तपाईं आफूले आफूलाई चिन्न सक्नुभयो ?



काठमाडौं ।

सबैभन्दा पहिला एउटा प्रश्न उठ्छ– तपाईँ को हुनुहुन्छ ? यदि मानिसको जीवनलाई हेर्ने हो भने तपाईँहरू सबैजना हरेक दिन आफ्नो समस्याबाट छुटकारा पाउने कोशिश गरिरहनुहुन्छ। मानिसमा कुनै समस्या छ भने उसले बिहान उठेपछि त्यसैको चिन्ता गर्छ। भगवान्को चिन्तन त पछाडिको कुरा भयो । सबैभन्दा पहिला, ‘के गर्नु छ ? यस्तो गर्नु छ, त्यस्तो गर्नु छ।’ अर्थात्, कसैको घरमा विवाह छ भने सारा तयारी भइरहेको हुन्छ । ‘त्यो गर्नुपर्छ । यस्तो गर्नुहुँदैन । यस्तो भएन । त्यस्तो भएन ।’ तिनै समस्याहरूको समाधानतर्फ ध्यान मोडिन्छ।

संसारका ठूला–ठूला मानिसहरू पनि आफ्नो समस्याका बारेमा चिन्ता गर्छन् । आफ्नो छाक टार्ने समस्यामा ग्रसित मानिसले के कुराको चिन्ता गर्छ ? भोक लागेपछि त खानेकुरा कहाँ पाइन्छ भन्ने चिन्ता हुने नै हो । उसको ध्यान पनि आफ्नै समस्यामा केन्द्रित हुन्छ ।

समस्याले हाम्रो धेरै समयलाई खाइदिन्छ । यो समस्या कहाँबाट आयो ? यो प्रश्नको पनि दुईवटा उत्तर हुन सक्छन् । एउटा कुरा त, ‘यी समस्यालाई भगवान्ले नै बनाएका हुन् !’ धेरै मानिसले ईश्वरमाथि दोष थोपर्छन् । भगवान्ले नै यी समस्या बनाएका हुन् भन्ने तिनको धारणा हुन्छ । तथापि, खुशीको खबरचाहिँ के हो भने जुन समस्याबाट तपाईँ टाढा जाने प्रयत्न गरिरहनुभएको छ त्यसलाई भगवान्ले बनाएका होइनन् । त्यो मानिसले नै बनाएको समस्या हो । यो खुशीको खबर हो । यदि यही कुरा भगवान्ले बनाएका हुँदा हुन् त यसलाई बदल्न साँच्चै समस्या हुन्थ्यो । यो मानिसले बनाएको समस्या भएका कारणले त्यो समस्या फेरिन सक्छ ।

मानिसहरूलाई आफ्नो जवानीमा ‘म कति वर्षसम्म बाँच्छु होला’ भन्ने कुराको वास्तै हुँदैन । तर, ऊ सय वर्षसम्म बाँच्यो भने पनि कति दिन हुन्छ ? त्यही ३६,५०० दिन । धेरै त हुँदैन । जिन्दगीको रेल त दगुरिरहेकै छ । यो निरन्तर चलिरहेको छ र एक न एक दिन यसबाट उत्रिनै पर्छ । तथापि, अहिलेसम्म तपाईँले जिउनुभएको जिन्दगीबाट तपाईँले के सिक्नुभयो ? कुन कुरालाई पहिचान गर्नुभयो ? आफूले आफूलाई चिन्न सक्नुभयो या सक्नुभएन ?

तपाईँ को हुनुहुन्छ ? के हुनुहुन्छ तपाईँ ? तपाईँले यस कुरालाई पूर्णरूपमा नबुझेसम्म तपाईँको जीवनमा आनन्द आउन सक्दैन । मानिसहरू भन्ने गर्छन्– ‘शान्ति के हो ?’ मानिसलाई ‘शान्ति के हो’ भन्ने कुरै थाहा छैन । यसको मुख्य कारण नै उसले ‘मेरो समस्या हल भएमा आफूले शान्ति पाउन सक्छु’ भन्ने ठान्छ । यदि कुनै आमाको बच्चा कतै हरायो भने उनलाई अवश्य दुःख लाग्नेछ । यदि उनीसँग ‘शान्ति के हो’ भनेर सोध्यौँ भने उनले के भन्लिन् ? ‘मेरो छोरो भेटिएदेखि मलाई शान्ति प्राप्त हुनेथियो ।’

कसैले जागिर पाइरहेको हुँदैन । उनीसँग ‘शान्ति के हो’ भनेर सोधेमा उनले त त्यही कुरा गर्नेछन्– ‘मैले जागिर पाएँ भने मलाई शान्ति प्राप्त हुनेछ।’
कहिले सुख, कहिले दुःख । तपाईँले सुख सम्झिरहनुभएको विषय नै दुःखमा परिणत हुन पुग्छ ।

