हरिसिद्धि भवानीको ३ सय रोपनी बढी जग्गा मासियो



ललितपुर ।

ललितपुरको प्रसिद्ध हरिसिद्धि भवानी (जलद्योः) को नाच सञ्चालनका लागि आवश्यक खर्च जुटाउन राखिएको ३ सय रोपनीभन्दा बढी जग्गा मासिएको पाइएको छ।

एक हजार ७७ वर्ष पुरानो सो नाच सञ्चालनको गुठीको नाउँमा रहेको ६ सय रोपनी जग्गामध्ये हाल २ सय ९६ मात्र बाँकी रहेको भवानी नाचका पुजारी (च्याभु) धनबहादुर महर्जनले बताउनुभयो।

‘अहिले १० मुख्य देवगण (च्याभु) र १९ गण पुजारी गरी २९ देवगणको परिवारले छुट्टाछुट्टै जोत्दै आएको जग्गा कुल २ सय ९६ मात्र बाँकी रहेको छ। केही जग्गा सरकारी कार्यालयले अतिक्रमण गर्‍यो। केही मोही कायम भयो । कसैले निजी रैकर रैतानी गरे। यसरी नै गुठीको जग्गा मासिएका छन्’ –पुजारी महर्जनले भन्नुभयो।

हाल गुठीयारहरूले जोत्दै आएको जग्गा खान्गी जग्गा हुन् । खान्गी जग्गा भन्नाले ठेकिएको काम गरेबापत खान पाउने र नगरे खान नपाउने खास सेवासँग सम्बन्धित गुठी जग्गा हो। नाच सञ्चालनको कार्य गरेबापत देवगणले जोतभोग गर्न प्राप्त भएकोले त्यस्तो जग्गालाई खान्गी जग्गा भनिन्छ। गुठी संस्थानअन्तर्गत पुजारीलाई खान्गी जग्गाको भोगचलन गर्न दिइएको छ । खान्की जग्गा व्यक्तिको नाउँमा दर्ता गर्न नमिल्ने, बेचबिखन गर्न नपाउने,मोही कायम नहुने जग्गा हो ।

यस किसिमको धेरै जग्गाहरू २०२१ सालमा मोही कायम गरी पछि रैतानी गरिएको गुठीयारहरू बताउँछन्। कतिपय अवस्थामा रकमीले मोही हक नपाउने जग्गा पनि जालझेल गरेर मोही कायम गर्ने जस्ता कारणले हरिसिद्धि भवानीको गुठी जग्गा अतिक्रमणमा पर्दै अहिले २ सय ९६ मात्र बाँकी हुने स्थितिमा आएकोे गुठीयारहरू बताउँछन् ।

१२ वर्ष नाच सञ्चालनको लागि २९ देवगणले एक वर्षमा ३ सय २४ मुरीको दरले १२ वर्षमा धान अलग अलग जम्मा गरी त्यसैको भरमा नाच सञ्चालन हुँदै आएको गुठीयारहरूको कथन रहेको छ। ‘अहिले जग्गा मासिँदै गएको, खेतीपाती गर्न छाडेका कारणले पहिला जुन रूपमा धान जम्मा हुने गर्दथ्यो । अहिले जम्मा हुँदैन’ –देवगण महर्जनले भन्नुभयो ।

नाच सञ्चालनको आयस्ताको रुपमा रहेको जग्गा मासिँदै गएपछि प्रत्येक वर्ष हुने र १२ वर्षमा एकचोटी हुने हरिसिद्धि नाच सञ्चालनमा क्रमशः कठिनाई उत्पन्न हुँदै गएका अर्का देवगण रामभूवन महर्जनले बताउनुभयो।

यसपटक १२ वर्षको नाच सञ्चालन भइरहेको छ । यसको समापन यही चैत्र १७ गते शनिबार हुने छ। हरेक वर्ष योमरी अर्थात् धान्य पूर्णिमा र फागु पूर्णिमाको दिन हरिसिद्धि भवानीको नाच देखाउँदै आए पनि १२ वर्षमा एकपटक हुने मेलामा फुल्चोकीमाईको दर्शन गर्ने परम्पराले अघिपछि भन्दा थप रौनकता थपिएको छ । धुलिखेल, पशुपति, दोलखा र पनौतीमा नाच देखाइसकेको छ।

१२ वर्षको नाच सञ्चालनका लागि आवश्यक २०७८ वैशाख २९ गतेदेखि शुरू भएको थियो । १० जना मुख्य देवगण (च्याभु पुजारी) लाई पूजा गरी, मृत्यु भएका देवगणको स्थान छोराहरू पुजारी वस्त्र धारण गराई यज्ञ, विशेष पूजाआजा र नाच प्रशिक्षण दिई १२ वर्ष नाचको लागि प्रक्रिया शुरू गरिएको थियो । त्यसबखत प्रत्येक घरका एक जना भोज (देय् भ्वय्) खुवाइएको थियो।

