अवरोधका कारण अग्र अनुहार लोकार्पण भएनन्



काठमाडौँ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंंघ (फोनिज) र नेवाः पत्रकार राष्ट्रिय दबूको अवरोधका कारण नेपाल पत्रकार महासंघ प्रदेश प्रतिष्ठान काठमाडौंले आईतबार अग्र अनुहार पुस्तक लोकार्पण गर्न सकेन।

नेपाल पत्रकार महासंघका हालसम्मका अध्यक्षहरुको भूमिका र जीवनी समेटिएको सो पुस्तकमा वि सं २००८ सालमा जेठ महिनामा नेपाल पत्रकार संघ स्थापना गरी नेपाली पत्रकारहरुलाई पहिलो पटक संगठित गरी त्यसको नेतृत्व गर्ने  स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठको जीवनी र भूमिकालाई नसमेटिएर इतिहासलाई नामेट पार्न खोजेको भन्दै पुस्तक लोकार्पण गर्नै लाग्दा फोनिज र पत्रकार राष्ट्रिय दबूका पदाधिकारी तथा सदस्यहरु दर्शक दीर्घाबाट नाराबाजी गर्दै ‘लोकार्पण गर्न दिन्नौैै ’ भन्दै मञ्चमा गएर पुस्तक थुतेर लिएका थिए।

त्यसपछि फोनिजका महासचिव मिलन लिम्बुले पुस्तकले नेपालका पत्रकारहरुलाई पहिलो पटक संगठित गर्ने स्वर्गीय श्रेष्ठको इतिहास र भूमिकालाई नामेट पार्न खोजेको भन्दै विरोध गरेको बताए। उनले सो पुस्तक प्रकाशन हुँदा पत्रकार महासंघको इतिहास र गरिमामा गम्भीर प्रश्न उठ्ने पनि बताए।

महासंघको सबै संरचनाहरुमार्फत इतिहास सच्याउन र आगामी दिनमा संस्थापकको विषय  टुंगो नलागेसम्म यस सम्बन्धि कुनै पनि गतिविधि नगर्न आग्रह गर्दै आएको तर, सोही गलत तथ्यलाई नै स्थापित गर्ने गलत मनसायका साथ पुस्तक प्रकाशन गर्ने लगायतका गतिविधि अगाडि बढाएकोमा फोनिजको गम्भीर ध्यानाकर्षण भएको महासचिव लिम्बुले बताए।

शनिबार दुवै संस्था विज्ञप्ती प्रकाशित गरी पुस्तक तत्काल लोकार्पण नगर्न माग गरेका थिए।

सभाहलमा फोनिज नेतृत्वका पत्रकारको टोलीले सत्यनारयणबहादुर श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्, हाम्रो आन्दोलन जारी छ र पत्रकार महासंघको इतिहास सच्याउनै पर्छ जस्ता नारा लगाएका थिए। लिम्बुले महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेकोमा कृष्णप्रसाद भट्टराईलाई बनाइएको भन्दै त्यसलाई नसच्याए कडा प्रतिरोध गरिने पनि बताए।

उक्त पुस्तकलाई लिएर फोनिजसहित अन्य पत्रकारहरू पनि आन्दोलित हुने खबर पाएपछि प्रमुख अतिथिका रुपमा बोलाइएका सभामुख देवराज घिमिरे र सञ्चारमन्त्री रेर्खा शर्मा विमोचनका कार्यक्रममै गएनन्। उक्त पुस्तकको विरोध भएपछि सचिवालयले सभामुख घिमिरेलाई कार्यक्रममा जानबाट रोकेको हो।

नाराबाजी र अवरोधले गर्दा पुस्तक लोकार्पण हुन पाएनन्।त्यसपछि दर्शक दिर्घा र मञ्चमा रहेका अतिथिहरु सभाहलबाट बाहिरिएका थिए। पुस्तकमा महिलालाई स्थान नदिएको भन्दै आलोचना भएपछि आयोजकले पत्रकार महासंघका अध्यक्ष र सभापतिहरूबारे लेखिएको र हालसम्म कुनै महिला पत्रकार अध्यक्ष नभएकाले समेट्न नसकिएको धारणा राखेको थियो। कार्यक्रममा किशोर नेपाल, हरिहर विरही, प्राध्यापक रामकृष्ण रेग्मी अनि महासंघका अध्यक्ष विपुल पोखरेलले इतिहास अध्ययन र अनुसन्धानबाट थप प्रमाण फेला परेमा संशोधन हुँदै जाने धारणा राखे ।

पत्रकार नेपालले पत्रकार महासंघको नेतृत्वबारे लेखिएको पुस्तकबारे नानाथरी टिप्पणी भएकोमा आफूलाई दिक्क लागेको उल्लेख गर्दै वरिष्ठ पत्रकार समेत रहेका नेपालले भने ‘यो राम्रो काम हो। तर विवाद निकाल्ने हाम्रो बानी भइसक्यो।’

हरिहर विरहीले वाक तथा प्रेस स्वतन्त्रको पक्षमा संघ हुँदै पत्रकार महासंघसम्मको नेतृत्व गरेका अग्रजहरूबारे पुस्तक लेखिएकोमा खुसी लागेको भन्दै संस्थापक अध्यक्ष को हो लगायतका विषयमा अन्योल हो भने अध्ययन र प्रमाणको आधारमा संशोधन गर्न सकिने र संशोधन गर्नुपर्ने धारणा राखेका थिए। पत्रकारिताका प्राध्यापक रेग्मीले प्रेस तथा वाक स्वतन्त्रताबारे केही लेख्ने प्रयास गर्दा नेपाली सामग्री नै फेला नपर्ने अवस्थामा महासंघको प्रतिष्ठान प्रदेशले महासंघको नेतृत्व गरेका २३ जनाबारे प्राप्त दस्ताबेज र कुराकानीको आधारमा लेखिएको पुस्तक उपयोगी भएको बताए।

पुस्तकमा समेटिएका महासंघका नेतृत्वकर्ताहरूका आधारमा पञ्चायतकाल, प्रजातन्त्र हुँदै लोकतन्त्रसम्मको अवस्थाबारे जानकारी पाउन सकिने गहकिलो काम भएको भन्दै उनले पुस्तकमा कुनै कमजोरी भए प्रमाणका आधारमा संशोधन गर्न सकिने बताए। महासंघका अध्यक्ष पोखरेलले संस्थापक अध्यक्ष को हो भन्ने विषयमा देखिएको विवाद तत्काल समाधान गर्न पहल गरिने बताए।

प्रतिक्रिया दिनुहोस्