म तपाईँलाई तपाईँसँगै भेट गराइदिन सक्छु । फलतः तपाईँले ‘मलाई जीवन जिउने अवसर प्राप्त भएको छ’ भनेर बुझ्न सक्नुहोस् । यो अवसर अन्य कुराका लागि पाइएकै होइन । केवल जिउनका लागि यो मौका पाइएको छ । तर, तपाईँ बाँचुन्जेलसम्म के गर्न सक्नुहुन्छ ! यदि तपाईँले आफ्नो जीवनमा शान्तिलाई अपनाउनुभयो, शान्तिको अनुभूति गर्नुभयो भने तपाईँको जीवनमा हरियाली छाउनेछ । यसको अर्थ यो जीवनमा समस्याहरू आउँदैनन् भन्ने होइन । समस्याहरू त आइरहनेछन् तर तपाईँसँग ती समस्याबाट उम्कने बाटो हुनेछ ।

यो संसारमा बुझ्नुपर्ने र जान्नुपर्ने कुराहरू धेरै छन् । तथापि, सबैभन्दा ठूलो कुरा के हो भने जति पनि कुराहरू हामी सुन्छौँ अनि बुझ्छौँ– तिनलाई हामी व्यवहारमा पनि ल्याउन सक्छौँ कि सक्दैनौँ ! किनभने, यदि कतै नदी बगिरहेको छ, फल लागिरहेको छ, त्यसलाई उपभोग गर्ने र त्यसको आनन्द लिने मानिस छैन भने यसको अर्थ हो– कतै न कतै त्यस्ता मानिस पनि बसेका होलान् जहाँ नदी नहोला, पानी नहुँदो हो । जहाँ फलफूल पनि नहुन सक्छ । किनभने, हामी आफ्नो जीवनमा यसरी नै हामीलाई आवश्यक पर्ने चीजहरूबाट टाढिन्छौँ, चाहनाबाट होइन । जसरी हामीलाई पानीको आवश्यकता पर्छ। हामीलाई हावाको आवश्यकता पर्छ । खाना हाम्रो लागि आवश्यक हुन्छ । हामीलाई सुत्नुपर्ने आवश्यकता रहन्छ । तातोपनको हामीलाई आवश्यकता रहन्छ । धेरै जाडो पनि होइन अनि धेरै गर्मी पनि होइन । तर, के हामी कहिल्यै सोच्छौँ– शान्ति पनि हाम्रो आवश्यकता हो । हाम्रो हृदय आनन्दले भरियोस्, यो पनि हाम्रै आवश्यकता हो । चाहना होइन, आवश्यकता हो । किनभने, यसको अभावमा पूरै जीवन अधुरो रहन्छ । यस्तो लाग्छ, बाँचिरहेका छौँ तर किन बाँचिरहेका छौँ, यही कुरा नै थाहा हुँदैन ।

हामीसँग आफूले आफूलाई चिन्ने ज्ञान हुनुपर्छ । जुन चीज हामीभित्र छ, त्यस चीजलाई चिन्ने ज्ञान हुनुपर्छ । यदि त्यस्तो ज्ञान छैन भने त मानिस भौँतारिनेछ। किनभने, उसलाई शान्ति चाहिएको छ । उसलाई आनन्द चाहिएको छ । तर, यी कुराहरूका बारेमा हामी सोचिरहेका हुँदैनौँ । किनभने यस कुराका बारेमा हामीलाई बताइएको हुँदैन । हामीलाई के भनिएको हुन्छ भने– नोकरी गर, यो गर, त्यो गर । त्यसपछि मात्रै तिम्रो जीवन आनन्दमय हुनेछ । तथापि, के हामीले कहिल्यै यो सोध्यौँ, ‘कुनचाहिँ यस्तो व्यक्ति छ, जसको जीवन आनन्दले भरिपूर्ण छ !’

वास्तवमा यो मायाको प्रकृति नै दुःख दिने खालको हुन्छ । सुख त एउटै चीजमा छ, त्यो चीज तपाईँभित्र विराजमान छ । त्यही चीजमा सुख र आनन्द छ । यस संसारका हरेक वस्तुबाट कुनै न कुनै रूपमा आनन्द पाइएला तर त्यस्तो आनन्द हुँदैन, जुन हामीभित्र स्थित आनन्द हुन्छ । केही क्षणको खुशी अवश्य प्राप्त हुनेछ, जस्तो– तपाईँ चलचित्र हेर्नका लागि जानुहुन्छ । तपाईँलाई चलचित्र राम्रो लाग्छ तर केही घण्टाकै लागि मात्र आनन्द प्राप्त हुन्छ । त्यसपछि के गर्छौँ– कोही के गर्नेछौँ, कोही केही गर्नेछौँ । किनभने, मानिस आनन्दलाई खोजिरहन्छ । उसलाई त्यो वास्तविक आनन्द चाहिन्छ अनि उसले त्यसलाई प्राप्त गर्न कहाँ–कहाँ खोज्दैन र ! उसले सोच्छ, ‘यदि मैले सारा संसारलाई कुनै तरिकाले आफ्नो नियन्त्रणमा राखेँ भने मलाई शान्ति प्राप्त हुनेछ । म संसारको सबैभन्दा शक्तिशाली मानिस हुनेछु ।’ यद्यपि त्यसमा पनि उसलाई आनन्द प्राप्त हुँदैन ।