हरिसिद्धि भवानीको १२ वर्षको नाच स्थानीयको धार्मिक विश्वास, सांस्कृतिक र सामाजिक पक्षसँग अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै वडा नं २९ का वडाअध्यक्षसमेत रहेका समितिका संयोजक गणेश महर्जनले भन्नुभयो– ‘यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न दुईवटै वडा मिलेर लागिपरेका छौं।’

साविकको हरिसिद्धि गाविस स्थानीय तहको पुनःसंरचनापछि महानगरपालिकाको २८ र २९ वडामा विभाजन गरिएको थियो। गुठी जग्गाहरू संरक्षण नहुनु, नाच सञ्चालनका लागि स्थानीय तहमा भरपर्ने स्थिति बन्दै गएको पनि वडाअध्यक्ष महर्जनको भनाई रहेको छ।

यस मेलाका सञ्चालनका ललितपुर महानगरपालिका वडा नं २८ र २९ ले आवश्यक सहजीकरण गर्ने, स्रोत साधन जुटाईदिने, सम्बद्ध पक्षसँग मिलेर व्यवस्थापनको भूमिका सहयोग पुर्‍याएको समितिले जनाएको छ।

समितिका अनुसार १२ वर्ष नाच सञ्चालनका लागि आर्थिक वर्ष २०७८/०७९ मा ललितपुर महानगरपालिकाले ५० लाख रुपियाँ दिएको थियो। सो रुपियाँ हरिसिद्धि त्रिशक्ति भवानीको मर्मत सम्भार, रंगरोगनजस्ता कार्यमा खर्च भइसकेको छ । भने नाचको लागि रकम अपुग भएको पनि गुठीयारहरू बताउँछन् ।

१२ वर्ष नाच शनिबार समापन हुने

भोलि शनिबार सो नाच समापन गर्न लागिएको हो । फुल्चोकी माईको विशेष पूजाआजा गरी मेला समापनका गर्न लागिएको हो। त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको हरिसिद्धि भवानी १२ वर्ष फुल्चोकीमाई पर्व सञ्चालन समितिले जनाएको छ।

समितिका अनुसार हरिसिद्धि भवानीका २९ जना देवगण परम्परागत कां बाजा, धिमे बाजासाथ भक्तजनहरूको लावालस्कर फुल्चोकी माईको दर्शन र धार्मिक विधिपूर्वक पूजाआजा गर्न फुल्चोकी डाँडातर्फ जानेछ। त्यसका लागि शनिबार बिहान ४ बजेदेखि हरिसिद्धि भवानी मन्दिरको प्राङ्णमा भेला हुने क्रम शुरू हुनेछ। फुल्चोकीमाईको दर्शन र पूजाआजा गरी गोदावरीको हरिसिद्धि चौरमा हरिसिद्धि भवानीको प्रतीकस्वरूप कलश विराजमान गराई देवगणहरूलाई प्रसाद ग्रहण गराउने परम्परा रहेको छ ।

सो परम्पराले हरिसिद्धि भवानी र फुल्चोकीको जंगलसँगको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई उजागर गर्दै आएको यसका संलग्न गुठीयारहरू बताउँछन्। प्रत्येक १२ वर्षमा हुने गोदावरीको प्रसिद्ध सिंह अस्ट मेलाको शुभारम्भ पनि भवानीका देवगणबाटै हुने परम्परा रहेको छ।

देवगणहरूले गोदावरी कुण्डको ढोका खोलेर नुहाएपछि मात्र मेलाको शुरू हुने गर्दछ । देवगणहरूले ढोका बन्द गरेपछि मेला समापन हुने गर्दछ ।

हरिसिद्धका स्थानीयको मृत्यू हुँदा दाहसंस्कारको लागि आवश्यक काठ फुल्चोकी डाँडाबाटै ल्याउने परम्परा रहेको छ । हरेक वर्ष असार १५ गतेसम्ममा वर्षा नभई रोपाईं गर्न सकिएन भने फुल्चोकी माई (गुराहिटीमा)लाई पूजाआजा गरे पानी पर्ने जनविश्वास रहेको छ।

त्यहाँको धार्मिक र सांस्कृतिक जीवनमा मुख्य भूमिका रहेका १० मुख्य देवगण (च्याभु पुजारी) र १९ सहायक देवगण(गण पुजारी) को नाच, नित्यपूजा, हरिसिद्धि भवानीसँग जोडिएको गुठीलाई स्थानीयले निकै महत्वका साथ लिएर सक्रिय सहभागिता जनाउँदै आएको समितिका संयोजक एवं वडा नं २८ का वडाअध्यक्ष वीरेन्द्र महर्जनले बताउनुभयो ।

सो कार्यपछि सरकारी पूजा, श्रद्धालु भक्तजनहरूबाट पूजा गर्ने गरिन्छ। त्यसपछि भक्तजनको लावालस्करसहित देवगण बाँडेगाउँको जलःगाबाट ठैबको जलःचपाको बाटो हुँदै हरिसिद्धि भवानीको मन्दिर परिसरमा पुगेपछि मेला औपचारिक रूपमा समापन हुने ललितपुर महानगरपालिका वडा नं २८ का वडाअध्यक्षसमेत रहेका समितिका संयोजक महर्जनले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्