१५ दिनमा ३ हजार ३ सय ठाउँमा डढेलो



काठमाडौं ।

वैशाख १ देखि १८ गतेसम्म देशभर ३ हजार ३ सय ठाउँमा डढेलो लागेको छ । गर्मी बढेसँगै डढेलो लाग्ने क्रम बढ्दा मानवीय तथा भौतिक क्षति उच्च हुँदै गएको छ ।

वन तथा भूसंरक्षण विभागका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले वैशाख १ गतेदेखि १८ गतेसम्म देशभर ३ हजार ३ सय ठाउँमा डढेलो लागेको बताउनुभयो।

उहाँले ४० देखि ५० जिल्लामा डढेलो फैलिँदा ठूलो जनधनको क्षति भएको समेत जानकारी दिनुभयो । विभागको तथ्यांकअनुसार वैशाख ८ गते ३ सय ५ तथा ९ गते सबैभन्दा बढी ३ सय ५० ठाउँमा डढेलो लागेको थियो ।

सामान्यतया माघ, फागुन, चैत, वैशाख र जेठ महिना डढेलो लाग्ने महिना रहेको विज्ञहरूले बताउने गरेका छन्। वैशाख महिनामा मात्रै सुर्खेत, प्युठान, खोटाङ र बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जमा नै भीषण डढेलो लागेको छ।

डढेलो लाग्नुमा प्राकृतिक र मानवीय कारण मुख्य देखिएको छ। नेपालमा प्राकृतिक रूपमा डढेलो नलागेको अधिकृत श्रेष्ठले बताउनुभयो। नेपालमा डढेलो लाग्ने मुख्य कारण मानवीय रहेको अधिकृत श्रेष्ठले जानकारी दिनुभएको छ।

उहाँले जनचेतना बढाउन जरुरी रहेकोमा जोड दिनुभएको छ। प्राकृतिक रूपमा लाग्ने डढेलोको मुख्य कारण चट्याङ, ढुङ्गा खसेर, ज्वालामुखी विस्फोट लाग्ने गरेको छ भने नेपालमा भने मानिसले जानाजान डढेलो लगाउने गरेका छन्।

मानवीय कारणले जानाजान र बदालास्वरूप डढेलो लगाउने गरेको विभागले जनाएको छ। विशेष गरेर राष्ट्रिय निकुञ्जमा स्थानीय बासिन्दाले निकुञ्ज प्रयोग गर्न नपाएको रिसले पनि डढेलो लगाउने गरेको पाइन्छ।

वन डडेलो लगाएमा चाँडै घाँस पलाउने र पानी पर्दा माथिबाट खरानी बगेर खेतमा आई मल हुने अन्धविश्वासले पनि डढेलो लगाउने गरिएको छ। कतिपय भने खेतबारीमा पातपतिङ्गर डढाउँदासमेत वनमा आगो सल्किएर डढेलो लाग्ने गरेको छ। त्यसै गरी जथाभाबी ननिभाई चुरोटका ठुटा फाल्दा र वनभोज जानेहरूले आगो ननिभाई हिँड्दा पनि डढेलो लाग्ने गरेको छ।

न्यून कारबाही
संघीयतापछि अधिकार बाँडफाँड हुँदा कसको अधिकार हो भन्ने अलमलले गर्दा डढेलो लगाउनेलाई कारबाही हुन नसकेको विभागले जनाएको छ। यस वर्ष गुल्मीमा जानीजानी डढेलो लगाउने २ जनालाई मात्र कारबाहीको प्रक्रियामा लगिएको अधिकृत श्रेष्ठले बताउनुभयो। वन ऐन २०७६ अनुसार जानीजानी डढेलो लगाउनेलाई ३ वर्षसम्म कैद गर्न सकिने प्रावधान राखिएको छ।

तर, यस ऐनको कार्यान्वयन गर्ने वन तथा भूसंरक्षण मन्त्रालय, विभाग र प्रदेशमा रहेको मन्त्रालयले कारबाही गर्न नसकेको जानकारहरू बताउँछन्। संघीयतापछि प्रदेश सरकारले वनको संरक्षण र व्यवस्थापन गर्ने जिम्मेवारी पाएको छ।

त्यसै गरी संघले भने निकुञ्ज तथा तोकिएका फूलचोकीजस्ता १० ओटा वनको व्यवस्थापन र संरक्षण गर्ने जिम्मेवारी पाएको विभागले जानकारी दिएको छ ।

डढेलो लाग्नुका असर

डढेलो लाग्ने सिजनमा चराले गुँड लगाउने हुँदा प्रजनन रोकिने तथा र साना जनावर भाग्न नसकी डढेलोमा पर्ने गरेका छन्। भौतिक पूर्वाधारमा खानेपानीको पाइप, टेलिफोनको तार डढ्ने हुन्छ। धूवाँले वायु प्रदूषण हुने, कार्बनडाइअक्साइड वायुमण्डलमा बढ्ने, खरानी तथा बाक्लो तुँवालो लाग्दा मानिसको श्वासप्रश्वासमा असर गर्ने चिकित्सकले बताएका छन्।

वायुमण्डलमा हरितगृह ग्यास बढ्दा पृथ्वीको तापक्रम बढ्दछ। डढेलो वनस्पतिमा फल र फूल लाग्ने समयमा लाग्ने भएको हुनाले उत्पादनमा समेत समस्या देखिनुका साथै सानासाना बिरुवा मर्ने गर्दा नयाँ उत्पादनमा असर गर्ने गरेको छ। डढेलोकै कारण बहुमूल्य बोटबिरुवा मर्दा जडिबुढी उत्पादनमा ह्रास आउने गरेको छ।

प्रतिक्रिया दिनुहोस्