यस्ता कार्य गरे चिकित्सकमाथि पनि कारबाही हुन्छ



काठमाडौँ। 

लापरबाहीको आरोपमा बिरामीको उपचार गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बेला बखतमा आक्रमण हुने कार्य रोकिएको छैन । यसविरुद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको संघ संस्थाले निरन्तर आवाज उठाएर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०७९ जारी भई सकेको अवस्था छ ।

यद्धपी यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन । त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा यस्ता घटनाहरु दोहोरिएका हुन् ।

कतिपयले यो कानुनले चिकित्सकलाई खुल्ला छोडिदिने बिरामी पक्ष सधैँ सधैँ मारमा पर्ने जस्ता धारणा समेत राख्ने गरेका छन् । तर, त्यो सत्य होइन ।  चिकित्सकलाई काबुमा राख्न नेपाल मेडिकल काउन्सिलले पनि आचार संहिता बनाएको छ ।

काउन्सिलको १५ मंसिर २०७९ मा भएको पूर्ण बैठकले चिकित्सकको आचार संहिता र कार्वाहीको विषयमा निर्णय गरेको छ । जसमा चिकित्सकको आचरण देखि अयोग्यता सम्बन्धी विषयहरु छन् । काउन्सिलले विभिन्न अवस्थामा चेतावनी दिने देखि लाइसेन्स खारेज गर्ने सम्मका कारबाही हुने स्पष्ट पारेको छ ।

काउन्सिलका पूर्व रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारी, चिकित्सकलाई कानुन नै नलाग्ने भन्ने जो प्रश्न छ त्यसमा सत्यता नभएको भन्दै काउन्सिलले समेत उनीहरुलाई मर्यादापूर्वक काम गर्नका लागि बाध्यकारी व्यवस्था गरेको बताए ।

‘चिकित्सकको पनि इथिक्स हुन्छ । उनीहरुले पनि गल्ती गरेमा कारबाही हुन्छ । काउन्सिलले नै गर्दछ । त्यसैले आम सर्वसाधारणहरुले चिकित्सकमाथि कारबाही हुन्न भनेर बुझ्न भएन । अनि आक्रमणमा उत्रिन त झनै हुँदै भएन । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आफूखुशी आक्रमण गर्न थालियो भने झन् कडा कानुन आफैतिर सोझिन्छ भनेर बुझ्न परयो,’ उनले भने । उनले चिकित्सकले पनि आचारसंहिता बारे अध्ययन गर्ने र त्यस अनुरूप आफ्नो व्यवहार कायम गर्नुपर्ने उनको तर्क थियो ।

चिकित्सकको आचारसंहिता र कारबाही के कस्ता छन् ?
काउन्सिलको २०७९ सालको नवौं पूर्ण बैठकले १५ मंसिर २०७९ मा गरेको चिकित्सकको आचार संहिता तथा कारबाही सम्बन्धी निर्णयहरु यस्तो छ :

(सामाजिक संजाल तथा बिद्युतीय माध्यम प्रयोग समेत) सामाग्री सहित सामाजिक सज्जाल तथा विद्युतीय सञ्चार माध्यम उपयोग आचार संहिता र नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ को नियम २२ र २३ मा भएको व्यवस्थाको अधिनमा रही कारबाही चलाउँदा निम्नानुसार प्रावधानलाई आधार मान्ने निर्णय भयो ।

खराब आचरण गरेमा कारबाही हुनेः

(क) कुनै पनि दर्तावाल चिकित्सकले नेपाल मेडिकल काउन्सिलको नियममा तोकिएको आचार संहिता विपरित कार्यगरेमा तोकिए बमोजिमको कारबाही हुनेछ ।

(ख) काउन्सिलमा दर्ता भएको दर्तावाल चिकित्सकले देहायको खराब आचरण गरेमा काउन्सिलले देहायबमोजिम सचेत गराउने, चेतावनी दिने, निलम्बन गर्ने, वा काउन्सिल दर्ता खारेज गर्न सक्नेछ ।

