पुस्तक चर्चा

कोमलताले भरिपूर्ण कवितासङ्ग्रह-स्मृतिको पुरानो दह



काठमाडौं ।

छोटा कवितामा आफ्नो प्रभुत्व जमाउन सफल कवि सन्तोष थेवेको कवितासङ्ग्रह स्मृतिको पुरानो दह कोमलताले सुसञ्जित छ। अमेरिकामा बस्दै आएका कवि थेवेको स्मृतिको पुरानो दह कविताले उनलाई सफल कविमात्र नभई कवितालाई कोमलताले सिँगार्न सक्ने कलाकारसमेत बनाएको छ।

यो एउटा उत्कृष्टताको प्रमाण हो कि कवितालाई सरल र सरस ढङ्गबाट स्मृतिका रङ्गहरूले सिँगार्न सक्ने क्षमता विरलैमा हुन्छ। ५५ वटा कविताको सङ्ग्रहले जीवन, प्रेम, संघर्ष र अर्थ व्यवस्थालाई सम्बोधन गरेको छ । यसका साथै देश–परदेशको यात्रालाई बाध्यता कि रहर, सुन्दरता मनको हो कि शब्दको, ईश्वर भावनाबाट जन्मिन्छ कि मूर्तिबाट ? यस्तै किसिमका विविध द्विविधायुक्त प्रश्नहरू पनि कवितामा उब्जिएका छन् । यद्यपि प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको गौरवगाथा, सामाजिक रहनसहन, भक्तिभाव र नम्रता, नदीनाला, ताल एवम् झरनाको कथाव्यथा, स्त्रीचरित्र र संघर्षलगायतका विविध पक्षहरूलाई कोमल रसका माध्यमबाट सिँगारेर हरकवितालाई पूर्णता प्रदान गर्ने चेष्टा कविले हरेक पङ्क्ति–पङ्क्तिमा गरेको पाइन्छ ।

वर्तमान समयमा अर्थोपार्जनका लागि नेपाली युवायुवतीले बाध्यतापूर्ण हिसाबले देश छोड्नुपरेको यथार्थतालाई कवितामा आत्मसात् गरिएको छ । एकातिर नेपाली समाजमा सनातन समयदेखि चेलीबेटीलाई घर बाहिर नपठाउने जुन प्रकारको संस्कृति हजारौँ वर्षसम्म चलिरह्यो, आज त्यसको ठीक विपरीत अर्थोपार्जनका लागि चेलीबेटीलाई विदेश पठाइरहेको कारुणिक दृश्यलाई कवितामा सुस्पष्ट चित्रमा कुँदिएको छ। बाध्यतामा मुस्कुराउनु र हृदय प्रफुल्लित भएर मुस्कुराउनुमा जुन तहको अन्तर छ।

आज जीवन जिउनु र सपनाहरू देख्नमा पनि त्यही तहको अन्तर रहेको कुरा कविले चित्रण गरेका छन् । ईश्वरको नाममा मान्छेले मान्छेप्रति गरेको व्यवहारले मानवतामाथि प्रश्न उठ्न आवश्यक छ भन्ने कविको ठम्याइ देखिन्छ। ईश्वरको नामलाई सम्बोधन गर्दा कविले ईश्वरलाई समेत कमजोर साबित गर्ने चेष्टा गरेका छन्। यसबाट नास्तिकताको भान पैदा हुन्छ तर यथार्थतामा कविले लेखिन बाँकी इतिहासको विश्लेषण गर्न खोज्दा आस्तिकताले उनी ओतप्रोत बनेका छन् । यसको मतलब कविमा नास्तिकता र आस्तिकता दुवैको प्रभाव परेको छ। उनी दुवैको बीचमा उभिएका छन्।

