अहिलेकाे सबै दल एकै हुन् : शंकर पोखरेल



काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले सबै दल एकै हुन्, सबै नेता उस्तै हुन् भन्ने भाष्य खडा गरिएको बताउनुभएको छ ।

मानव अधिकार एलाइन्सको दशौँ राष्ट्रिय परिषद् बैठकलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले नेपाली समाजमा अहिले निराशाको खेती भइरहेको बताउनुभयो । ‘जो सबैभन्दा अराजक छ, त्यही विकल्प हो भन्ने मनोविज्ञान खडा गर्ने काम नेपाली समाजमा भइरहेको छ’, उहाँले भन्नुभयो ।

समाजमा सामाजिक अराजकता फैल्याई र निराशाको खेती गरेर मानव अधिकार र लोकतन्त्र संस्थागत हुन नसक्ने उहाँले प्रष्ट पार्नुभयो । सामाजिक अराजकता र निराशाको खेती लोकतन्त्र र मानव अधिकार माथिको हमला भएको उहाँले बताउनुभयो ।
जनतामा रहेको विद्रोही मानसिकतालाई अब राज्यका पक्षमा परिणत गर्नुपर्नेमा पोखरेलले जोड दिनुभयो । राज्य र नागरिकलाई जोडेर अघि बढ्नु पर्ने उहाँको धारणा छ ।

पोखरेलले जस्तोसुकै कठिन बेलामा पनि समाजमा आशाको दियो बाल्नु पर्ने बताउनुभयो । पोखरेलले त्यसो गर्न सकियो भने मात्र समाज प्रतिकूलताबाट बाहिर निस्कने बताउनुभयो । ‘आशाको दियो नबाल्ने हो भने त्यो समाजको पतन अनिवार्य छ, जस्तोसुकै कठिन बेला पनि समाजमा आशाको दियो बाल्नै पर्दछ’, पोखरेलले भन्नुभयो ।

नेपाली समाजमा विचारको खेती गर्नेहरूले पनि गहिराइमा जाने भन्दा पनि सतही कुरा गरेर समाजमा निराशा मात्र बाँड्ने काम गरेका पोखरेलले बताउनुभयो । आफूलाई बुद्धिजीवी भन्नेहरूले समेत बलिरहेको आशाको दियो निभाउने काम गरेका भन्दै पोखरेलले आलोचना गर्नुभयो ।

विश्वका सबै समाज प्रतिकूल अवस्थाबाट नै विकास भएर आएका पोखरेलले बताउनुभयो । कुनै पनि समाज सधैँ भरी राम्रै राम्रो भएर अघि नबढेका उहाँले प्रष्ट पार्नुभयो । जतिसुकै चुनौती भए पनि, संकट भए पनि समाज र भविष्यका लागि जसले बुझेको छ त्यसले आशाको दियो बाल्नु पर्ने पोखरेलले बताउनुभयो । ‘निराशाको खेती होइन, आशाको दियो बाल्ने मानव अधिकारकर्मीको बन्नु पर्दछ, किन भने मानव अधिकारकर्मी निराशाको खेती गर्ने होइन, आशा जगाउने अभियन्ता हो’, उहाँले भन्नुभयो ।

देशका सामु धेरै समस्या भए पनि ती समस्या समाधान गरेर अघि बढ्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । समस्याको समाधान आशाको दियो बालेर नै गर्न सकिने पोखरेलको धारणा छ । राजनीतिक परिवर्तनलाई सर्वोपरि ठान्ने सोचले देशको आर्थिक, सामाजिक परिवर्तनले गति लिन नसकेको पोखरेलको धारणा छ । राजनीतिक परिवर्तन देश र समाज परिवर्तनको आधार मात्र भएको उहाँले प्रष्ट पार्नुभयो ।

नेपालमा आजको राजनीतिक अस्थिरताको बिउ शान्ति सम्झौताको बेला नेपाली कांग्रेसका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले रोपिदिएको पोखरेलले बताउनुभयो । कोइरालाले चुनाव नै नलडेको माओवादीलाई संसद्मा एमाले सरह भाग दिएर अस्थिरताको बिउ रोप्ने काम गरेको उहाँको भनाइ छ । कम्युनिष्टलाई लडाएर मात्रै कांग्रेसको भविष्य सुनिश्चित हुनसक्छ भन्ने योजनाका साथ कोइरालाले सो काम गरेको उहाँले बताउनुभयो ।

गठबन्धन संस्कृतिबाट पनि देश विकास सम्भव नरहेको उहाँले बताउनुभयो । दलहरूको गठबन्धन नै सोभ्रेन्टि हो भन्ने मानसिकताले लोकतन्त्रलाई सही बाटोमा अघि बढाउन नसकिने पोखरेलको धारणा छ । नेपालको लोकतन्त्रलाई बलियो बनाउन बलियो राजनीतिक शक्ति आवश्यक रहेको उहाँको भनाइ छ । लामो समय देशेको नेतृत्व गर्न सक्ने राजनीतिक शक्ति देशलाई आवश्यक रहेको पोखरेलले बताउनुभयो ।

लोकतन्त्र भनेको जनताले रुचाएको शक्तिले शासन गर्ने प्रणाली रहेको भए पनि नेपालमा जनताला रुचाएको शक्ति सत्ता बाहिर र जनताले नरुचाएको शक्ति सत्तामा रहेको पोखरेलले टिप्पणी गर्नुभयो । जसले गर्दा नागरिकमा निराशा बढेको उहाँको धारणा छ ।

नेपालमा राजनीतिक स्थायित्वको आधार बन्नै नसकेको उहाँले बताउनुभयो । सो आधार नबनेसम्म राजनीतिक स्थायित्व नहुने र राजनीतिक स्थायित्व नभएसम्म देश विकास नहुने उहाँले प्रष्ट पार्नुभयो । नेपालको धर्म, संस्कार र संस्कृति माथि प्रहार भइरहेको प्रति उहाँले सचेत गराउनुभयो । धर्म, संस्कार र संस्कृति माथि प्रहार हुँदा देश कमजोर बन्ने उहाँले बताउनुभयो ।
सरकारले तस्करलाई संरक्षण गर्दा देशमा आर्थिक संकट भएको उहाँको भनाइ छ ।

सरकार योजनाबद्ध रूपले अघि नबढेको कारण आर्थिक संकटको समाधान राज्यले गर्न नसकेको पोखरेलले टिप्पणी गर्नुभयो । हिजो सुन तस्करी हुँदा देशमा पैसाको अभाव भएको र त्यो रोकिँदा आज बैँकमा जम्मा भएको पैसा लगानी हुन नसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्