिल्ला प्रशासन कार्यालयले सुरक्षा निकायसँगै सरोकारवालाहरूलाई शुरूमै कार्यालयमा बोलाएर बैठक राखिएको थियो । समुदायस्तरमा गठित जात्रा व्यवस्थापन समूह, स्थानीय तह सबैसँग समन्वय गरी परम्परा र सांस्कृतिक मूल्यअनुसार रथ यात्रा सञ्चालन गर्न प्रशासनले सहजीकरण गर्दै आएको छ ।

शेखर खनाल
प्रमुख, जिल्ला प्रहरी परिसर ललितपुर

देशकै राष्ट्रिय गौरव र पहिचानको रूपमा रहेको रातो मच्छिन्द्रनाथको रथयात्रा व्यवस्थित गराउन नेपाल प्रहरी शुरूदेखि खट्दै आएको छ । भीड व्यवस्थापनदेखि पाकेटमारी, चोरी र सम्भावित दुर्घटनालाई मध्यनजर गरी सुरक्षा योजना बनाएर सुरक्षाकर्मी परिचालन गर्दै आएका छौं ।

प्रतिक्रिया दिनुहोस्