क. देहायको कुनै खराब आचरण गरेमा सचेत गराउनेः

१. काउन्सिलबाट प्रदान नगरिएको उपाधी प्रयोग गरेमा
२. भ्रामक प्रचार(प्रसार तथा प्रशारण गरेमा
३. बिरामीलाई दिने पुर्जा (प्रेष्कृप्सन) नाम, उपाधि र काउन्सिल दर्ता नम्बर बुझिने गरि नलेखेमा

ख. देहायको कुनै खराब आचरण गरेमा चेतावनी दिनेः

१. बिरामीलाई उपचार गर्दा तोकिएको वैज्ञानिक पद्धति अनुसार सल्लाह सुझाव नदिएमा
२. आफ्नो शैक्षिक योग्यता र दक्षता बाहेकको उपचार गरेमा
३. नैतिक आचरण विपरित कार्य गरेमा
४. उपचारका लागि आएको बिरामीसंग आफु मातहत उपचारमा रहेको बखत चिकित्सकीय प्रभावमा पारी अनुचित आर्थिक सम्वन्ध स्थापित गरेमा

ग. देहायको कुनै खराब आचरण गरेमा दुई महिना सम्म निलम्बन गर्नेः

१. प्रकरण (ख) मा उल्लेखित कुनैपनि कसुर दोहोर्‍याएमा
२. प्रकरण (ख) र (ख) २ मा उल्लेखित कार्यबाट बिरामीलाई पुर्ण रूपमा निको हुन सक्ने किसिमको भौतिक वा मानसिक क्षति भएमा
३. सम्बन्धित विषयको औपचारिक शीप र ज्ञान बिना गैर आकस्मिक समस्याका लागि चिरफार गरी वा नगरी शल्यकृया तथा यस्तै प्रकृतिको उपचार गरेमा
४. कानुनद्वारा वर्जित कुनैपनि उपचार वा विधी प्रयोग गरेमा

घ. देहायको कुनै खराब आचरण गरेमा दुइ महिना देखि दुई बर्षसम्म निलम्बन गर्ने

१. प्रकरण (ग) बमोजिमका कसुरहरू दोहोर्‍याएमा
२. प्रकरण (ग) २ मा उल्लेखित कसुरबाट बिरामीलाई दीर्घकालीन असर पर्ने क्षति भएमा
३. प्रकरण (ग) ३ मा उल्लेखित कसुरबाट बिरामीलाई कुनै प्रकारको क्षति भएमा
४. कुनैपनि नैतिक पतन हुने किसिमको कसुरमा अदालबाट अन्तिम फैसला भएर कारबाही भएमा
५. आफ्नो मातहतमा रहेको कुनैपनि बिरामीको उपचार वा रोग निदानको क्रममा निजसंग अनुचित शारीरिक सम्बन्ध स्थापित गरेमा

ङ. देहायको कुनै खराब आचरण गरेमा काउन्सिलबाट दर्ता खारेज गर्ने

१. प्रकरण (घ) बमोजिमको कसुरमा सजाय भुक्तान पश्चात सोहि कुसुर दोहोर्‍याएमा
२. प्रकरण (घ)२ र (घ)३ बमोजिमको कसुरबाट बिरामीको मृत्यु भएमा
३. नैतिक पतन देखिने फौजदारी अपराधमा अन्तिम अदालतबाट फैसला भई सजाय भएमा

९ (ग) मुलुकी संहिताले बर्जित गरेका कामकारबाही गरेको फौजदारी आरोपमा मुद्दा दर्ता भएमा फैसला नहुँदासम्म लागि आचरण तथा चारित्रिक लगायतका कुनैपनि प्रमाणपत्र जारी नगर्ने ।

प्रतिक्रिया दिनुहोस्