अदम्य साहसकी धनी सगरमाथा आरोही पासाङल्हामु



नेपाल आमालाई धन्यवाद नदिइरहन सकिन्न, उनले आफ्नो गर्भबाट पासाङल्हामु शेर्पाजस्ती महान् साहसी सुपुत्रीको जन्म दिन पुगेकी छिन्। जसले आफ्नो ज्यानको बलिदान दिई नेपाली महिलाहरुको तर्फबाट सगरमाथा आरोहण गर्नेजस्तो कठिनभन्दा कठिन कार्य गर्न सफल भइन्। नेपाल र नेपाली महिलाहरुको शिर विश्वभर चम्काइन्।

उनी नेपालको पहिलो महिला आरोही हुन्। उनले वि.सं २०५० वैशाख १० गतेका दिन सगरमाथाको सफल आरोहण गरी तमाम महिलाहरुलाई सगरमाथाको यात्रामा होमिन शंखघोष गरेकी थिइन्। यसरी उनको पौरख र लगनशीलताले सगरमाथा आरोहण गर्नेजस्तो जोखिमपूर्ण कार्य गर्न सफल भइन् । मेहनतको फल मीठो हुन्छ भनेझैँ उनले मीठो फल पाइन्।

तीनपटकसम्मको असफल प्रयासपछि चौथोपटक सगरमाथा आरोहण गर्न सफल भएकी थिइन् उनी। साँच्चै उनी अद्भुत साहसी नारी थिइन्, जसले गर्दा अद्वितीय कार्य गर्न सफल भइन् भने अर्को महिलाहरुलाई साहसीभन्दा साहसी कार्य गर्नमा उत्प्रेरित गरिन् या हौसला जगाइन् । साथै महिलाप्रति राखिने सामाजिक हीनताबोधलाई चिरफार गर्दै अघि बढ्न सिकाइन् उनले।

जसरी जापानी महिला जुन्को तावेईले विश्वका सम्पूर्ण महिलाको तर्फबाट सगरमाथाको सफल आरोहण गरी आफू र आफ्नो राष्ट्रको नाम विश्वभर फिँजाइन् । हो, त्यसरी नै पासाङले पनि नेपाल र नेपाली महिलाहरुको गौरवलाई अझ विस्तार गर्न पुगिन् । हाम्रो जस्तो अल्पविकसित राष्ट्रकी एक गरिब एवं अशिक्षित त्यसमाथि पनि दुर्गम भेगकी साधारण महिलाले सगरमाथामा आरोहणजस्तो अति कठिन कार्यमा सफलता हासिल गर्नु नेपालका लागि नै गौरवको विषय भएको छ।

पासाङ साधारण नारी थिइनन्। उनीभित्र बलेको ऊर्जाले नै उनलाई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल बनायो। उनको यही कार्यले नै उनी नेपाली महिलाहरुकी प्रेरणाको स्रोत बन्न पुगिन्। उनको मार्गलाई पछ्याउँदै धेरै नेपाली महिलाले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। उनले नेपाली महिलाहरुको तर्फबाट सर्वप्रथम सगरमाथाको सफल आरोहण गरी महिलाहरुको कृति फिँजाउन जुन ज्वलन्त साहस प्रदर्शन गरिन् । त्यो नेपालको इतिहासमा स्तुतियोग्य छ, प्रशंसयोग्य छ।

सन् १९५० मे १६ तारिखमा जापानी महिला जुन्को तावेईले सर्वप्रथम सगरमाथाको सफल आरोहण गरी विश्वको ‘प्रथम वीरगङ्ना’ महिलाको रुपमा विश्वको इतिहासमा अंकित हुन पुगिन् । हाम्री पासाङ पनि त्यसरी नै प्रथम महिला आरोहीको रुपमा नेपालको इतिहासमा सुनौलो पानामा लिपिबद्ध हुन पुगिन्, उनको महान् कार्यले गर्दा नै । तावेईका पदलाई पछ्याउँदै चीनकी कुमारी फान्तोगले सन् १९७५ मे २७, पोल्यान्डकी वान्डत्की बिजले सन् १९७८ अक्टुबर १६, हेनिलोर स्मिथ प. जर्मनीले सन् १९७९ र भारती महिला बेचेन्द्रीपालले सन् १९८४ मे २३ मा सगरमाथाको सफल आरोहण गरेका थिए । उनीहरुको यस्तो साहसिक एवं वीरताणूर्ण कदमको अनुशरण गर्दै हाम्री ‘हिमाली छोरी’ पासाङले पनि सगरमाथाको सफल आरोहण गरेर छाडिन् र हाम्रो जस्तो पुरुषप्रधान समाज एवं राष्ट्रलाई नतमस्तक तुल्याइन् ।

यस्ती अदम्य र अपूर्व साहसकी धनी पासाङ शेर्पाको जन्म वि.सं. २०१७ मंसिर २८ गते सोलुखुम्बु जिल्लाको दुर्गम भेगको लुर्कासुर्के भन्ने गाउँमा भएको थियो । बाबु फुर्बा कितार र आमा आङ्दाकी शेर्पाको पाँच सन्तानमध्येकी तेस्री सन्तानको रुपमा जन्मेकी पासाङभित्र सगरमाथा आरोहण गरी नेपाली महिलाहरुको तर्फबाट शिर उच्च राख्ने अठोट सानैदेखि जागृत भएको पाइन्छ । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ सानैदेखि ऊर्जाशाली एवं सृजनशील प्रतिभाकी खानी थिइन् उनी । उनमा यस्तो भावनाको प्रस्फुटन हुनुमा उनको बाबु फुर्बा कितार पर्वतारोहण व्यवसायसँग आबद्ध भएर नै होला । त्यसैले उनमा सगरमाथा चढ्न सानैदेखि ऊर्जा मिल्यो ।

