वाम एकताको बहस ब्युँझँदै सेलाउँदै

फराकिलो कम्युनिस्ट पार्टी निर्माणका लागि प्रचण्डलाई प्रधानमन्त्री त्याग्न विधान महाधिवेशनमा सुझाव



काठमाडौं ।

सत्ताको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र) को विधान महाधिवेशनमा फराकिलो कम्युनिस्ट पार्टी निर्माणका लागि प्रचण्डले प्रधानमन्त्री त्याग्नुपर्ने सुझावसहितको बहस शुरू भएको छ।

राजधानीमा जारी विधान महाधिवेशनमा २० वटा टोली बनाएर छलफल चलाएको माओवादीले बृहत् कम्युनिस्ट शक्ति निर्माणका लागि प्रधानमन्त्रीले पद त्याग गर्नुपर्नेसम्मका प्रस्ताव बहसमा आएका हुन्।

२०७४ को आम निर्वाचमै नेपाल कम्युनिस्ट (एमाले) सँग चुनावी एकता गरेर अघि बढेको कम्युनिस्ट शक्ति करिब एक वर्षमा पार्टी एकता र त्यसको एक वर्षमा विभाजनको अवस्थामा पुगेको थियो।

गत वर्ष शुरू भएको एमाले–माकेबीचको सत्ता गठबन्धन दुई महिनामै पुनः विभाजन भएपछि तत्काल एकताको सम्भव नदेखेको कतिपय कम्युनिस्ट नेताहरूले बताउँदै आएका छन्।

तथापि, पहिले भएका कमीकमजोरीबाट सिकेर नयाँ शिराबाट एकताको दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको माओवादी र एमालेका कतिपय नेताले जोड दिँदै आएका छन् ।

वाम एकताका पक्षधरहरूले माओवादी विधान महाधिवेशनमा कम्युनिस्ट एकताको कुरा जोडतोडका साथ उठाएका हुन्। विभिन्न समूहका टोली नेताहरूले पार्टीको नाम र चुनाव चिह्नसमेत फेर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

पोलिटब्युरो सदस्य महेश्वर दाहालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री त्यागेर अरू नेतालाई अगाडि बढाउन सुझाव दिनुभयो।

उहाँले कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएकाले अध्यक्ष प्रचण्डले नयाँ पहलकदमी लिनुपर्ने सुझाव पेस गरेक बताउनुभयो।

‘अध्यक्ष प्रचण्डले सबैभन्दा बढी मिहिनेत गर्नुपर्ने बेला छ, यति बेला। फराकिलो कम्युनिस्ट अन्तर्राष्ट्रिय बनाउनुपर्छ । यसका लागि अध्यक्षले तत्काल प्रधानमन्त्री त्यागेर अरू कमरेडलाई अगाडि सारेर एक्काइसौं शताब्दीको समाजवादी कार्यदिशा निर्माण गर्न पहल बढाउनुपर्छ’ –उहाँले भन्नुभयो ।

तत्काल समाजवादमा जाने सर्तसहित सबै कम्युनिस्ट शक्ति मिल्नुपर्ने भन्दै दाहालले नेकपा एमालेसहितका सबै वामशक्ति र व्यक्तिहरूसँग एकताको पहल बढाउनुपर्नेमा जोड दिनुभएको छ।

‘विगतमा हामीले प्रधानमन्त्रीको आलोपालो गर्ने गरी एकता गर्‍यौं’, उहाँले भन्नुभयो– ‘त्यसरी हुने रहेनछ, समाजवादी कार्यदिशा सफल बनाउने कार्यक्रमसहित अगाडि बढ्नुपर्छ। त्यसको पहलकदमी माओवादीले लिनुपर्छ।’

पार्टीको एउटा हिस्सा जनकार्यमा र अर्को हिस्सा सत्ता सञ्चालनमा लाग्ने र निश्चित अवधिको अन्तरमा कार्यविभाजनमा हेरफेर गरी सिंगो पार्टीको जनसमुदायसँगको सम्बन्धलाई सजीव राख्न विशेष आवश्यकता रहेको उहाँले पेस गरेको प्रस्तावमा उल्लेख छ।

