प्रहरी कल्याण कोषको सुविधाबाट २२ हजार भन्दा बढी लाभान्वित



काठमाडौं ।

नेपाल प्रहरीले प्रहरी कल्याण कोषको सेवा र सुविधालाई पारदर्शी तुल्याउँदै व्यापक विकास र विस्तार गर्ने नीति अघि सारेको छ । नेपाल प्रहरीका बहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमररसहिद प्रहरी परिवारका सदस्यहरूको लागि विभिन्न योजना तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ । यसले प्रहरी सेवाप्रति आकर्षण र आस्था अभिवृद्धि गर्नुका साथै समग्र प्रहरी जनशक्तिको मनोबल बढ्ने अपेक्षा कोषको रहेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको अवधिमा प्रहरी कल्याण कोषबाट उपलब्ध हुने सेवा सुविधाबाट बहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमररसहिद प्रहरी परिवारका सदस्यहरू गरी जम्मा २२ हजार ८३३ जना लाभान्वित भएका छन् । तीमध्ये शिक्षातर्फ जेहेन्दार छात्रवृत्ति ३० जना, उच्च छात्रवृत्ति १ सय २२ जना, उच्च प्रोत्साहन छात्रवृत्ति २ जना र शौक्षिक कर्जा ६ जना छन् । सामाजिक सुरक्षातर्फ जेष्ठ निवृत्तिभरण २ सय ४० जना, किरिया कर्म खर्च २ सय १३ जना, मृत्यु राहत अनुदान ५० जना र विवाह अनुदान ३ जना छन् । स्वास्थ्यतर्फ औषधि उपचार अनुदान ५८ जना, निर्ब्याजी उपचार सापटी ४ जना र औषधोपचार कर्जाबाट १ जना लाभान्वित भएका छन् ।

यसैगरी सहुलियत ऋणतर्फ सहुलियत नगद ऋण रकम ३ हजार ६ सय ४७ जना र घर निर्माण तथा मर्मत सम्भार कर्जा ५३ जनालाई उपलब्ध गराइएको छ । किस्ताबन्दी सहुलियत ऋणतर्फ नयाँरपुरानो चारपाङग्रे काररजिप १५ जना, मोटरसाइकलरस्कुटर ५ सय ८९ जना र घरायसी सामान ८६ जनाले सुविधा लिएका छन् । तालिम तथा वृत्ति विकास प्रदेश स्तरीय कल्याण कोषबाट संचालितमा सिपमूलक तालिम ६७ जनाले हासिल गरेका छन् ।

अन्य सेवा सुविधातर्फ प्रहरी आवास सुविधा ३६ जना, प्रहरी अतिथि गृह १ हजार १०१ जना, नेपाल पुलिस हेल्थ क्लब ७ हजार ८० जना, ज्येष्ठ प्रहरी अतिथि गृह २ सय ६० जना र नेपाल पुलिस स्कुल ९ हजार १४७ जनाले प्राप्त गरेका छन् । यस्तै प्रहरी कर्मचारी युएन मिसन जाँदा उपलब्ध हुने सुविधा २३ जनाले प्राप्त गरेका छन् ।

कल्याण कोषबाट उपलब्ध हुने सुविधा बढाउन नेपाल प्रहरी प्रयासरत छ । कल्याण कोष सम्बन्धी सम्पूर्ण व्यवस्थापन नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी कल्याण महाशाखाबाट हुने गर्छ । व्यवस्थापनलाई चुस्त राख्न महाशाखा अन्तर्गत विभिन्न शाखाहरू तथा नेपाल पुलिस क्ल्ब, नेपाल पुलिस हेल्थ क्लब, प्रहरी कल्याण कोष पेट्रोल पम्प, नेपाल प्रहरी स्कुल लगायतका निकाय क्रियाशील छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “नागरिक सेवामा व्यस्त हुनु पर्ने र अधिकांश समय घर परिवारदेखि टाढा खटिनुपर्ने भएकोले प्रहरी कर्मचारीहरू घर परिवारलाई समय दिन पाउँदैनन् ।

उनीहरू र आश्रित परिवारलाई आर्थिक अभाव नहोस् र मनोबल उच्च होस् भन्ने उद्देश्यले प्रहरीले कल्याणकारी कार्यक्रम संचालन गरिएको हो । साथै सेवा निवृत्त प्रहरी कर्मचारी तथा तिनका आश्रित परिवार र अशक्त तथा अमर प्रहरी परिवारका सदस्यहरूको स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्रमा आर्थिक सहयोग प्रदान गर्न कोषले मदत पुर्याकएको छ ।

खेलकुदको विकास लगायत विविध कल्याणकारी क्षेत्रहरूमा लगानी गर्ने, आयमूलक तथा सेवामूलक कल्याणकारी कार्यक्रमहरूको विस्तार गर्ने लक्ष्य रहेको छ ।” कल्याण कोषबाट प्रहरीले सञ्चालनमा ल्याएको पेट्रोल पम्प, हेल्थ क्लब, व्यापारिक भवन, नेपाल पुलिस स्कुलबाट समेत योगदान हुँदै आएको छ । यी सेवाबाट सर्वसाधरण समेत लाभान्वित हुँदै आएका छन् ।

संयुक्त राष्ट्र संघीय मिसनमा सहभागी प्रहरी कर्मचारीबाट हुने योगदान रकम, बैंकमा मुद्धती निक्षेपमा रहेको कोषको मौज्दात रकमबाट आर्जन हुने व्याज, पेट्रोल पम्पहरूबाट हुने आम्दानी, सपिङ कम्प्लेक्स तथा आवास र अतिथि गृह भाडा वापतको आम्दानी, नेपाल पुलिस हेल्थ क्लवबाट हुने आम्दानी, विभिन्न सहुलियत ऋण तथा घर कर्जा लगानीबाट प्राप्त हुने व्याज र अन्य आम्दानी प्रहरी कल्याण कोषको आम्दानीका श्रोत हुन् ।

प्रहरी कल्याण कोष संचालक समितिमा प्रहरी महानिरीक्षक संरक्षक रहने प्रावधान छ । प्रहरी नियमावली, २०७१ को नियम १९४ अन्तर्गत प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि, २०८० बमोजिम कोष सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्