नासाको परिकल्पनामा स्थापित राष्ट्रिय आविष्कार केन्द्र



काठमाडौं ।

संयुक्त राज्य अमेरिकाका तत्कालीन राष्ट्रपति जोन एफ क्यानेडीले एउटा दृढ प्रतिज्ञा गर्दै चन्द्रमामा रकेट पठाएर त्यसको बारेमा अनुसन्धान गरेरै छोड्ने अडान लिए। फलस्वरुप सन् १९६९ को जुलाई महिनाको २० तारिखका दिन यानमा चढेर चन्द्रमामा पुगेका निलआर्म स्ट्रङले चन्द्र धरातलमा मान्छेको प्रथम पाइलो टेक्न सफल भए।

चन्द्र धरातलमा अन्तरिक्ष यात्रीले पाइला टेक्दै गरेका बेला अमेरिकी राष्ट्रपति क्यानेडी भन्दै थिए, ‘अन्तरिक्ष यात्री निलआर्म स्ट्रङले टेकेको पाइलो मान्छे स्वयंका लागि एउटा सानो पाइलो मात्र हो तर सिंगो मानवजातिका लागि ठूलो फड्को हो ।’ यसरी ठूलो फड्को मार्ने क्रममा अमेरिकामा रहेको नासा भन्ने वैज्ञानिक अनुसन्धान संस्थाले विकास गरेको अन्तरिक्ष यानले चन्द्रमामा मात्र मान्छेको पहिलो पाइलो टेकाएर नपुगी चन्द्रमाभन्दा हजारौँ गुनाको दूरीमा रहेको मंगल ग्रहमा समेत यान पठाउने र त्यो पनि दुई–दुईपटक पठाउने काम गरिसकेको छ।

यसरी दुईपटक पठाएका यानहरुलाई त्यहीँ अवतरण गरेर राखिएका हुनाले त्यहाँबाट विभिन्न सूचनाहरु लिएर समेत फाइदा उठाइरहेको मात्र होइन कि निकट भविष्यमा मानवसहितको यान मंगल ग्रहमा पठाउने तयारीमा अमेरिका र नासा लागिपरेका छन् । यदि त्यो कार्य सफल भएको खण्डमा केवल अमेरिका र नासा मात्र होइन कि संसारको मानवजातिको उन्नतिको सिँढी चढेको दिन हुनेछ । हल्लामा जे र जस्ता कुरा भनिए पनि मानवसहितको अन्तरिक्ष यान अमेरिकाले मंगल ग्रहमा सफलतापूर्वक कहिले पठाउला ? भनेर पर्खनुपर्ने अवस्थामा हामी रहेका छौँ ।

संसारले गरेका अनेकौँ क्षेत्रका वैज्ञानिक प्रगति देखेर प्रभावित भए पनि आफ्नो देशमा भने विगतमा खोलिएका उद्योगधन्दासमेत बन्द हुन पुगेका, सुहाउँदो रोजगारीको अभावमा युवावर्ग भौँतारिँदै विदेशतिर लागेका, नेपाललाई कृषिप्रधान देशको उपनामले पुकारिए पनि धेरै खेतबारी बाँझै रहेका, राजनीति र प्रशासनका क्षेत्रमा व्यापक अनियमित काम हुन जानाले देशको अवस्था लथालिंग–भताभुंग हुन पुगेको कारुणिक अवस्था सिर्जना भएको छ।

यस अवस्थामा स्वदेश र स्वदेशी जनताको अवस्थाप्रति धेरै नेपालीले चिन्ता प्रकट गरेको सुन्न, देख्न र भोग्नसमेत पाइन्छ । नेपालको यसै दुरावस्थाबाट प्रभावित भएका एक पात्र महावीर पुन पनि हुन् । उनी वि.सं. २०११ सालमा म्याग्दी जिल्लाको नागी गाउँमा जन्मेका र पछि अमेरिकाको नेब्रास्का विश्वविद्यालयमा छात्रवृत्तिमा पढेर नेपाल फर्केका व्यक्ति हुन् । यदि उनी अमेरिकमा नै बसेर सुखसयलको जीवन जिउन चाहेका भए पनि सक्ने थिए, तथापि उनलाई स्वदेशको ममताले यति बलियोसँग समात्यो कि त्यही ममताका कारण नेपालका बेरोजागार युवा जनशक्तिलाई उपयुक्त रोजगारी दिएर कसरी स्वदेशमै राख्न सकिन्छ भन्ने ध्याउन्नमा लागे।