तथापि ईश्वरको नाममा चलिरहेको बलि प्रथाले ईश्वरलाई कमजोर साबित गरेको छ। कविले कवितामा ईश्वर कमजोर भएका कारण खुन खान्छ र खुनले नै ईश्वर जीवित बन्ने गर्दछ, यो निकृष्ट विचार हो भन्ने भाष्यको व्याख्यान गरेका छन् । केही हदसम्म यस पक्षको गहन ढङ्गले वकालत गर्न पनि सकिन्छ। किनभने सर्वेसर्वा ठानिएका ईश्वरहरूले निरक्षर, निर्दोष जीवको खुन खाएर बलियो बन्नुले कुनै बहादुरी होइन ईश्वरमाथि नै कायरता थप्दछ, यसर्थ ईश्वर शान्त, सौम्य र लालित्यपूर्ण हुनुपर्छ भन्ने भाष्य कविले कवितामा छरेका छन् । यो काव्यको सबैभन्दा कोमल र सुन्दर पक्ष हो ।

कवितामा यौनिकताले पनि स्थान पाएको छ। जसरी समाज सबै मानिसको हिस्सा हो वा भनौँ समाज मानवजीवनको उपज हो, त्यसै गरी नगरवधूहरूसमेत यही समाजका उपज हुन्, उनीहरूले हजारौँ वर्षदेखि आफूलाई समर्पित गरेर समाजको यौनिक पक्षलाई सभ्य बनाइदिएका छन्। यसर्थ उनीहरूलाई पनि सम्मान गरिनुपर्छ भनेर कविले आफ्नो आवाजलाई कविताका माध्यमबाट बुलन्द गरेका छन्। नगरवधूहरूको दुःखलाई लेखेर वधुहरूले आफूलाई स्थापित गरिरहेका छन् तर नगरवधूहरूको जीवन जहाँको त्यहीँ छ। यसकारण राज्यदेखि लिएर समाजका सरोकारवाला पक्षहरूले नगरवधूहरूको जीवनप्रति समयमै ध्यान दिनुपर्दछ।

लामो समयसम्म मानवजीवन संर्षको बाटोमा रुमलिएको थियो । हामीले आजको जीवन जति सरल, सहज र सुविधायुक्त रूपले प्राप्त गरेका छौँ । यो प्राप्तिका लागि हाम्रा पूर्खाहरूले आफ्ना लाखौं वर्ष खर्च गरेका छन् । उनीहरूले रगत र पसिना बराबर बगाएका छन् । उनीहरूले संघर्षले जीवन सिँगारेका थिए तर हामीले आज रहरले जीवन सिँगारेका छौँ । यसले प्रातकालीन समयमा हामीलाई सुख दिलाए तापनि सन्ध्याकालीन समयमा यी रहरहरूले मानव समुदायमाथि दुःख थप्नेछन् । यसकारण रहरहरूसँग समयमै संयमित बन्नुपर्छ भन्ने आध्यात्मिक एवम् दार्शनिक चेतसमेत कवितामा प्रस्तुत गरिएको छ । रहरहरूको भारीलाई कविले बोक्न नसकेको गधाको भारीको संज्ञा दिएका छन् ।
बोक्न नसकेका
गधाका भारीजस्ता रहरहरू
बेला–बेला
नथामिएर मन कहीँ कतै
आँखामा आएर रुने गर्छन्’ –रहरहरू पेज नं.६९
यस पङ्क्तिबाट पनि स्पष्ट हुन्छ कि कवि भौतिक जीवनका साथै आध्यामिक जीवनसँग समेत नजिक छन् । यस्तै कविले बूढो समय कवितामा भनेका छन्–
‘एउटा बूढो समय
आफ्नै छातीमा ठुङ मार्दै
थोपा–थोपा दुःख चाखिरहेछ
स्वाद हराएपछि जीवनको’ पेज नं.८१

यसबाट के स्पष्ट हुन्छ भने, कविले प्राकृतिक सुन्दरता एवम् प्रकृतिको संरक्षण गर्न जरुरी छ भन्ने सन्देश दिन खोजेका छन् । बढ्दै गएको समयमा सुविधाको खोजीका लागि जसरी प्रकृतिको दोहन भइरहेको छ यसले मानवजीवनलाई रङ्गहीन, स्वादहीन बनाउनेछ । किनकि प्रकृतिविना मानिसको जीवनको कल्पनासमेत गर्न सकिँदैन । यस प्रकारका कोमल शब्द रसले सिँगारेर कवितालाई शक्तिशाली बनाउने प्रयत्न कविले हरेक कवितामा गरिरहेका छन् ।

