गल्याङमा राजयोग मेडिटेशन प्रशिक्षण शुरु



स्याङ्जा ।

स्याङ्जाको गल्याङमा ५ दिने मानसिक शान्ति, पारिवारिक खुसी र सामाजिक समृद्धताका लागी राजयोग मेडिटेशन प्रशिक्षण संचालन गरिएको छ । गल्याङ नगरपालिकाको आयोजना र ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय उपशाखा गल्याङको समन्वयमा मेडिटेशन प्रशिक्षण शुरु गरिएको हो । ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय नेपालका निर्देशक राजयोग ब्रम्हाकुमारी परनीताले आत्मिक शक्ति प्राप्त गर्ने विधि अपनाउन सकेनौ भने मानिस दुःखी र असान्त रहने बताउनुभयो ।

आफ्नो आत्मलाई चिन्न आवश्यक रहेको भन्दै पछिल्लो समय मानिसको बढ्दो व्यस्तता र खानपानमा समेत ध्यान दिन नसक्दा मनमा असान्त बढेको उहाँले बताउनुभयो । सकरात्मक सोचले सबै कुरा सकरात्मक हुने भएकाले सबै सकरात्मक बन्नु पर्नेमा उहाँको जोड छ ।

कार्यक्रममा नेपाली काँग्रेस गल्याङ नगर सभापति एवम् गरिमा विकास बैंक केन्द्रिय अध्यक्ष श्याम प्रसाद बस्याल, नेकपा एमाले गल्याङ नगर कमिटी सचिव राजेन्द्रदेब खनाल, नेकपा माओवादी केन्द्र गल्याङ नगर कमिटी अध्यक्ष चित्रबहादुर थापा मगर, ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय नेपालका महासचिव शैलेशराज बराल, गल्याङ नगरपालिका वडा नं.४ का वडा अध्यक्ष ढाकाराम न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

५ दिनसम्म सञ्चालन हुने तालिममा गल्याङ नगरपालिका नगर कार्यपालिका सदस्यहरु, कर्मचारी, विभिन्न आमा समूह, क्लव तथा शिक्षक विद्यार्थीहरुको सहभागीता रहेको तालिममा बरिष्ठ राजयोग प्रशिक्षक ब्रम्हकुमार राजु घलेले प्रशिक्षण दिनुभएको छ । दैनिक ३ चरणमा प्रशिक्षण सञ्चालन गरिएको ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय उपशाखा गल्याङका प्रमुख शोभा बरालले जानकारी दिनुभयो ।
प्रशिक्षक घलेले मेडिटेशनबाट तनाव व्यवस्थापन हुने र स्वस्थ रहन मद्दत पुग्ने बताउनुभयो ।

घलले भन्नुभयो, ʻयसबाट क्रोध व्यवस्थापन हुन्छ । जीवनमा आशावादी बन्न सिकाउँदछ, सम्बन्धमा सुमधुरता ल्याउँदछ । कर्ममा कुशलता, व्यवहारमा शालीनता प्रदान गर्दछ । यसले सम्पूर्ण विश्वलाई एक परिवारका रुपमा हेर्न सक्ने विशाल मन, मस्तिष्कको विकास हुन्छ ।ʼ राजयोग आन्तरिक जगतको यात्रा हो भन्दै उपशाखा प्रमुख बरालले आफैलाई चिन्न वा केवल पुनःपहिचान गर्नका लागि पनि राजयोग आवश्यक रहने बताउनुभयो । राजयोग यस्तो योग हो जुनसँग कुनै धार्मिक प्रक्रिया वा मन्त्र आदि छैन ।

यो कहिँपनि र कुनैपनि समयमा गर्न सकिन्छ । राजयोग आँखा खोलेर गरिन्छ, त्यसैले यो अभ्यास सरल र सजिलो छ । योग एक यस्तो अवस्था हो, जहाँ हामी आफ्नो दैनिक चिन्ताहरु भन्दा पर जान्छौं र हामी हाम्रो आध्यात्मिक सशक्तिकरण शुरु गर्दछौं । यो प्राचीन राजयोग अभ्यासले प्राकृतिक शक्तिहरुलाई सुसज्जित बनाउँछ र हाम्रो दिमागलाई आफ्नो मित्र बनाउँदछ । यसले सवकन्सस माइण्डलाई शक्तिशाली बनाउँछ भन्ने धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्