पहिले त यो अभियान आफ्नै गाउँ नागीबाट थालनी गरेका थिए। अहिले आएर काठमाडौँको कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको हाताको खाली स्थानमा राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेर त्यसलाई सञ्चालन गर्ने कामसमेत गरेका छन् । त्यस केन्द्रले जुनसुकै क्षेत्रका प्रतिभावान् नेपालीले निःशुल्क खाना, बास र आवश्यक सामग्री पाउने व्यवस्था गरिएको छ । त्यति मात्र होइन कि महावीर पुनकै प्रयासमा निकै वर्षअगाडिदेखि बन्द अवस्थामा रहेको वीरगन्ज औजार कारखानासमेत पुनः चालू गर्न थालिएको छ । त्यस कारखानाले केही कृषि औजार उत्पादनसमेत गर्न थालिसकेको छ ।

कुनै पनि संस्था अथवा उत्पादन गरिने कारखानाबाट पर्याप्त उत्पादन भएर सञ्चालन गर्न सकिने गरी नाफा नकमाउँदासम्म पनि त्यसको सञ्चालनको लागि स्तरअनुसारको आर्थिक लगानी आवश्यक पर्दछ । महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रमा पनि करिब एक दर्जनभन्दा बढी प्रतिभाहरु विभिन्न क्षेत्रको अनुसन्धानमा जुटिरहेका छन् । तिनीहरुलाई खुवाउन र आवश्यक पर्ने सामग्री जुटाउनका लागि मासिक लाखौँ रुपियाँ लगानी गर्नुपर्ने हुन्छ। त्यही आर्थिक उपार्जनको लागि यस केन्द्रका संस्थापक प्रमुख महावीर पुन आफैँले लेखेको सम्झना, सपना र अविरल यात्रा नामको पुस्तक बेच्न हरेक जिल्लाको हरेक दुर्गम गाउँमा समेत पुग्दै र आम जनतालाई अनुरोध गर्दै छन्।

आम नेपालीले पनि निकै उत्साह, हौसला र खुशीका साथ उनको पुस्तक किनिदिएर हरसम्भव प्रयास गरिरहेका छन् । हामी सबैले पनि उनको पुस्तक किनिदिएर आविष्कार केन्द्रलाई सहयोग गर्न सक्छौँ । एउटा दुर्गम जिल्लाको विकट गाउँमा जन्मेर यति महान् सोचका साथ नेपाली जनता (विशेष गरी युवावर्ग) लाई स्वदेशमै रोक्नका खातिर अहोरात्र निःस्वार्थ भावनाले खट्ने मान्छे यो जमानामा पाउनु हामी सबै नेपालीका लागि ठूलो सौभाग्यको विषय हो । महावीर पुनजस्तै निःस्वार्थ भाव भएका र देश अनि जनताका लागि अहोरात्र खट्न सक्ने हजारजना मान्छे भइदिए कति जाती हुने थियो होला । हाम्रो देश पनि संसारका विकसित देशको दाँजोमा केही वर्षमा नै आउने थियो होला । हामी पनि सुखी र खुशी नेपाली जन भनेर चिनिने थियौँ होला ।