वि.सं. २०३६ मा पर्वतारोण व्यवसायसँग सम्बद्ध एक साहसी युवा सोनाम छिरिङसँग विवाह बन्धनमा बाँधिन पुगेकी थिइन् पासाङ। जसले गर्दा उनलाई आफ्नो जीवनरुपी या लक्ष्यरुपी रथलाई अगाडि बढाउन थप ऊर्जा मिलेको थियो । उनले १४ वर्षको कलिलो उमेरदेखि नै बाबुलाई ट्रेकिङ पेसामा सानो भारी बोकेर सघाउन शुरु गरेकी थिइन् । दुई दाजु र दुई भाइकी एकमात्र चेलीको रुपमा जन्मेकी पासाङ सन् १९७१ देखि पूर्णरुपमा ट्रेकिङ पेसामा लागेकी थिइन् ।

तीन छोराछोहरुकी आमा पासाङले आफ्नो पारिवारिक रथलाई पनि अगाडि बढाउँदै पर्वतारोहणको यात्रालाई पनि उत्तिकै रुपले अगाडि बढाइन् । उनले सन् १९८० देखि पर्वतारोहणको यात्रालाई जारी गरेकी थिइन् । त्यसपछि उनले लगातार आफ्नो यात्रालाई अघि बढाइन् । सन् १९८० मा ८,००० मिटर, सन् १९९१ मा ८,७५० मिटर, सन् १९९२ को अक्टुबर महिनामा ८,४५० मिटर गरी तीनपटकसम्मको असफल प्रयासको बाबजुद अर्थात् चौथोपटक वि.सं. २०५० वैशाख १० गतेका दिनमा सफलताको सास फेर्न पुगिन्। ‘सानमिगेल आरोहण दल’की टिम लिडर या नेतृ बनी पासाङ आफैँले सगरमाथाको यात्रालाई अगाडि बढाएकी थिइन् । उनको अथक एवं अटुट प्रयासको बाबजुद उनी आफ्नो गन्तव्यमा पुग्न सफल भएकी थिइन्।

दुर्भाग्य ! उनको सफल हिमाल आरोहणपछि उनको भाग्य खोटो भइदियो । उनको देह नेपाल आमाको काखमा चिरनिद्रामा सदाको निम्ति लम्पसार हुन पुग्यो। अर्थात् सगरमाथाको सफल आरोहणपश्चात् आधार शिविरतर्फ फर्किने क्रममा सोही दिन मौसम खराबी या प्रतिकूल मौसमको कारणले गर्दा आएको अत्यधिक हिमपहिरोमा पुरिई हिमालयकी छोरी हिमालयको काखमा सदाको निम्ति लीन हुन पुगिन् । यसरी एउटा अपूर्व ताराको अस्त भयो। सगरमाथा आरोहण क्षेत्रमा अपूरणीय क्षति हुन पुग्यो। सगरमाथाको सफल आरोहणपछि उनी आफ्नो पति सोनामसँग फर्किंदै गर्दा उनको दुःखद अन्त्य भएको थियो । उनको अद्भूत एवं महान् कार्यको हृदयङ्गम गर्दै राज्यद्वारा उनलाई मृत्युपर्यन्त ‘नेपाल तारा’ पदवीले सम्मानित गरेको थियो । देहावसानपछि जेठ ७ गते उनको शवलाई हेलिकोप्टरबाट काठमाडौंमा ल्याई राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।

उनले सगरमाथा चढ्नुपूर्व सञ्चारकर्मीहरुको अन्तर्वार्तामा भनेकी थिइन्, ‘मलाई आफ्नो परिवार र ज्यानको भन्दा पनि यो देश नेपालको अगाध माया छ र मलाई एउटै धोको छ त्यो हो नेपाली महिलाहरुको तर्फबाट नेपालको नाम राख्ने ।’ हाम्रो जस्तो पुरुषप्रधान समाजमा महिलाहरुप्रति राखिने हीन मनोवृत्तिको धारणालाई घोर भत्र्सना गर्दै उनीहरुको मनोबललाई सगरमाथाभन्दा पनि माथि उठाउने भावनाकोे उनले उजागर गरेकी थिइन् ।

उनको यही परिवर्तनशील एवं प्रगतिशील विचारधाराको साथै साहसिक कार्यको मूल्याङ्कन् गर्दै सरकारले वि.सं. २०५९ वैशाख १० गते उनलाई राष्ट्रिय विभूतिको दर्जाले सम्मानित गरेको हो। यसरी उनी सीतापछिकी दोस्री र नेपालको १५ औं राष्ट्रिय विभूतिको दर्जाले इतिहासमा चिरपरिचित हुन पुगेकी छिन्।

साथै नेपालको इतिहासमा प्रथम महिला आरोही र विश्वको इतिहासमा १७ औं विराङ्गना महिलाका रुपमा स्थान ओगट्न सफल भएकी छन्। यसरी उनको जन्मले परिवार मात्रै होइन, राष्ट्र नै गौरवान्वित हुन पुग्यो । सारा विश्वमै नेपालको प्रतिष्ठा झन् विस्तार हुन पुग्यो। साथै नेपाली हिमाली छोरी हुनुको शान तारापुञ्जझैँ चम्किन पुग्यो। हजारौंहजार ताराहरुबीच एउटा नयाँ ताराको प्रवेशले सगरमाथा आरोहणको क्षेत्रमा सदाकालसम्म झनै प्रकाशमय हुन पुग्यो।

प्रतिक्रिया दिनुहोस्