जारी विधान अधिवेशनमा प्रस्तावित विधान मस्यौदामाथि छलफल भइरहेको नेताहरूले बताएका छन्। छलफलमा पोलिटब्युरो सदस्य हिमाल शर्माले पेस गरेको निर्वाचनबाट नेतृत्व चयन गर्ने, पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्ने प्रस्तावमा अध्यक्ष पुष्पकमल दाहालसमेत सकारात्मक रहेको एक नेताले दाबी गरे।

उनले नेपाल समाचारपत्रसँग भने– ‘पार्टीलाई संघीयताको मर्मअनुसार सञ्चालन गर्दै छरितो र क्रियाशील बनाउनुपर्ने सुझाव अधिकांश समूहले दिएका छन् । ती सुझावमा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड पनि सकारात्मक हुनुहुन्छ । अहिले नै सरकार छाड्ने भन्ने त हुँदैन तर, पार्टीको नाम र चुनाव चिह्न फेर्ने विषयमा अध्यक्ष पनि सकारात्मक हुनुहुन्छ ।’

नेता हिमाल शर्माले पदाधिकारीसहित प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने व्यवस्था गर्नुपर्ने, पार्टी र राजकीय नियुक्तिमा आलोपालोको व्यवस्था गर्नुपर्ने, प्रदेशलाई थप अधिकार दिनुपर्ने र पार्टीको चुनाव चिह्न फेर्नुपर्ने सुझाव पेस गरेको बताउनुभयो।

बृहत् कम्युनिस्ट एकताको विषयमा प्रधानमन्त्री प्रचण्ड पहिलादेखि नै लागिरहेका भन्दै नेता शर्माले भन्नुभयो – ‘अबको यात्रा बृहत् कम्युनिस्ट निर्माणमै हो । त्यसका लागि पार्टीको नाम र चुनाव चिह्नसमेत फेरेर सबैलाई मान्य हुने साझा धारणा बनाएर जानुपर्छ भन्ने हामीले सुझाव दिएका हौं । सायद नेतृत्वले यसलाई सकारात्मक रूपमा लिएको छ।’

विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचनको विषय उठिरहेका बेला अध्यक्ष प्रचण्डले जनयुद्धका सारथि तथ्यसहित आए आफू नेतृत्व छाड्न तयार रहेकोसमेत बताउनुभएको थियो। उहाँले माओवादी मोर्चाका सबै समूहलाई एउटै केन्द्र र मोर्चामा एकताबद्ध हुन अपिलसमेत गर्नुभएको छ।

‘आउनुस् बसौं, समीक्षा गरौं, खुला कम्युनिस्ट मनले आत्मालोचना र आलोचना गरौं। हिजो माओवादी युद्धका सहयात्री बन्नुभएका तपाईंहरूले मलाई स्थापित गर्न सहयोग गर्नुभएको थियो। कोही कमरेड तर्क र तथ्यसहित आउनुहुन्छ भने मलाई नेतृत्वमा बसिराख्ने लोभ पनि छैन’ –दाहालले सम्बोधनका क्रममा भन्नुभएको थियो।

उहाँले कम्युनिस्ट एकताका लागि पटकपटक प्रयास गरेको समेत स्मरण गराउनुभयो।

अध्यक्ष दाहालले यसअघि समाजवादको नयाँ यात्रा तय गर्न कम्युनिस्ट पार्टीहरूको एकता आवश्यक भएको भन्दै त्यसका लागि आफू नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, विप्लव र उपेन्द्र यादव नेतृत्वको कम्युनिस्ट पार्टीहरूबीच मोर्चा बनाएरै अघि बढ्नुभएको थियो।

यद्यपि, उक्त मोर्चाले अहिले निस्क्रिय अवस्थामा छ।

प्रतिक्रिया दिनुहोस्