एउटा कथा छ ‘सिकन्दर’को । उनी अत्यन्तै शक्तिशाली राजा थिए । उनी जब हिन्दूस्थानमा आए उनलाई ‘देलीबेली’ (यात्राजन्य सङ्क्रमणयुक्त एक प्रकारको झाडापखाला) का बारेमा थाहा थिएन । उनी बिरामी भए । त्यसपछि उनले फर्केर जानुपर्ने भयो । उनी फर्किसकेपछि आफ्नो शरीर त्यागे । उनले मृत्युभन्दा पहिला भनेका थिए, ‘जब मेरो शरीर पूरा हुनेछ र मलाई गाड्नका लागि लिएर जानेछन् तब मेरो हातलाई बाहिर निकालिदिनू । किनभने म संसारलाई के देखाउन चाहन्छु भने– म खाली हात आएको थिएँ अनि खाली हात नै यो संसारबाट गइरहेको छु । मसँग जे–जे छन्, जति पनि मेरो सम्बन्ध छ, नातागोता छन्, जे जति मैले कमाएँ, मैले जे–जे गरेँ ती चीजलाई म साथमा लिएर जान सक्दिन ।’

यदि हामीले यस संसारमा रहनु छ र जेसुकै गर्नुपरे पनि हामीले आफूभित्र रहेको चीजलाई चिन्नु र पहिचान गर्नु एकदमै आवश्यक छ । किनभने, यो संसारमा रहँदा हामीलाई आनन्दको आवश्यकता पर्दछ । शान्तिको आवश्यकता पर्दछ । जब हामी दुःखी हुन्छौँ, हामीभित्र बसेका एकमात्र उनी छन् जसले हामीलाई बचाउन सक्छन् । यदि हामीले कसैको सहारा खोज्यौँ भने उनैले हामीलाई सहारा दिन सक्छन् । यो संसारमा हामी जे–जे गर्छौँ, त्यो एउटा जालो नै हो । तर, त्यसलाई हामी देख्न सक्दैनौँ । जसरी माकुराको जालो हुन्छ तर त्यसलाई हामी देखिरहेका हुँदैनौँ । जस्तो– माकुराको जालो हुन्छ त्यसलाई झिँगाले देख्न सक्दैन अनि फस्न पुग्छ । त्यसपछि ऊ जति निस्कने कोशिश गर्छ त्यति नै ऊ अझै त्यसमा फसिरहन्छ ।

संसारको जालो पनि यस्तै जालो हो । समाजले के भनिरहेको छ, समाजका मानिसहरू कसरी रहिरहेका छन्– तिनै कुराहरूमा मानिस अल्झिरहेको छ। परिणामतः वास्तविक चीज उसबाट टाढा रहिरहन्छ । त्यो वास्तविक चीज कहाँ छ ? त्यो हामीभित्र नै छ । तर, अब मानिसले आफैँले आफैँलाई समेत चिन्न सकिरहेको छैन । उसले म यहाँ किन आएको हुँ भन्ने कुरालाई भुलेको छ । किनभने, योजना त योजना नै हो । योजना सधैँ तपाईँले बनाएजस्तै भइरहँदैन । कुनै बेला त्यो तपाईँले चाहेको जस्तो नहुन पनि सक्छ । तब मान्छेलाई अचम्म लाग्न थाल्छ, ‘मलाई किन यस्तो भइरहेको छ । मैले त्यस्तो के कुरा गरेँ होला !’ हामी के बिर्सन्छौँ भने– हामीलाई जे हुन्छ, त्यसमा हामी स्वयं नै जिम्मेवार छौँ । त्यसका लागि भगवान्लाई दोष दिनु उपयुक्त हुँदैन ।

मानिसहरू बाहिरको कुराबाट हैरान हुन्छन्, ‘मलाई यस्तो किन हुन्छ, उस्तो किन हुन्छ ।’ तथापि, भित्रको संसारमा निराशा हुँदैन, आशा हुन्छ । त्यहाँ अँध्यारो हुँदैन, उज्यालो हुन्छ । त्यहाँ प्रश्न हुँदैन, उत्तर हुन्छ । अनि, त्यो स्थान तपाईँभित्रै छ, तपाईँको हृदयमा छ । केवल त्यस चीजलाई चिन्नु आवश्यक छ । त्यस चीजलाई चिन्नुहोस् अनि तपाईँको जीवनमा पनि आनन्द नै आनन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस्