राष्ट्रियसभा अध्यक्षमा आ-आफ्नो दाबी, पूर्वसहमति कार्यान्वयनमा संशय



काठमाडौं ।

राष्ट्रियसभाको अध्यक्षका लागि सत्ता गठबन्धनभित्र आ–आफ्नै दाबी शुरू भएसँगै शीर्ष तहमा भएको पूर्वसहमति कार्यान्वयनमा संशय देखिएको छ।

निर्वाचनअघि गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई अघि सार्ने मौखिक सहमति गरेका गठबन्धनका नेताको बोली फेरिएसँगै कार्यान्वयनमा किचलो बढ्ने संकेत देखिएको हो।

आगामी फागुन २९ गते अध्यक्षको निर्वाचन हुँदै छ। उक्त पद कांग्रेसलाई दिने गठबन्धनमा निर्वाचनपूर्व मौखिक सहमति भएको कांग्रेसका नेताहरूले दाबी गर्दै आएका छन्।

तर, पछिल्लो समय सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र सत्ताको अर्को सहयात्री दल नेकपा एकीकृत समाजवादीले समेत दाबी गरेको छ। संवैधानिक परिषद्को सदस्यसमेत रहेको अध्यक्ष पद आफ्नो दलले नछाड्ने माओवादी केन्द्रका सांसदहरूले बताएका छन्।

सोमबार र मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्नुपर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो।

संसदीय दलको बैठकमा सोमबार १६ जना र मंगलबार ८ जना सांसदले धारणा राखेका थिए । राष्ट्रियसभाको अध्यक्षमा पार्टीले उम्मेदवार खडा गर्नुपर्ने अधिकांश सांसदको मत रहेको उहाँको भनाइ छ।

‘बैठकमा बोल्ने अधिकांश सांसदले राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रको उम्मेदवार हुनुपर्ने तर्कहरूसहित प्रस्तुत भएका छन्’, उहाँले भन्नुभयो– ‘यो संवैधानिक परिषद्को सदस्य पनि भएको र राष्ट्रियसभामा माओवादी पहिलो दल भएकाले सांसदहरूले अध्यक्षको जिम्मेवारी अरू दललाई दिन नहुने विचार राख्नुभएको छ।’

माओवादीले राष्ट्रियसभाको अध्यक्षमा दाबी गर्ने निचोडमा पुगे पनि औपचारिक निर्णय भने लिएको छैन। यद्यपि, राष्ट्रियसभाको अध्यक्ष आफ्नो दलले पाउनेमा नेपाली कांग्रेस ढुक्क छ।

नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीले सत्ता गठबन्धनका नेताबीच निर्वाचन अघि भएको सहमति नतोडिने बताउनुभयो।

‘राष्ट्रियसभा अध्यक्षमा गठबन्धनका शीर्ष नेता कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच सहमति भइसकेको छ’, रायमाझीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘बाहिर जे हल्ला भए पनि गठबन्धनको सरकार शीर्ष नेताहरूकै सहमतिअनुसार चलेको छ । राष्ट्रियसभा अध्यक्षको विषयमा भएको पछिल्लो सहमति पनि कार्यान्वयन हुन्छ। यदि, उहाँहरूले राष्ट्रियसभा अध्यक्ष खोज्नुभएको हो भने कांग्रेसले प्रधानमन्त्री पाउनुपर्छ।’

कांग्रेसबाट कृष्ण सिटौला नै राष्ट्रिय सभाको अध्यक्ष हुनेसमेत उहाँले दाबी गर्नुभयो। यता, सत्ता सहयात्री दल नेकपा (एकीकृत समाजवादी) पार्टीले समेत राष्ट्रियसभा अध्यक्षको दाबी गर्ने बताएको छ।

उक्त पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रियसभा अध्यक्षमा आफ्नो दलको स्वाभाविक दाबी रहेको बताउनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अध्यक्षमा हाम्रो दाबी रहन्छ। सत्ता गठबन्धमा भएको पूर्वसहमतिको विषयमा पार्टीभित्र कुनै छलफल र जानकारीसमेत छैन ।’ पार्टीबाट कसलाई पठाउने भन्ने विषय निर्णय गर्न बाँकी रहेको उहाँको भनाइ छ ।
गत माघ ११ मा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता सहयात्री कांग्रेस, माओवादी, नेकपा एस र जसपाबीच सिट बाँडफाँट गरेर चुनावमा गएका थिए।

१९ सिटका लागि भएको उक्त भागबण्डामा कांग्रेस १०, माओवादी ६, नेकपा एस २ र जसपाले १ सिट पाएका थिए। तर, कोशी प्रदेशमा गठबन्धनभित्र गडबड हुँदा नेकपा माओवादीका उम्मेदवार चम्पा कार्की पराजित भएर एमालेकी रुक्मिणी कोइरालाले जितेपछि कांग्रेस माओवादीको तल्लो तहमा असन्तुष्टि बढेको छ।

तर, उक्त विषयलाई लिएर प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ‘प्रचण्ड’ र कांग्रेस सभापति देउवाबीच सहमतिमा कुनै तलमाथि नभएको नेताहरूले दाबी गरेका छन् ।

नेताको दाबीलाई सत्य मान्ने हो भने राष्ट्रिय सभाको आगामी अध्यक्ष कांग्रेस नेता कृष्ण सिटौला नै हुने करिब पक्का छ। आगामी फागुन २० बाट राष्ट्रिय सभामा १७ सिटसहित सबैभन्दा ठूलो दल माओवादी केन्द्र बन्नेछ।

कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्ने छ भने एमाले १० सिटसहित तेस्रो दल हुनेछ। त्यस्तै, एकीकृत समाजवादीका ८ सहित अन्य दलको समेत प्रतिनिधित्व हुनेछ।

प्रतिक्रिया दिनुहोस्