तिनदिने नरसिंह पुराण र एक लाख होम गरेर अग्नि चोकमा होलिका दहन



धादिङ ।

हिन्दु धर्मका राक्षस हिरण्यकश्यपुकी बहिनी होलिकालाई जलाएर आइतबार तिनदिने नरसिंह पुराण समेत वाचन गरिएको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ आगिनचोकमा रहेको फटिकको खम्बा क्षेत्रमा रहेको अग्निचोकका असत्यको अन्त्य र सत्यको जित भन्दै पौराणिक  मान्यता अनुसार भक्तप्रल्हाद जलाउन खोज्दा आफैँ जलेकी होलिकाको सम्झना गर्दै पुराण अनुसार होलिका जलेकै स्थानमा यज्ञ गरेर होलिकाको दहन गरिएको हो ।

होलिका आगोमा जलेर नष्ट भएको र सोही जलेको खरानी लगाएर रमाइलो गरेको उपलक्षमा होली खेलिने भएकोले हालको आगिनचोमा रहेको अग्नि चोकमा स्थानीयबासीले तिन दिनसम्म नरसिंह पुराण वाचन गरिएको छ भने लाखबत्ती बालिएको छ । आइतबार  १ लाख होम गरेर भक्तप्रल्हादका फुपू होलिकाको प्रतिमा बनाइ जलाइएको स्फटिक खम्बा संरक्षण समितिका सचिव टोपप्रसाद बुर्लाकोटीले बताए ।

तिनदिने होम, लाखबत्ती तथा पुराण कार्यक्रमको उद्घाटन संविधानसभा सदस्य पुष्पविक्रम मल्ले गरेका थिए भने समापन प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारीले गरेका थिए ।

पुर्खाहरुले सो स्थानमा वर्षौँदेखि होम गर्दै होलिका दहन दिवस समेत बनाउने गरेको पाइन्छ। तर, स्थानीय सरकार आएपछि सो क्षेत्रको संरक्षणमा चासो नदिँदा होलिका दहन थान मासिन लागेको छ ।

पुरानो अवस्थामा राख्नु पर्नेमा स्थानीय सरकारले स्फटिक खम्बा क्षेत्रमा डोजर लगाएर तहसनहस पार्न लागेपछि स्थानीयबासीले संरक्षणको माग गर्दै रोकेका थिए।

होलिका जलेको र रामभक्त भक्तप्रल्हादलाई केही नभएको हिन्दु कथा अनुसार सँधैझै आइतबार होली मनाइएको छ ।

ऐतिहासिक र धार्मिक रुपले अति महत्वराख्ने स्फटिक खम्बा क्षेत्रको धार्मिक रुपले धेरै महत्त्व भएको संरक्षण अभियानमा लाग्नु भएका पूर्व जनप्रतिनिधिसमेत रहेका  फणीकान्त छत्कुलीले जानकारी दिए ।

धादिङबेसीबाट ३० किलोमिटर उत्तरतर्फ पर्ने स्फटिक खम्बा क्षेत्रमा त्रेता युगमा राक्षस हिरण्यकस्यपुलाई नरसिंह अवतार प्रकट भई मारेको स्थान रहेको छ ।

यही  स्थानमा राक्षसका छोरा भक्तप्रल्हादले तपस्या गरेको गुफा समेत रहेको पाइन्छ । ठूलो सुरुङ क्षेत्रमा तपस्या गरेर भगवान भक्त भएपछि राक्षसहरुले भक्तप्रल्हादलाई पटक पटक मार्न खोजेको र मार्न नसकेको पौराणिक कथामा पाइन्छ ।

यहाँ हिरण्यकस्यपुको दरबार रहेको र सो नजिक नै अग्निचोक रहेको छ । पछि सोही स्थानमा घले राजाहरुले राज्य संचालन गरेको भग्नावशेष अझैसम्म भेट्न पाइन्छ भने त्यसपछि पृथ्वीनारायण शाहले नेपाल एकीकरणको समयमा  घलेराजाहरुलाई लखेटेपछि दरबार भग्नावशेसमा परिणत भएको तथ्य रहेकोले वडाले पालिकासँग सहकार्य गरेर संरक्षणमा लागेको वडा अध्यक्ष हरि विश्वकर्माले बताएका छन् ।

यसैलाई आधार मानेर नृसिंह अवतार मानिएको नृसिंहको विशाल मूर्ति सहितको धाम त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारको बुढी गण्डकी र नेत्रावती नदी संगम स्थलमा बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्