वर्तमान विज्ञान र प्रविधिको युगमा मानवजीवनमा आफ्नै रहरहरू प्रगतिको बाधक बनेको छ । मानव समुदाय चारैतिर अस्तव्यस्त देखिन्छ । यहाँ सबैलाई हतार छ । फुर्सदमा भनौँ कि आराममा भनौँ, कोही छैन । यो उन्नति हो कि अवन्नति, छुट्याउन गाह्रो छ । यहाँ कवितामा भनिएको छ–
‘खोइ कहाँ फुर्सद छ र मान्छेलाई
हिसाब बेहिसाब जीवनका पाना पल्टाएर
थरथर काँप्दै दोधारमा….’ कालो मोसो पेज नं.३९
वर्तमान समयमा तँछाडमछाड गरेर अघि बढिरहेको शहरीकरण, सुविधाको खोजीमा भौँतारिरहेको मानवजीवन र यो समयले आफ्नै जीवनका शान्तिका गीत सुन्न सकेको छैन । आफैँमा साहस भर्न सकेको छैन । आफैँभित्र मुस्कुराउने खुशीलाई महसुस गर्न पाएको छैन । यस प्रकारले कवितामा कोमलताका साथ दर्शन भर्न सक्नु खुबीकै कुरा हो । यस्तै अर्को कवितामा–
‘केही छैन गाउनलाई नयाँ
मनभरि आँधी चलिरहेछ
चेतनामा ज्वालामुखी उम्लिरहेछ’ जीवनगीत पेज नं.२९
हामीले जीवनमा जतिथोक नयाँ गरे पनि यो सब प्रकृतिको उपज हो । जुन माटोमा हुर्किएर माटोमै विलय हुने गर्दछ । बुद्धका पाउहरूले टेकेको माटोमा मनमा शान्ति र स्थिरताको खेती गर्नुको साटो मनभरि आँधी र चेतनामा ज्वालामुखी बोकेर हाम्रो जीवन अघि बढिरहेको वर्तमान परिप्रेक्ष्यमा हामीले जीवनको गीत सुन्न सक्नुपर्छ । आनन्दीको श्वास फेर्न सक्नुपर्छ भने ज्ञानमय सूक्तिका माध्यमबाट उपदेश दिन खोजिएको छ।

माथि उल्लिखित पङ्क्तिहरू केही प्रतिनिधि पङ्क्तिमात्र हुन् । कवि मानवजीवन, संघर्ष, प्रेम, अध्यात्मदर्शन र प्रकृतिप्रति निकै संवेदनशील छन् । यसर्थ पनि उनका कवितामा कोमलता भरिएको हुन सक्छ । जीवनका सर्वपक्षहरूलाई समेट्ने प्रयासका साथ कवितासङ्ग्रहमा प्रस्तुत भएका कवि सन्तोष थेवेका कविताबाट हामीले मानवजीवनको महत्वपूर्ण रहस्यलाई बुझ्न सक्छौँ र आफ्नै विगतलाई सम्झिन सक्छौँ । वर्तमानमा समयमा रहरहरूलाई मात्र मान्यता दिनुले मानवसमाज दुर्गतिको बाटोमा अघि बढ्नेछ भनेर कविले समयमै सबैलाई सजग रहन आग्रह गरेका छन् भने उनले कवितामा आफ्नो सानदार उपस्थिति जनाएका छन् । प्रस्तुत कवितासङ्ग्रहबाट कविको कवित्व चेतको आँकलन गर्दा उनी द्विविधामा पर्ने गरेका छन् । कतैकतै भाषिक प्रस्तुति र शिल्पमा कमजोर साबित भएका छन्, तथापि कविता साहित्यमा कवि सन्तोष थेवेले आफ्नो बलियो उपस्थिति बनाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्