कुनै पनि देशको सरकार भनेको त्यस देशका आम जनताको अभिभावक संस्था हो । एक–एक व्यक्तिले कठोरताका साथ गर्न खोजेका कुनै पनि काम सरकारले सजिलै र सहजसँग गर्न सक्छ । यसको खास कारण व्यक्ति वा एक्लो नागरिको तुलनामा राज्य वा सरकारसँग जनशक्ति, पूँजी सबै कुरा पर्याप्त हुन्छ । देशका नागरिक एक–एकले सहयोग गरेर भए पनि व्यक्तिको तुलनामा राज्य बलियो, शक्तिशाली र धनी हुने हुन्छ । त्यसैले व्यक्तिले थालेका वा स्थापित गराएका अनि देश र जनताका लागि सकारात्मक प्रतिफल दिन सक्ने कुनै पनि संघसंस्थालाई व्यक्तिले जुन पवित्र भावना वा सोचाइले अनेक अड्चन सहेर सञ्चालनमा ल्याउन सकेको वा स्थापित गराउन सकेको थियो त्यसमा कुनै पनि नकारात्मक आँचको गन्ध आउनै नदिएर सञ्चालन र स्थापित गर्ने प्रयास गरिनु सरकार स्वयंको दायित्व हो ।

महावीर पुन स्वयंको पहलमा स्थापना गरिएको राष्ट्रिय आविष्कार केन्द्रको भविष्य उज्यालो छ । त्यस केन्द्रबाट विभिन्न क्षेत्रका वैज्ञानिकहरु उत्पादन हुनेछन् । सियो पनि नबन्ने भन्ने भनाइ रहेको हाम्रो देशले विभिन्न यातायातका साधनहरु जस्तै– मोटरसाइकल, गाडी आदिका साथै हेलिकोप्टर, हवाईजहाजसमेत आफ्नै देशमा उत्पादन गर्न सक्ने जनशक्ति उत्पादन हुनेछन् । त्यति मात्र होइन, अन्तरिक्षको खोज–अनुसन्धानमा लाग्नेछन्, आधुनिक कृषिको क्षेत्रमा लागेर हामी स्वयं खाद्यान्नमा आत्मनिर्भर हुने प्रयास गर्नेछौँ । पहाडी क्षेत्रका अग्ला भीरलाई बन्जी जम्पको हब बनाउनेतिर कोही युवाको ध्यान जानेछ । यसरी राष्ट्रिय आविष्कार केन्द्रको स्थापनाले गर्दा हाम्रो देशको विभिन्न क्षेत्रको विकासको गतिले तीव्रता लिँदै जाँदा क्रमशः हाम्रा परनिर्भरताहरु हट्दै गएर आत्मनिर्भरताको बाटोतिर लाग्न सकिनेछ ।

महावीर पुनको सक्रियतामा स्थापना भएको यस आविष्कार केन्द्रको भविष्यको योजना भनेको अमेरिकाको नासाको योजनाजस्तै हो । स्थापना भएको छोटो समयमा ठूला सपना देख्न नसके पनि भविष्यमा गएर निकै महान् कर्ममा सफलता हासिल गर्न कामयावी बन्नेछ । यो कुरा किन ठोकुवाका साथ भन्न सकिन्छ भने, यसले आम नेपाली जनताका साथै धेरैजना विदेशीको ध्यानसमेत तान्न सफल भएको छ । संस्थापक व्यक्तित्व महावीर पुनले आफ्नो पुस्तक सम्झना, सपना र अविरल यात्रामा आफ्नो जीवनको अवसानपछि यस संस्थाको उत्तराधिकारको जिम्मा नेपाल सरकारले लिनुपर्ने कुरा बताएका छन् । उनले यति धेरै दौडधूप गरेर सञ्चालनमा आएको आविष्कार केन्द्रको उत्तराधिकारी सरकार स्वयं बनिदिएर पुनले देशका युवाको प्रतिभा फस्टाउने र हरेक क्षेत्रको वैज्ञानिक उन्नति हुने कुरा राखेका छन्, त्यो वास्तवमा सही आँकलन हो ।

