भारतीय कम्पनी एमडीएच र एभरेस्ट मसलामा क्यान्सरजन्य विषादी भेटियो

हङकङ र सिंगापुरमा बिक्रीवितरणमा रोक



काठमाडौं ।

नेपालमा सर्वत्र प्रयोग भइरहेको भारतीय कम्पनी एमडीएच र एभरेस्ट मसला उद्योगका मसलाहरूमा कीटनाशक इथाइलिन अक्साइड फेला परेको दाबी गर्दै हङकङको खाद्य सुरक्षा विभागले त्यहाँ बिक्रीवितरणमा रोक लगाएको छ।

सिंगापुरमा पनि एभरेस्ट फिस करी मसलालाई बजारबाट फिर्ता लैजान भारतीय कम्पनीलाई निर्देशन दिइएको छ। ती दुवै देशले आफ्ना नागरिकहरूलाई यी मसलाहरूको प्रयोग नगर्न आग्रहसमेत गरेको छ।

हङकङको खाद्य सुरक्षा विभाग, सेन्टर फर फुड सेफ्टीले एमडीएचको मद्रास करी पाउडर, सम्भर मसाला, र करी मसालामा कीटनाशक एथिलिन अक्साइड फेला परेको जनाएको छ। इथाइलिन अक्साइडलाई क्यान्सरको अनुसन्धान गरिरहेको एजेन्सीले समूह–१ कार्सिनोजेनमा राखेको जनाएको छ। कार्सिनोजेन क्यान्सरको खतरा पैदा गर्ने पदार्थ हो ।

सिंगापुरमा मसलाको आयातकर्ता मुथैया एन्ड सन्स प्राइभेट लिमिटेडलाई एभरेस्ट कम्पनीको फिस करी मसला बजारबाट फिर्ता लैजान निर्देशन दिइएको छ।

सिंगापुरको फुड एजेन्सीले आफ्नो निर्णय सही भएको पुष्टि गर्न हङकङको खाद्य सुरक्षा विभागले जारी गरेको निर्देशनलाई उद्धृत गरेको छ, जसमा भनिएको छ– ‘एमडीएच र एभरेस्टको फिस करी मसलामा क्यान्सर हुन सक्ने तत्वहरू छन्।’ सिंगापुरको फुड एजेन्सीले थोरै मात्रामा इथिलिन अक्साइडबाट तत्काल कुनै खतरा नहुने भएपनि लामो समयसम्म प्रयोग गर्नाले यस्ता रसायनले स्वास्थ्यलाई जोखिममा पार्न सक्ने दाबी गरेको बीबीसी हिन्दी समाचारले जनाएको छ ।

हङकङको खाद्य सुरक्षा विभागले विषादीको अवशेष नियम (क्याप १३२ सेमी) लाई उद्धृत गर्दै इथाइलिन अक्साइड प्रयोग भएको खाद्य वस्तु स्वास्थ्यका लागि हानिकारक वा खतरनाक नभएको प्रमाणित भएमा मात्रै त्यस्ता खाद्य वस्तु बिक्री गर्न सकिने बताएको छ। विभागका प्रवक्तालाई उद्धृत गर्दै खाद्य पदार्थमा एथिलिन अक्साइडजस्ता विषादी प्रयोग गर्नेलाई अधिकतम ५० हजार डलर जरिवाना हुने र दोषी प्रमाणित भएमा जरिवानासहित ६ महिनासम्म कैद सजाय हुनसक्ने बीबीसी हिन्दी समाचारमा उल्लेख गरिएको छ ।

भारतमा ५२ वर्षअघि सन् १९६७ मा एभरेस्ट मसला उद्योगका नाममा दर्ता भएको यो मसलाको प्रत्येक प्याकेटमा ‘शुद्धता, ताजगी र प्रामाणिकताको उत्कृष्ट मापदण्ड कायम राख्छ र सगरमाथाको शुद्धताको उत्कृष्ट स्वाद अनुसन्धान, नवीनता र प्रविधिद्वारा समर्थित छ’ भन्ने उल्लेख गरिएको छ।

एभरेस्टले सन् २०१८ मा आफ्नो उत्पादनलाई जार प्याकेजिङमा बजारमा ल्याएको थियो। त्यस्तै, सन् २०२१ मा एभरेस्टले नयाँ ब्रान्डको स्वादिलो र अदुवा लसुनको पेस्टको साथ जडिबुटी र सिजनिङ श्रेणीमा प्रवेश गरेको घोषणा गरेको थियो।

यो संस्थाका संस्थापक स्वर्गीय श्री वडिलाल भाइ शाहले आफ्ना उत्पादनहरूको गुणस्तरमा कहिल्यै सम्झौता गर्नुभएन। उत्पादनमा स्वाद पहिले आउँछ र त्यो उत्कृष्ट स्वादको लागि उत्कृष्ट गुणस्तर चाहिन्छ भन्ने उहाँको दृढ विश्वासमाथि हङकङ र सिंगापुरको यो कदमले प्रश्न उठाएको छ।

एभरेस्ट कम्पनीले आफ्नो उत्पादनको बचाउमा भनेको छ–‘हाम्रा सबै उत्पादनहरू कडा परीक्षणपछि तयार हुन्छन् र निर्यात गरिन्छ । हामी स्वच्छता र खाद्य सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्छौं। हाम्रा उत्पादनहरूमा भारतको मसला बोर्डले र एफएसएसएआफलगायतको गुणस्तर चिह्न हुन्छ।’

एभरेस्ट कम्पनीले हङकङ र सिंगापुरमा देखिएको समस्याको आधिकारिक जानकारीको लागि पर्खिरहेको बताउँदै भनेको छ– ‘हाम्रो गुणस्तर नियन्त्रण टोलीले यस विषयमा राम्ररी अनुसन्धान गर्नेछ ।’

इथिलिन अक्साइड एक रंगहीन र ज्वलनशील ग्यास हो। यो सामान्यतया कृषि, स्वास्थ्य सेवा र खाद्य प्रशोधन उद्योगहरूमा धुवाँ, कीटनाशक र स्टेरिलेन्टहरू बनाउन प्रयोग गरिन्छ। माइक्रोबियल प्रदूषण हटाउन र कीराहरू नियन्त्रण गर्न मसला र अन्य सुख्खा खानाहरूमा इथिलिन अक्साइड प्रयोग गरिने गरिएको छ।

खानालाई ब्याक्टेरिया र कीराहरूबाट जोगाउन इथाइलिन अक्साइड प्रयोग गरिन्छ । तर, धेरैजसो स्वास्थ्य संस्थाहरूले यसलाई क्यान्सरको जोखिम निम्त्याउने कार्सिनोजेनको श्रेणीमा राखेका छन्।

यसअघि सन् २०२३ मा अमेरिकी खाद्य र औषधि प्राधिकरणले एभरेस्टको साम्बर मसाला र गरम मसालालाई बजारबाट फिर्ता लैजान निर्देशन दिएको थियो। त्यतिबेला पनि यी मसलाहरूमा साल्मोनेला पोजेटिभ पाइएको थियो। यो ब्याक्टेरियाले पखाला, पेट दुख्ने, ज्वरो आउने, चक्कर लाग्ने वा बान्ता गराउने गर्दछ।

प्रतिक्रिया दिनुहोस्