नेपाली राजनीतिको क्षेत्रबाट प्रायजसो कहिल्यै पनि देशभक्त नेतृत्व सत्तामा आएको र देशको भलाइ हुने काम निःस्वार्थ भावले गरेको अनुभव नेपाली जनताको मनमा कहिल्यै अनुभूत हुन पाएको छैन । अब पनि कति समयसम्म यसरी नै चलिरहने हो भन्ने कुराको केही निश्चितता छैन। २००७ सालमा आएको भनिएको प्रजातन्त्र कालका नेताले राणा शासकको शान, शौकात हेरेर आफ्नो जीवनको मोडलाई पनि ऐयासी जीवनको बचाइतिरै धकेलेर लगे । त्यसपछिका उनीहरुका चेलाहरुमध्ये कोही पनि त्यागी नेताको रुपमा चिनिन तदनुसारका कर्म गर्न नसकेको तीतो अनुभव नेपाली जनताले गर्नुपरेको छ । हालकै परिवेशको कुरा गर्ने हो भने पनि देश र जनताको भलाइका लागि भन्दा आफ्ना स्वार्थका लागि मरिमेट्ने खालको नेतृत्वले देश हाँकिरहेको अवस्था छ । यस्तो विषम परिस्थितिमा बिचरा महावीर पुनको जीवन रहँदासम्म राष्ट्रिय आविष्कार केन्द्र पनि जीवित रहेर विभिन्न क्षेत्रका अनुसन्धानमा सफलता हासिल गर्दै लैजाला । तर उनको जीवनको अवसानपछि यो फस्टाउँदै जाने क्रम यथावत् रहला कि नरहला भन्ने कुरामा निश्चिन्त हुने ठाउँ छैन ।

महावीर स्वयंले उक्त संस्था सञ्चालनका लागि सहयोग माग्दा होस् कि संस्था दर्ता गराउनका लागि पहल गर्दा होस्, ती कालखण्डमा भोग्नुपरेका पीडाको फेहरिस्त सुन्नुपर्दा वर्तमान सरकार पनि अनुसन्धान केन्द्रप्रति सद्भाव राख्नेवाला छ जस्तो अनुभव हुँदैन। बरु त्यसको साटो सरकारले विभिन्न कुनामा कमिसन खानुपर्ने भाँडो बनाउने हो कि भन्ने चिन्ता छ । यो केन्द्र उकासिनुको साटो असहाय भई वीरगन्ज औजार कारखानाकै हालतमा जान्छ कि भन्ने चिन्ता र चासो हरेक नेपालीलाई लागेको छ। यदि लगानी गरेर सञ्चालनमै आए पनि संस्थापक व्यक्तित्व महावीर पुनले जुन पवित्र हेतुले स्थापना गरेका थिए त्यो पवित्र हेतुको स्थानमा खराब हेतुले सञ्चालन गरियो भने पनि त्यसको स्थापनाले केही अर्थ राख्नेछैन ।

आखिर देशको मूल नेतृत्वमा सिर्जनशील सोचको आगमन भई सकारात्मक सोचले काम हुन थाल्यो भने राष्ट्रिय अनुसन्धान केन्द्र पनि अमेरिकी वैज्ञानिक संस्था नासाको लहरमा पुगेर काम गर्न सक्छ। स्वार्थले भरिएको नेतृत्व आएमा बेवारिसे बनेर आफ्नो अस्तित्व बिस्तारै नामेट पार्दै जानेछ । सबैले सद्भावका साथ सोचौँ, यो अनुसन्धान केन्द्र सफल हुँदै गएर विभिन्न क्षेत्रका वैज्ञानिक प्रतिभा उत्पादन गर्नेछ। अब केवल स्वदेशी प्रतिभा मात्र नभएर अमेरिकी नासाले जस्तै यस आविष्कार केन्द्रले पनि विदेशी प्रतिभालाई समेत आकर्षित गरी वैज्ञानिक क्षेत्रमा कामयावी बनाएर फाइदा लिन समथ्र्यवान् हुनेछ ।

प्रतिक्रिया दिनुहोस्